काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गरेका छन् ।
मङ्गलबार काठमाडौँमा आयोजित ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटनसम्बन्धी अदालतमा रहेको मुद्दाको सही फैसला हुने विश्वास व्यक्त गरेका हुन् ।
७० वर्षको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि अहिले विभिन्न ढङ्गले लडाइ चलिरहेको अवस्थामा अदालतले सही फैसला गर्छ भन्ने विश्वास गर्नुपर्ने बताए । उनले भने, ‘लडाइ विभिन्न ढङ्गले चलिराखेकै छ । यसो भन्नुको तात्पर्य के होइन भने हाम्रो अदालतप्रति विश्वास छैन भन्ने मैले खोजेकै छैन । मैले सबै सभामा भनेको छु, अदालतमा मुद्दा छ, अदालतले सही फैसला गर्छ भन्नेमा हामीलाई विश्वास छ ।’
संसद् विघटनलाई प्रतिगमनको संज्ञा दिँदै अध्यक्ष प्रचण्डले अहिले भएको आन्दोलनलाई शान्तिपूर्ण युद्ध मान्नुपर्ने बताए । उनले भने, ‘पुस ५ गतेदेखि आजसम्म हामी नयाँ युद्ध लडिराखेका छौं । देशव्यापी युद्ध चलिराखेको छ । तपाई हामी सबै युद्धमै छौं ।’
‘राज्यको शक्ति प्रयोग गरेर दबाउन बल गर्न खोजिँदैछ,’ उनले भने, ‘हामी रक्तपातहीन युद्ध, शान्तिपूर्ण युद्ध, नयाँ प्रकारको युद्धमा छौं ।’
धेरै दुःखले पार्टी एकताबद्ध गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले विभाजन गर्न ठूलो षडयन्त्र भइराखेको बताए । आफूहरु एकताबद्ध भएर देशमा नयाँ आयाम ल्याउन खोजेको भए पनि प्रधानमन्त्री ओलीले पार्टीलाई फुटाउने र व्यवस्थालाई विघटन गर्ने बाटो रोजेको बताए ।