
पसिना लुटेर
जम्मा गरेको छु खुत्रुकेमा
मलाई कत्ति पनि पोलेको छैन
तिम्रा आँशुहरूले
बरू
तिम्रा पसिनाहरू
बर्खे झरीझैँ बर्सिएका छन्
मेरै वरिपरि
ठूलै चिठ्ठा परेजसरी
तिम्रो देखावटी मुस्कानमा
बेमौसमी जादु छरेर
अझै लुट्नु छ पसिना
तातो घामको र भन्नु छ
जसले मह काट्छ, उसले हात चाट्छ
तिम्रा पसिना लुटेर
अरूलाई देखाउनु छ,
आफ्नै मेहनतको समाचार
र समाजसेवी कहलिनु छ
तिम्रै वरिपरि
तिमीलाई खै कसले पत्याउँछ
बरू मेरै लागि नारा लगाउँछन् सबैले
समाजसेवी जिन्दवाद ! जिन्दवाद !!
तिमी सही छौ होला
तर, तिम्रो पछि कोही लाग्दैनन्
बरू मेरै चाकडी गर्न तल्लीन हुन्छन्
दिनरात घामपानी नभनी
अनि भिराइदिन्छन् समाजसेवीको दर्जा
तिमीलाई थाहै रहेनछ
यहाँ त पहुँचका भरमा जे पनि हुन्छ
तिमीले बोलेको साँचो झुठो भइदिन्छ
तर
मैले बोलेको झुठो साँचो भइदिन्छ
यत्ति सम्झ
तिमी पात झरेको रूख
र म पातैपातले भरिएको रूख
अब भन
शितलता तिमीले दिन्छौ या मैले ?