कन्टिर–बाबू एकाबिहानै मधेसतिर प्रचलित एक लोकोक्ति सम्झिरहेका छन्– अँधेर नगरी चौपट राजा, टका सेर भाजी टका सेर खाजा !
विधि–विधानअनुसार नेतृत्व नचल्ने देशमा तरकारी र मिठाईको मूल्य र गुणमा कुनै अन्तर खोजिन्न । यस पृष्ठभूमिमा यस लोकोक्तिको अर्थका बारेमा थप अथ्र्याइरहनु पर्दैन भन्ने कन्टिर–बाबूलाई लाग्छ ।
अपराधीलाई माफी दिनेबारे ओल्बा सरकार र रापको पहिल्लो निर्णय सुनेदेखि नै कन्टिर–बाबू निकै परेशान छन् । उनको प्रश्न छ– यस्तो पनि हुन्छ दुनियाँमा कहीँ ? राजनीति होस् कि जे सुकै होस्, कुनै पनि नाममा अपराधीलाई जथाभावी माफी–मिनाहा दिन मिल्छ ? अधिकार र राज्य–शक्तिको यस्तो दुरुपयोग कहिलेसम्म चल्छ ?
प्रजातन्त्र दिवसका दिन रापबाट पछिल्लो पटक पाँच सय ८० जनाको बाँकी सजाय माफी–मिनाहा भएको छ । सामान्यतः चालचलनमा सुधार भएका र कम्तीमा आधा कैद भुक्तान गरेका कैदीलाई बाँकी सजाय मिनाहा गर्ने प्रचलन रहेको कन्टिर–बाबूलाई थाहा छ ।
तर यसपटक मिनाहा पाएका सबै कैदीहरू कानुनले निर्देशित प्रचलनअनुसारै सजाय मिनाहा भएको हो त ? अहँ, पक्कै होइन । कन्टिर–बाबूले चिनेका कानुनका केही जानकारहरूमात्र होइन, स्वयम् कन्टिर–बाबू पनि सजाय मिनाहासम्बन्धी रापको राजनीतिक निर्णयप्रति असन्तुष्ट छन् ।
राजनीतिक आवरणमा हुने अपराधीकरणका अनेक नमुना नेपालमा पाउन सकिन्छ । यस्तो कुप्रचलनलाई सबै मिलेर रोकौँ । अन्यथा मुलुक दण्डहीनताको भासमा थप भासिनेछ ।
त्यसो त पहिलेदेखि सजाय माफी–मिनाहा गर्ने प्रचलनप्रति असहमति व्यक्त हुँदै आएको छ । कन्टिर–बाबू पनि सुरुदेखि नै यो प्रचलनको विपक्षमा छन् । कारण यो आलोचित प्रचलनलाई हतियार बनाएर प्रत्येक सत्ताधारीले कानुनी कम राजनीतिक निर्णय बढी गर्दै आएको कन्टिर–बाबूको जानकारीमा छ । यही हतियारको बलमा राजनीतिक अपराधीकरणलाई प्रश्रय दिइँदै आएको पनि विदितै छ ।
विगतमा काङ्ग्रेस, माओवादी वा अरूहरूले पनि राजनीतिक नियतसहित यो हतियार प्रयोग गरेकै थिए । कन्टिर–बाबूलाई लाग्छ, यसपटक भने पुराना सबै रेकर्ड ब्रेक गर्नेगरी काम भएको छ । विभिन्न अपराधमा प्रमाणित भए पनि कानुनी दायरामा नआएका थप १५ जनालाई सरकारले बाटोबाटै आममाफी दिने निर्णय गरेको छ । ओल्बाले भनेको ठिकै रहेछ, यस्तै केही खास–खास मामलामा अहिलेको सरकार दुनियाँलाई चकित पार्नेगरी काम गरिरहेको रहेछ ।
तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेल कारागारभित्रै एमाले कार्यकर्ताको कुटपिटबाट मारिएका थिए । तत्कालीन सरकारले पौडेललाई सहिद घोषणा गरेको थियो । अहिले उनै सहिद पौडेलका हत्याराले १० वर्ष कट्दा–नकट्दै सरकारबाट राजनीतिक संरक्षण र रापबाट आममाफी पाएको कन्टिर–बाबूलाई एक सुता मन परेको छैन ।
यसअघि हत्या प्रमाणित भई सर्वस्वसहित जन्मकैद सजाय ठेकिएका ओखलढुङ्गाका बालकृष्ण ढुङ्गेलसहित ठुलो सङ्ख्यामा कैदीलाई २०७५ जेठ १५ गते गणतन्त्र दिवसका दिन उही सरकारको सिफारिसमा उही रापबाट आममाफी पाएका थिए । २०७४ कात्तिक १४ गते पक्राउ परेका ढुङ्गेललाई सात महिना पनि जेलमा नराखी आममाफी दिएको थाहा पाएर कन्टिर–बाबूले त्यो बेला पनि विरोध गरेका थिए ।
यी त केही उदाहरणमात्र हुन् । राजनीतिक आवरणमा हुने अपराधीकरणका यस्ता अनेक नमुना नेपालमा पाउन सकिन्छ । यो जोसँग सम्बन्धित छ, उनीहरूसँग कन्टिर–बाबूको विनम्र निवेदन छ– यस्तो कुप्रचलनलाई सबै मिलेर रोकौँ यार ! अन्यथा मुलुक दण्डहीनताको भासमा थप भासिनेछ ।