विराटनगर / गर्भावस्थामा हुने प्रमुख समस्यामध्ये उच्च रक्तचाप पनि एक हो ।
२० साता कटेपछि गर्भवती महिलालाई गर्भावस्थाको रक्तचाप (गेस्टाटिनल हाइपरटेन्सन) देखापर्न सक्छ । वा गर्भावस्थाभन्दा अगाडिदेखि नै महिलामा उच्च रक्तचापको समस्या भएको हुनसक्छ । गर्भावस्थाको समयमा उच्च रक्तचापले प्लेसेन्टा (सालनाल)मा कम रक्त प्रवाह गर्न सक्छ जसले भ्रुणको ढिलो वृद्धि हुने, समयअगावै प्रसव पीडा हुने, समयअगावै बच्चा जन्मने र बच्चाको तौल कम हुने समस्या निम्त्याउँछ ।
मोटोपना, उच्च रक्तचापको पारिवारिक इतिहास भएमा, पहिलो गर्भ, ३५ वर्षपछि गर्भवती भएमा, मधुमेह भएकामा, आइभिएफबाट गर्भ राखेमा, शारीरिक गतिविधिको कमी भएमा, अन्य रोग भएमा, चुरोट तथा रक्सीको सेवन गरेमा गर्भावस्थामा उच्च रक्तचाप हुने जोखिम रहन सक्छ । गर्भावस्थामा उच्च रक्तचापको समस्या देखिएमा वाकवाकी वा बान्ता हुने, टाउको दुखाइ, थकान, एकै पटकमा तौल वृद्धि हुने, शरीर सुन्निने, माथिल्लो पेटमा दुखाइ, पिसाबको मात्रा कम हुने, पिसाबमा प्रोटिनको मात्रा उच्च हुने, सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखापर्न सक्छ ।
समयमा रक्तचाप नियन्त्रण नगरे आमा र बच्चामा समस्या हुनसक्छ । रक्तचापका कारण गर्भवती महिलामा प्रिइक्ल्याप्सियाको समस्या देखिन सक्छ । यसले मृगौला, कलेजो र दिमागजस्ता महत्वपूर्ण अङ्गमा क्षति पुर्याउँछ । यदि ध्यान दिएन भने यसले भविष्यमा समेत अन्य गम्भीर स्वास्थ्य जटिलता निम्त्याउन सक्छ ।
गर्भावस्थामा शारीरिक रुपमा सक्रिय रहने, व्यायाम गर्ने, सन्तुलित खानपानमा ध्यान दिने, चुरोट रक्सी र सुर्तीजन्य पदार्थको सेवन नगर्ने, तनाब नलिने वा तनाबलाई सही तरिकाले व्यवस्थापन गरेर समय–समयमा नियमति डाक्टरको जाँच गराएर रक्तचापलाई नियन्त्रण गर्नुको साथै आमा र बच्चामा हुनसक्ने अन्य गम्भीर स्वास्थ्य जटिलताबाट बच्न सकिन्छ ।