विराटनगर / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली पक्षले आइतबार १ नम्बर प्रदेशसभामा पेस भएको अविश्वासको प्रस्तावप्रति आपत्ति जनाएको छ । सो प्रस्ताव प्रक्रियासम्मत नभएको भन्दै यसप्रति (नेकपा) संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
नेकपा प्रदेश नम्बर १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुरमार राजभण्डारीले आइतबार एक विज्ञप्ति प्रकाशित गरी प्रक्रियाविपरीत आएको त्यस्तो प्रस्ताव विधानविपरीत भएको जनाएका छन् ।
नेपालको संविधानको धारा १६८ (१) बमोजिम प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले नियुक्त मुख्यमन्त्रीविरुद्ध आफ्नो संसदीय दलमा छलफल नै नगरी एउटै संसदीय दलभित्रका सदस्यले अविश्वासको प्रस्ताव पेस गर्नु दलीय मूल्य र मान्यता प्रतिकूल कार्य भएको विज्ञप्तिमा जनाइएको छ ।
‘प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेता मुख्यमन्त्री हुने उक्त संविधानको भावनामा असहमति भए आफ्नो संसदीय दलमा अविश्वास प्रस्तावबारे निर्णय गर्ने दलीय विधान छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसका बाबजुद संसदीय दलभित्र कुनै छलफल नै नगरी संसदीय दलको विधानविपरीत प्रदेशसभासमक्ष एउटै संसदीय दलभित्रका सदस्यले अविश्वासको प्रस्ताव पेस गरेको कार्यले दलीय मूल्य र मान्यता प्रतिकूलको कार्य भएको छ ।’