birat ribon

गर्भवती महिलाले कति पटक जाँच गर्ने ?

Neuro
गर्भवती महिलाले कति पटक जाँच गर्ने ?
डा. सिद्धार्थकुमार यादव
स्त्री रोग तथा प्रसूती विशेषज्ञ

गर्भावस्था प्रत्येक महिलाका लागि एक विशेष र जोखिमपूर्ण अवस्था हो । र, यो आफैँमा एउटा गहिरो विषय हो ।

Padelux insider
cura insider

एक महिला गर्भवती हुनुभन्दा अगाडि र भइसकेपछि उनको शरीरमा धेरै नै भिन्नता आउँछ । गर्भावस्थामा एक महिलाको शरीरमा विभिन्न भाग तथा अङ्गमा परिवर्तन आउँछ । एक महिला गर्भवती भएपछि पेटको आकारमा मात्र नभएर रगतदेखि मुटु, श्वासप्रश्वासलगायत सबैमा परिवर्तन आउँछ । जसकारण गर्भावस्थामा धेरै नै समस्या वा जटिलता (कम्प्लिकेसन) पनि आउन सक्ने सम्भावना हुनसक्छ । गर्भावस्थामा आउने जटिलतालाई प्रबन्ध गर्न गाह्रो हुनसक्ने हुँदा गर्भावस्थालाई सामान्य नभई गम्भीर रुपमा नै लिनुपर्ने हुन्छ ।

त्यसैले गर्भावस्थामा देखिने जटिलतालाई कम गर्न, भइहाले समयमा उपचार गर्न, समस्या पत्ता लगाउनका लागि एक गर्भवती महिलाले आफ्नो गर्भावस्थाको समयमा अस्पताल वा नजिकैको हेल्थपोस्टमा नियमित जाँच गराउनु पर्ने हुन्छ । हाल विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा गर्भावती महिलामात्र नभएर गर्भ राख्नु अगाडिसमेत महिलाहरू परामर्श लिनका लागि आइरहेका छन् ।

जनचेतनाका कारण महिलाहरू बच्चाको योजना गर्नुअगाडि वा गर्भावस्थामा के–कस्तो समस्या वा जटिलता आउन सक्छ भन्ने जान्नका लागि अस्पताल आउने क्रम पनि बढिरहेको छ । तर, कतिपय महिलाहरू प्रसूती (डेलिभरी) गराउने समयमा मात्र जाँच गर्न आउने गर्छन् । जसकारण उनीहरूमा समस्या देखिने वा जटिलता गम्भीरसमेत भएको हुनसक्छ ।

गर्भावस्थाको पहिलो चरणको अवधिमा बिहान वाकवाकी लाग्ने, वान्ता आउने समस्या अधिकांश धेरै जनामा देखिन्छ । यसलाई सामान्य मानिन्छ तर, कतिपयलाई अत्यधिक बान्ता हुने वा बान्ता नरोकिने हुनसक्छ । बान्ता नरोकिए अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने हुनसक्छ ।

त्यसैले, कम्तिमा पनि एक महिलाले आफू गर्भावती भएको थाहा पाएपछि नौ महिनाको अवधिमा हरेक तीन महिनामा एक पटक जाँच गराउनु पर्ने हुन्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लगायत अन्य संस्थाका अनुसार पहिलो २८ हप्तामा कम्तिमा चार चोटी अर्थात् महिनामा एक पटक जाँच गराउनु पर्ने हुन्छ । २८ हप्तापछि ३६ हप्तासम्म कम्तिमा महिनाको दुई पटकसम्म जाँच गराउनुपर्ने हुन्छ । र, ३६ हप्तापछि डेलिभरी नभएसम्म हरेक हप्ता जाँच गर्नुपर्ने हुन्छ । तर, अस्पताल नजिक नहुने ठाउँमा, आर्थिक अवस्था कमजोर भएकालगायत अन्य अवस्थामा भनिएको जति जाँच गर्न नसके पनि कम्तिमा चार पटक जाँच गर्न जरुरी नै हुन्छ ।

एक महिलाले आफ्नो र आफ्नो गर्भमा रहेको बच्चाको सम्पूर्ण स्वास्थ्यका बारेमा थाहा पाउनका लागि पहिलो तीन महिना वा १२ हप्तासम्म एक पटक, १४ देखि २८ हप्तासम्म एक पटक, २८ देखि ३६ हप्तासम्म एक पटक र ३६ हप्तादेखि डेलिभरी हुनुसम्म एक पटक अनिवार्य जाँच गर्नुपर्ने हुन्छ ।

गर्भ रहेको पत्ता लगाउने धेरै तरिका छन् । घरमै सजिलोसँग गर्भ परीक्षण गर्ने किटको प्रयोग गरेर, महिनावारी रोकिएपछि अस्पताल गई पिसाब र भिडियो ऐक्स–रे गरेर वा महिनावारी अनियमित भएका कारण अस्पताल जाँदा गर्भमा बच्चा बसेको (एक्सिडेन्टल फाइन्डिङ) छ वा छैन भनेर पत्ता लगाउन सकिन्छ ।

गर्भमा बच्चा बसेको पक्का भएपछि पहिलो तीन महिनामा हेमोग्लोबिनको मात्रा, प्याटेलेट्सको मात्रा, पिसाबको जाँच, मधुमेह, रक्तचाप, सेरोलोजीलगायतका जाँचसहित एउटा भिडयो एक्स–रे गराइन्छ । पहिलो भिडियो एक्स–रेबाट बच्चा गर्भमा बसेको कति हप्ता भएको र डेलिभरी हुने अपेक्षित मिति थाहा पाउन सकिन्छ । त्यसपछि १८ देखि २२ हप्तामा गरिने भिडियो एक्स–रे (एनोमली स्क्यान) बाट बच्चाको अवस्था, शारीरिक बनावटमा खराबी भए–नभएको, जन्मजात रोग पत्ता लगाउनका लागि गरिन्छ । र, अन्तिम तीन महिनामा सालको पोजिसन हेर्न, डेलिभरीको बेला हुनसक्ने जटिलता पत्ता लगाउनका लागि भिडियो एक्स–रे गरिन्छ ।

कम वा बढी उमेरमा गर्भवती भएका कारण डेलिभरीको समयमा समस्या आउने, अत्यधिक रक्तश्राव हुने, रक्तश्रावका कारण पाठेघर समेत निकाल्नुपर्ने हुनसक्छ ।

गर्भावस्थामा कम्तिमा पनि तीन पटकसम्म भिडियो एक्स–रे गर्नुपर्ने हुन्छ । गर्भावस्थामा गरिने हरेक पटकको जाँचमा रगतको मात्रा, रगतमा चिनीको मात्रा, बच्चाको तौल, आमाको तौल, रक्तचाप, बच्चाको विकास कति भएको छ हेर्ने गरिन्छ ।

गर्भावस्थामा देखिने समस्या

गर्भवतीलाई गर्भावस्थाको पहिलो चरणको अवधिमा निकै खतरा हुने गर्छ । यो अवधिमा शरीर र हर्मोनलमा धेरै परिवर्तन भइरहेने हुँदा धेरैजसो लक्षण देखिने हुन्छ । गर्भावस्थाको पहिलो चरणको अवधिमा बिहान वाकवाकी लाग्ने, वान्ता आउने समस्या अधिकांश धेरै जनामा देखिन्छ । यसलाई सामान्य मानिन्छ तर, कतिपयलाई अत्यधिक बान्ता हुने वा बान्ता नरोकिने हुनसक्छ । बान्ता नरोकिए अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने हुनसक्छ ।

गर्भावस्थाको पहिलो २० हप्ता अवधिमा गर्भ तुहिने सबैभन्दा बढी सम्भवाना हुन्छ । अत्याधिक रक्तश्राव हुने वा रक्तश्रावकै कारण गर्भसमेत तुहिने वा अन्य केही कारणले बच्चा निस्कने, बच्चा खेर जाने अर्थात् अबोर्सन (गर्भपतन) भएर जाने हुनसक्छ । वा बच्चाको तौल पाँच सय ग्रामभन्दा कम भएमा पनि यसलाई अबोर्सन भन्ने गरिन्छ ।

गर्भावती हुनुभन्दा पहिला नै महिलामा मधुमेह, रक्तचाप, मुटुरोगलगायतका दिर्घकालीन समस्या हुनसक्छ । वा गर्भावस्थाकै बेला पनि नयाँ रोग लाग्न सक्छ । गर्भ बसिसकेपछि मेटाबोलिजममा परिवर्तन भएको कारणले रगतमा चिनीको मात्रा बढ्न सक्छ । गर्भावस्थामा हुने अर्को प्रमुख समस्या भनेको उच्च रक्तचाप हो । २० साता कटेपछि गर्भवती महिलालाई गर्भावस्थाको रक्तचाप देखापर्ने, इक्लाम्पसिया (उच्च रक्तचाप बढेका कारण बेहोस हुने अवस्था वा चम्की) आउन सक्छ । त्यसैले नियमित जाँच गराएकामा पहिला रोग लागेको हो वा गर्भावस्थापछि रोग लागेको हो बुझेर यही हिसाबले उपचार अगाडि बढाउनुपर्ने वा रोगलाई नियन्त्रण गर्नुपर्ने हुन्छ ।

गर्भावस्थामा उमेरले पनि भूमिका निर्वाह गर्छ

गर्भावस्थामा उमेरले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने हुन्छ । कम उमेरमा गर्भवती (टिनएज प्रेगनेन्सी) वा २० वर्ष नपुग्दै तथा ३५ वर्ष पार गरिसकेपछि गर्भ राख्दा पनि जोखिम देखिने वा समस्या बढ्ने सम्भावना रहन्छ । सानो उमेरमा गर्भधारण गर्ने आमाको शरीर मानसिक मात्र नभई शारीरिक रुपले पनि तयार भएको हुँदैन । जसकारण धेरै जटिलता आउने हुन्छ जुन आमा र शिशु दुवैका लागि खतरापूर्ण हुन्छ ।

बढ्दो उमेरसँग आउने परिवर्तनका कारण ३५ वर्षपछि गर्भ रहन गाह्रो हुने, भइहाले गर्भ तुहिने सबैभन्दा बढी सम्भवाना हुन्छ । साथै, उमेर बढेसँगै रक्तचाप, मधुमेहलगायतका अन्य रोग समान्य हुन्छन् । त्यस्तै कम वा बढी उमेरमा गर्भवती भएका कारण डेलिभरीको समयमा समस्या आउने, अत्यधिक रक्तश्राव हुने, रक्तश्रावका कारण पाठेघर समेत निकाल्नुपर्ने हुनसक्छ ।

गर्भावस्थाबारेमा समाजमा सुनिएका केही भ्रम र तथ्य

गर्भावस्थामा धेरैजसो यो खान नहुने त्यो खान नहुने अर्थात् खानपिनसँग समबन्धित भ्रम हुने धेरै पाइएको छ । तर, यो एकदम गलत हो । गर्भावस्थामा शरीरमा भएको परिवर्तनका कारण तथा यो समयमा एक जनाका लागि नभएर दुई जना (गर्भमा भएको बच्चा)का लागिसमेत खाना खानुपर्ने हुन्छ । गर्भावस्थामा अन्यको कुरा सुनेरभन्दा पनि सन्तुलित खानपानमा एकदम जोड दिनुपर्ने हुन्छ ।

पहिलाको समयमा घरमै डेलिभरी गर्ने चलन थियो । र, एक पटक पनि जाँच नगराए पनि स्वस्थ बच्चा जन्मिन सकिने भन्ने भ्रम छ । यो सबैमा हुुन्छ भन्ने पनि हुँदैन । त्यसैले, गर्भावस्थाको बेलामा जाँच अनिवार्य रुपमा गर्नुपर्छ । अर्को भ्रम भनेको युएसजी अर्थात् भिडियो एक्स–रेसँग पनि सम्बन्धित छ । मानिसहरूमा एक्स–रे धेरै गर्दा क्यान्सर हुने, बाँझोपन निम्त्याउन सक्ने भनेर सुनेका कारण युएसजीलाई भिडियो एक्स–रे भनिने हुँदा यसले बच्चामा असर गर्छ भन्ने भ्रम पनि पाइएको छ । तर, भिडियो एक्स रेबाट अन्यको जस्तो विकिरण नआउने हुँदा यसले आमा र बच्चामा कुनै पनि प्रकारको असर गर्दैन । र यो, गर्भावस्थामा जति पटकसम्म युएसजी गराए पनि सुरक्षित नै हुन्छ ।

गर्भावस्थमा शरीरिक सम्पर्क राख्नु हुँदैन भन्ने पनि मानिसमा सोच छ । गर्भावस्थमा शरीरिक सम्पर्क राख्नै नहुनेभन्दा पनि अवस्थित समस्या वा हुनसक्ने जटिलताको आधारमा हेर्नुपर्ने हुन्छ । गर्भावस्थाको पहिलो तीन महिनामा गर्भ तुहिने जोखिम बढी हुने हुँदा यो समयमा शरीरिक सम्पर्क नराखेकै उचित हुन्छ । कसैको पटक–पटक बच्चा खेर गइरहेमा, जटिलता देखापरिरहेमा सक्दो शरीरिक सम्पर्क नराखेकै राम्रो हुन्छ । नत्र, गर्भावस्थामा शरीरिक सम्पर्क राख्नु हुँदैन भन्ने हुदैन ।

गर्भावस्थामा मधुमेह र रक्तचाप

गर्भावस्थाको मधुमेह र रक्तचाप सुरुको २० हप्तापछि र डेलिभरी भएको १२ हप्तापछि समान्य हुँदै गएका यसलाई गर्भावस्थाको कारणले भएको भनिन्छ र यसले पछि केही असर नगर्न सक्छ । तर, कसैमा भने गर्भवती हुनु अगाडिदेखि नै मधुमेह र प्रेसरको समस्या भएमा, ढिलो जाँचका लागि आएका कारण समस्या भएको थाहा नपाउँदा डेलिभरी भएको १२ हप्ता पछिसम्म पनि अवस्था सामान्य नभएमा यो रोग पहिलादेखि नै भएको बुझिन्छ ।

सुगर, प्रेसर बढेका कारणले वा नियन्त्रण गर्न नसक्दा इन्सुलिन तथा औषधिको पनि सेवन गर्नुपर्ने हुनसक्छ । र, डेलिभरीपछिको समयमा सुगर, प्रेसर सामान्य हुँदै गएमा औषधिको सेवन गरिरहनु नपर्ने पनि हुनसक्छ । र, गरिहाल्नु परे पनि यसको डोज निकै कम हुने हुन्छ ।

शल्यक्रियामार्फत बच्चा जन्माउँदा पछिसम्म गाह्रो हुन सक्छ । शल्यक्रिया गरेपछि अस्पताल बस्नुपर्ने, शल्यक्रिया गरेको ठाउँमा दुखिरहने, सङ्क्रमण हुनसक्ने, काम गर्न तथा भारी उठाउँदा गाह्रो हुने हुनसक्छ ।

नर्मल डेलिभरी जहिले पनि राम्रो

हालको समयमा धेरैले नर्मल डेलिभरीको साटो सिजेरियन सेक्सन (शल्यक्रिया) मार्फत डेलिभरी गर्ने गर्छन् । सामान्य गर्भावस्था भएको वा कुनै समस्या नभएको खण्डमा गर्भवतीलाई शल्यक्रियामार्फत नभई नर्मल डेलिभरी गराइन्छ । नर्मल डेलिभरी गर्नु जहिले पनि राम्रो हुन्छ । यो आमा र बच्चा दुबैका लागि राम्रो हुन्छ । नर्मल डेलिभरी गर्दा सातदेखि आठ घण्टामा अस्पतालबाट डिस्चार्ज भई सामान्य खानपान वा जीवनशैलीमा फर्कन सकिन्छ ।

तर, केही समयको दुखाइ सहन नसक्ने कारण धेरैले शल्यक्रियामार्फत बच्चा जन्म दिन आग्रह गर्छन् । यो समस्या नपढेकामा भन्दा पनि पढेलेखेकामा धेरै हुने पाइएको छ । धेरै बुझ्ने मानिस नै सिजेरियन सेक्सनबाट डेलिभरी गर्न आकर्षित हुने गरेका छन् । तर, शल्यक्रियामार्फत बच्चा जन्माउँदा पछिसम्म गाह्रो हुन सक्छ । शल्यक्रिया गरेपछि अस्पताल बस्नुपर्ने, शल्यक्रिया गरेको ठाउँमा दुखिरहने, सङ्क्रमण हुनसक्ने, काम गर्न तथा भारी उठाउँदा गाह्रो हुने हुनसक्छ । शल्यक्रिया गरेर जन्मेको बच्चा कुनै सङ्घर्षविना निस्कने हुँदा फोक्सोमा भएको तरल पदार्थ राम्ररी निस्कन पाउँदैन जसकारण बच्चाको श्वासप्रश्वासमा बढी समस्या देखिने हुनसक्छ ।

शल्यक्रिया गर्नै पर्ने इन्डिकेसन, डेलिभरीपछि देखिने सम्भावना

शल्यक्रिया गरेर बच्चा जन्माउनुभन्दा पनि नर्मल डेलिभरी गर्नु राम्रो हुन्छ । तर, गर्भावस्थामा आएका अन्य केही समस्यामा भने शल्यक्रिया गरेर बच्चा जन्माउनु पर्ने हुन्छ । बच्चाको तौल र आकार, बच्चा जन्मिने मार्ग सानो भएमा, गर्भमा बच्चा उल्टो बसेमा, सालको पोसिजनको आधारमा, कतिपय जुम्लिया बच्चा भएमा शल्यक्रिया गरेर बच्चा जन्माउनु पर्ने हुन्छ । पहिलो वा पछिल्लो पटक बच्चा सिजेरियनमार्फत जन्माएको छ भने दोस्रो बच्चालाई पनि सिजेरियनमार्फत जन्माउनुपर्ने हुन्छ ।

डेलिभरीमा देखिने सबैभन्दा धेरै देखिने समस्या भनेको रक्तश्राव हो । यसकारण नेपाल जस्तो विकास भइरहेको देशमा धेरै आमाहरूले ज्यान गुमाउन बाध्य छन् । मातृ मृत्युदर बढाउने मुख्य कारण पनि यसलाई मानिएको छ । योबाहेक मधुमेह, उच्च रक्तचाप, इक्ल्याम्सिया, रक्तचापका कारण मुटु, कलेजो, मृगौलालगायतका शरीरका अन्य भागमा असर गरेका कारण पनि डेलिभरीपछि आमाको ज्यान जाने सम्भावना रहन्छ । साथै, केही महिलामा गर्भावस्थाको समयमा वा डेलिभरीपछि पनि बच्चाको स्वास्थ्यमा समस्या भएमा वा अन्य विभिन्न कारण मानसिक तनाब हुनसक्छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: