birat ribon

भन्सारका समस्या समाधान गर्न उद्योगी व्यवसायीको माग

Neuro
भन्सारका समस्या समाधान गर्न उद्योगी व्यवसायीको माग

विराटनगर / विराटनगका उद्योगी व्यवसायीहरूले भन्सारमा विभिन्न समस्या झेल्न बाध्य भएको गुनासो गरेका छन् । आइतबार विराटनगरमा आयोजित ‘भन्सार जाँचपासपछिको परीक्षणसम्बन्धी स्थलगत अन्तर्क्रिया कार्यक्रम’मा व्यापारीहरूले यस्तो गुनासो राखेका हुन् ।

Padelux insider
cura insider

अर्थ मन्त्रालय भन्सार विभाग, भन्सार जाँचपास परीक्षण कार्यालयको आयोजनामा भएको सो कार्यक्रममा उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले भन्सार जाँचपास छिटो र छरितो बनाउन सुझाव दिए । अन्य भन्सारबाट ल्याउन दिने सामान विराटनगर भन्सारमा रोकिने गरेको भन्दै घिमिरेले भने, ‘अन्य भन्सारबाट ल्याउन मिल्ने सामान विराटनगरबाट पनि ल्याउन दिने व्यवस्था हुनुपर्छ ।’

भन्सार जाँचपासपछिको परीक्षण एक वर्षभित्रमा सक्नुपर्नेमा घिमिरेको जोड थियो । उनले भने, ‘उद्योगी, व्यवसायीलाई अनावश्यक दुःख नदिएर स्वतन्त्रता प्रदान गर्ने हो भने देशले अर्थतन्त्रमा फड्को मार्छ ।’ यस्तो प्रकारको अन्तर्क्रियाले सबैलाई सचेत र जिम्मेवार बनाउन मद्दत पुग्ने घिमिरेको विश्वास छ ।

भन्सार एजेन्ट सङ्घका पूर्वअध्यक्ष प्रवीन जोसीले यसरी विराटनगरमा आएर अन्तर्क्रिया गर्नु स्वागतयोग्य भएको बताए । उनले भन्सार एजेन्टले सबै हेर्नुपर्ने भएकाले अबका दिनमा भन्सार एजेन्टलाई विज्ञ बनाउन सुझाव दिए । कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले लामो समयदेखि भन्सारमा सामान रोकिएको बताएका थिए ।

अन्तर्क्रिया कार्याक्रममा व्यवसायी पारस रौनियारले भने, ‘देशलाई आत्मनिर्भर बनाउन व्यवसाय गरेको तर लामो समयदेखि भन्सारमा सामान रोकिएको छ ।’ यस्तो समस्या चाँडो समाधान गर्न उनले सुझाव दिए ।

यस्तै, भन्सार समिति सदस्य पङ्कज दुगडले विभिन्न समस्याका कारण व्यवसायी दोहोरो मारमा पर्ने गरेको बताए । उनले भने, ‘यसले गर्दा व्यपारीहरूले अपराध गरेर सजाय भोगेजस्तै भएको छ ।’

भन्सार विभागका महानिर्देशक सुमन दाहालले उद्योगी व्यवसायीले बताएका उचित समस्यालाई सम्बोधन गर्न हरबखत लागिपर्ने बताए । ‘कतिपय विषय बाहिर नआएको हुनसक्छ,’ उनले भने, ‘थाहा पाएको विषयमा समाधानको पहल भइरहेको छ ।’ नयाँ आर्थिक ऐन बनाउन छलफल थालिएको बताउँदै दाहालले भने, ‘यस विषयमा सुझाव सङ्कलनका लागि आह्वान पनि गरिएको छ ।’

विभिन्न समस्या समाधानका लागि नै अन्तर्क्रिया आयोजना गरिएको उनको भनाइ थियो । यस्तै प्रमुख भन्सार परीक्षण प्रशासक विष्णुराज ढकालले सही तरिकाले जाँचपास भएको छ भने पिसिए परीक्षणमा कुनै समस्या नहुने बताए ।

उद्योगी व्यवसायीका गुनासा सम्बोधन गर्न आफू पूर्ण प्रतिबद्ध रहेको प्रमुख कर अधिकृत विमल सापकोटाले बताए ।

यस्तै, उद्योगी व्यवसायीका गुनासा आफूले सकेसम्म समाधान गरेको विराटनगरका प्रमुख भन्सार अधिकृत शिव भण्डारीले बताएका थिए । ‘तपाईंहरूले भन्सार ऐन पढ्नु आवश्यक छ,’ उद्योगी व्यवसायीका गुनासा सुनेपछि भण्डारीले भने, ‘ऐनमा भएअनुसार कुनै पनि कार्यमा अवरोध गरिनेछैन ।’

कार्यक्रम उद्योग सङ्गठन मोरङ, मोरङ व्यापार सङ्घ, विराट व्यापार सङ्घ र भन्सार एजेन्ट सङ्घको सहकार्यमा आयोजना भएको थियो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: