विराटनगर / प्रधानमन्त्री केपी ओलीले कम्युनिस्ट पार्टीमाथि नै लात्ती प्रहार गर्ने काम गरेको नेकपाका केन्द्रीय सदस्य साथै मोरङ जिल्ला सह–इन्चार्ज महेश रेग्मीले बताए । सोमबार संविधानको कु र प्रतिगामी कदमविरुद्ध नेपाल दलित मुक्ति सङ्गठनले विराटनगरमा गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै रेग्मीले यस्तो बताएका हुन् ।
‘नेपाली जनताले नेपाल कम्युनिस्ट पार्टीलाई विश्वास गरेका थिए । गरिब मजदुर, दलितका साथै समग्र पक्षमा नेपाल कम्युनिस्ट पाटी नै ठीक हो भन्दै जनताले नेकपालाई बहुमत प्रदान गरेका थिए,’ रेग्मीले भने, ‘तर प्रधानमन्त्री ओलीले जनताको त्यो बुझाइ र चाहनामाथि कुठाराघात गर्नुभयो ।’ प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टीमाथि नै लात्ती प्रहार गर्ने कार्य गरेको उनले बताए । उनले भने, ‘प्रधानमन्त्रीले संविधान कुल्चिने मिच्ने काम गरेर जनताले पाएका अधिकारमाथि कुठाराघात गर्नुभयो ।’
प्रधानमन्त्रीले गरेको गलत क्रियाकलापका कारण जनता सडकमा आउन बाध्य भएको रेग्मीले बताए । केही केपी ओली पक्ष र केही राजावादी पक्षबाहेक सबै देशै प्रतिगमनका विरुद्धमा रहेको रेग्मीले बताए । प्रधानमन्त्री ओलीको यो कदम संविधानविरुद्ध रहेको भन्दै रेग्मीले भने, ‘सर्वोच्च अदालतले ससंदको पुनस्र्थापना गर्नेछ भन्ने विश्वास लिएका छौँ, केपी ओलीले गरेको जस्तो काम सर्वोच्चले गर्ने छैन ।’