birat ribon

प्रदेश १ मा हर्न बजाउन रोक, बजाए जरिवाना

Neuro
प्रदेश १ मा हर्न बजाउन रोक, बजाए जरिवाना

विराटनगर / प्रदेश १ मा प्रेसर हर्न बजाउन निषेध गरिएको छ । सोमबारबाट पुनः हर्न निषेध अभियान सुरु गरिएको हो ।

अभियानलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरी सडकमा खटिएको छ । अब प्रेसर हर्न बजाए कारबाही गर्ने ट्राफिक प्रहरीले बताएको छ ।

cura insider

मोरङको विराट चोक, कर्सिया, उर्लाबारी, पथरी, बेलबारी, गछिया, रङ्गेली, विराटनगरको बसपार्क, ढाट, कञ्चनबारीलगायतका स्थानमा चालकलाई हर्न निषेधका बारेमा जानकारी गराउन सोमबार ट्राफिक प्रहरी खटिएका थिए ।

प्रदेश १ का सबै ९२ वटै युनिटमा कार्यरत ट्राफिक प्रहरीले सोमबार सवारी चालकलाई हात जोड्दै अबदेखि हर्न नबजाइदिन आग्रह गर्दै अभियानको सुरुवात गरेका थिए ।

चालकलाई हर्न नबजाउन आग्रह गर्दै प्लेकार्डसहित सडकमा ट्राफिक प्रहरी निस्किएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताए । चालकलाई दुई हात जोडेरै त्यस्तो आग्रह गरिएको बताउँदै उनले नटेर्नेलाई ट्राफिक नियम उल्लङ्घनको कसूरमा कारबाही अघि बढाइने जानकारी दिए ।

प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले ध्वनि प्रदूषण गराउने क्रम बढेपछि प्रदेशलाई हर्न निषेधित क्षेत्र बनाउन सवारी साधनलाई नियमन गर्न थालिएको जानकारी दिए ।

कस्तो अवस्थामा बजाउन पाइन्छ हर्न ?

प्रदेशमा यसअघि नै हर्न निषेध कार्यान्वयनमा ल्याइएको थियो । लकडाउनलगायतका कारण सवारी नचल्दा हर्नको चिन्ता थिएन । तर पूर्णरूपमा सवारी चल्न थालेपछि कडाइ थालिएको उनले बताए ।
प्रदेशका जुनसुकै स्थानमा हर्न बजाउँदै सवारी चलाएको अवस्थामा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार जरिवानाबापत पाँच सयदेखि एक हजार पाँच सय रुपैयाँसम्म सजाय गरिने उनले बताए ।
ओभरटेक गर्ने, यात्रु बोलाउने, साइड माग्ने, बाटो काट्नेलगायतका बहानामा हर्न बजाउन नपाइने तर घुम्ती, पहाडको अप्ठेरो बाटो र आपतकालीन अवस्थामा बजाउन पाइने बताए ।
यसअघि प्रदेश १ मा हर्न बजाएर नियमको उल्लङ्घन गर्ने २२ हजार एक सय तीन सवारी साधन ट्राफिक कारबाहीमा परेका थिए ।

प्रदेश १ प्रहरी प्रमुख डिआइजी ईश्वरबाबु कार्कीले प्रेसर हर्नको प्रयोगले ध्वनि प्रदूषण बढेपछि त्यसको व्यवस्थापन गर्न लागिएको बताए ।
हर्नको आवाजले मानव स्वास्थ्यमा समेत असर गर्ने भएपछि नियमको पालना गराउन प्रहरी कठोर बनेको र यसका लागि ट्राफिकसँग समन्वय थालिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

प्रदेश १ प्रहरी कार्यालयले २०७४ साल असोज १ गतेबाट हर्न बजाउन रोक लगाएको थियो । तर हर्न निषेध खारेज हुनुपर्ने माग गर्दै उच्च अदालत विराटनगरमा रिट निवेदन परेपछि कार्यक्रम रोकिएको थियो ।

अदालतले २०७६ जेठ १४ गते रिट खारेज गरिदिएर हर्न निषेध कार्यान्वयनमा लैजान बाटो खोलिदिएपछि कार्यक्रम सुरु भएको थियो । तर लकडाउनलगायतका विभिन्न कारणले अलमलमा परेको कार्यक्रम अब भने पुनः कडाइका साथ कार्यान्वयनमा लगिने ट्राफिक प्रहरीले जनाएको छ ।

jackson ribon