birat ribon

औषधि होइन आशीर्वादको बहाना !

Neuro
औषधि होइन आशीर्वादको बहाना !

कहीं पे निगाहें कहीं पे निसाना … जिने दो जालिम बनाओ न दिवाना !

कन्टिर–बाबूलाई आज बिहानदेखि मजरुह सुल्तानपुरीका यी शब्दहरूको सम्झना पटक–पटक आइरहेको छ ।

cura insider

सर्वोच्चमा विचाराधीन रहेको संसद् विघटनसम्बन्धी मुद्दामा झिकाइएको एमिकस क्युरीका पाँचमध्ये चार जनाले पुनःस्थापना र एक जनाले घोषित निर्वाचनका पक्षमा दिएपछि नेपालमा राजनीतिक बिरामीहरू सङ्ख्या ह्वात्तै बढेको छ ।

त्यही सेरोफेरोमा हाम्रा नेताहरूको दिल्ली दौडाहा सुरु भएको छ । कन्टिर–बाबूलाई उपचारको बहानामा जारी नेताहरूको दिल्ली दौडाहाको दालमा भित्रपट्टि पक्कै पनि कुनै कालो रहेको आभास लगातार भइरहेको छ ।

उपचारका लागि भन्दै अघिल्लो हप्ता झनाख पारि गए, यो हप्ता बाराभ गए । निकै सक्रियतापूर्वक सडकमा सरकारविरोधी मान्छे उराल्दै हिँडेका यी दुवै पूर्वसरकार–प्रमुखहरूलाई अचानक त्यस्तो कुन असाध्ये रोगले च्याप्यो जसको उपचार नेपालमा सम्भव छैन ? के उनीहरू कुनै चिकित्सकले नेपालमा उपचार गर्न सकिन्न, दिल्लीको फलानो अस्पताल जानू भनेर रेफर गरिएका बिरामी हुन् ? यी दुई जिज्ञासाको सार्वजनिक जबाफ नआएसम्म कन्टिर–बाबू पर्खिरहने छन् ।

कसलाई थाहा छैन– उपचार त एउटा बहानामात्र हो । खासमा भित्री रोग राजनीतिक हो । आवश्यकता औषधिको होइन भारतीय आशीर्वादको हो ।

यसबाहेक एउटा अर्काे प्रश्न पनि कन्टिर–बाबूको मनमा उम्लिरहेको छ कि उनीहरूले आफू सरकारको नेतृत्वमा रहँदा यहाँको चिकित्सा–क्षेत्र विश्वसनीय बनाउन के–के काम गरे ? सायद उनीहरूबाट यहाँ ठोस काम नहुनु पनि नियोजित नै छ । कन्टिर–बाबूलाई लाग्छ, त्यो बेला उनीहरूले चिकित्सा क्षेत्रमा साँच्चिकै मन लाएर काम गरेको भए आज उपचारका नाममा दिल्ली जाने सिल्ली बहाना बाँकी हुने नै थिएन ।

अरे यार, कसलाई थाहा छैन– उपचार त एउटा बहानामात्र हो । खासमा भित्री रोग राजनीतिक हो । आवश्यकता औषधिको होइन भारतीय आशीर्वादको हो ।

कन्टिर–बाबूले लगाएको अनुमानअनुसार यस बेला उनीहरूले कुनै भित्रिया स्रोतबाट संसद् पुनःस्थापना हुँदै छ भन्ने सूचना पाएका छन् । त्यसैले आफूभन्दा अलि ठुला दारका नेताहरू जनतामा अलोकप्रिय रहेको सूचना उता पु¥याउन र यही मौकामा कतै उताको सहयोगमा यता चौका हान्न पाइन्छ कि भन्ने दाउमा पारि गएका हुन सक्छन् उनीहरू ।

कन्टिर–बाबूलाई लाग्दैन, उनीहरू सोझो उद्देश्यसहित अचानक दिल्ली दौडाहामा निस्केका हुन् । कारण हाम्रा नेताहरू उपचारको बहानामा दिल्ली जाने रोग पुरानो हो, जसरी पशुपतिको जात्रा सिद्राको व्यापार गर्न भारतीयहरू नेपाल आइपुग्छन् ।

त्यसो त कन्टिर–बाबू यस्ता कुरामा आवश्यकताभन्दा बढी चासो र चिन्ता लिनुपर्छ भन्ने ठान्दैनन् तर पत्रकारहरूसँग दिन–रातको उठबस हुनाले शङ्का भने हरेक कुराको गर्छन् ।

जे होस्, जाने जान्छन्, आउने आउँछन्, बराबरी हुन्छन् । सारमा कन्टिर–बाबूलाई लिनुदिनु केही छैन । तर बेला न कुबेला फ्याट्ट रोगी हुने लाइनमा अरू पनि नेता छन् भन्ने कन्टिर–बाबूलाई उच्च–स्रोतले बिहानै सुनाएको छ । त्यसैले उनले यसबारे चासो व्यक्त गरेका हुन् । बाँकी कुरा आफ्नो ठाउँमा छ ।

वाह रे हाम्रा जालिम नेताहरू ! कहीं पे निगाहें कहीं पे निसाना … लगे रहो, लगे रहो !

jackson ribon