birat ribon

रित्तो गुँड र चरा नियति

Neuro
रित्तो गुँड र चरा नियति
पेशल आचार्य

सम्बन्धहरू युगका ओढारहरूमा पृथक हुँदा रहेछन् । विचारहरू समयका तिजोरीहरूमा अलगथलग बन्दा रहेछन् । इच्छाहरू जब सोपान चढेर चौतर्फी रूपमा उड्न खोज्छन् अनि मानिस घर र परिवारबाट टाढिन खोज्दा रहेछन् । विगतातीत समय स्थिर थिएन तर यत्तिको सग्बगाएको पनि थिएन ।

समय आज अनायासै गतिशील, चुल्बुले र चकाचौंँध छ । हरेकका मन औ शरीर विश्व घुम्न वाचाल छन् । मानिसका सन्मुख जान्ने, बुझ्ने, खोज्ने र पत्ता लगाउने विषयादि भावहरूका उरूङ चाङ छन् । ऊ चौपाया भाँती र अभिनयमा टाटनामा राखिएका अग्र्यानिक घाँसहरू मात्र खाएर अघाउन चाहँदैन । उसलाई विश्व चहारेर भलिभाँती उग्राउन मन छ । पखेँटा हालेर निरन्तर नीलाकाशमा कावा खाने इच्छा छ र छ सोच विश्व फन्फनी घुमेर टण्डेली मार्न ।

cura insider

ऊ सोचमा सोचमग्न छ । खोजमा आतुर छ । नियाल्नमा तम्तयार छ । पर्खिनमा वाचाल छ । यहाँ प्यारप्यार बोलिरहने पुतुर्केले भन्दा बोल्दै नबोल्ने घुस्घुसेले परिणाम सहसा उल्ट्याइदिन्छ । गज्जबले बिताइदिन्छ । अघिल्तिर मुसुमुमु हाँसेर पछिल्तिर कतिपयले ढाडमा छुरा धसेका देखिन्छन् । अनौठो छ–संसार !

हामी वरिपरिको परिवेशलाई हेरे बुझेका खण्डमा हामीले देख्ने, भोग्ने र हेक्का राख्ने वैविध्य सन्दर्भहरूले यही नै भाकेका छन् । भलिभाँती भनेका छन् । सप्रमाण देखाएका छन् । कुरा गर्नेहरू धेरैधेरै हुन्छन् तर कुरा बुझ्नेहरू चाहिँ थोरै हुन्छन् । कुरोको चुरो बुझ्ने बोल्दैन । बोल्नेले बुझेको हुँदैन । बोल्ने सबैसबैले भाँती पुर्‍याएर बुझेका पनि हुँदैनन् । कतिपयमा दुवै हुन्छन् । कतिपयमा दुवै कुरा हुँदैनन् । अचम्म छ– व्यवहार !

जीवनमा कतिपय कुरा हुन् पनि र होइनन् पनि । जिन्दगीका धेरै सत्यहरू छन् पनि र छैनन् पनि । माने छ । नमाने छैन । उहिल्यै केटाकेटीमा हामी नबुझीनबुझी जोडले भन्थ्यौँ– ‘पहिले बुझ्न कठिन, बुझ्यो अझ कठिन, झन्झन् बुझ्यो झन् कठिन ।’ अहिले केही बुझेको हो कि जस्तो लाग्न खोज्दै छ तर झन्झन् नबुझिने जीवनातिरेकका फाँकीहरू सिक्वेन्स बिग्रेका वीजगणीतीय सूत्रझैँ आफ्ना अघिल्तिर जुलुस बनेर आउँदा छन्, आउँदा छन् ।

जीवनमा कतिपय कुरा हुन् पनि र होइनन् पनि । जिन्दगीका धेरै सत्यहरू छन् पनि र छैनन् पनि । माने छ । नमाने छैन ।

किनकिन चरामध्ये मलाई परेवा असाध्यै मन पर्छ । अरू चरा मन नपर्ने चाहिँ होइनन् । तर मैले परेवाको धेरै सेवा गरेको छु । परेवाले पनि मलाई बाल्यकालमा उखुमै फाइदा दिलाएको छ । हाम्रो सम्बन्ध दोहोरो छ । विद्यार्थी जीवनमा पैसो खनखाँचो पर्दा परेवा पालेर सानातिना गर्जाहरू टारेको छु । थोरै कहिरन हालौँ । एकफेर रहर गरेर बासँग घरमा परेवाको गञ्जक बनाई मागेँ । गाउँबाट परेवाका दुई जोर बचेरा किनेर पनि ल्याएँ । तोरीका दाना पानीमा भिजाएर खोँचीजस्तो हात बनाई दिनदिनै ख्वाएँ ।

मैले मेरा भाइहरूलाई आफ्ना हातले भात खुवाउनु परेन । दुईदुई वर्ष फरकमा जन्मिएका भाइहरू झन्नै आफूजत्रै थिए । परेवालाई आफ्ना सन्तानझैँ पाले । पाल्नुमा मेरा भित्री दुई स्वार्थ थिए । एक–परेवा बढाएर बेची पकेट र पढाइखर्च जोगार गर्नु । अर्को परेवाको जीवन शैली अध्ययन गर्नु ।
जब दुई जोर बचेरा हुर्किएँ तब घरमा भएको बूढो बकैनाको रूख काटेर बाले खोर तयार पारिदिन लगाउनु भयो । मन फुरूङ्ग भयो । परेवाले चाँडोचाँडो फुल पारे । बच्चा कोरले । बच्चाहरू सल्सली बढे । फैलाएर धेरै हुँदा बेचेर उब्रे । आफूले मासु खान पाइयो (परेवालाई तराईतिर मासुका लागि प्रयोग गर्ने गरिन्थ्यो र अझै गरिन्छ) ।

नभन्दै बर्ख दिनमा दुईबाट चार, चारबाट आठ र आठबाट सोह्र जोर परेवा भए । मेरो युवा मन चौचौ भयो । तिनताक मेरा गोजीभरि पैसा भए ।

त्यसबेला म बीएको विद्यार्थी । कुरा २०४४ सालतिरको । तीन दसकमै समयले फेरो मारिसकेछ । सम्झँदा छक्क पर्छु । त्यो बेला पचास रूपैयाँ जोडीमा बिक्री हुन्थे परेवा । एकजोर बेच्दा बीए तहको एक महिनाकै डल्लै फिस तिर्न पुग्ने । दुई वर्ष जति मज्जाले सग्लाए । आमा भन्नु हुन्थ्यो– ‘केराका बोट र परेवा सुरूसुरू छिमलमा सप्रन्छन् । पछिपछि वास्ता कम हुँदै जान्छ । कि न्याउरीले सक्छ । कि सुल्सुलेले मास्छ ।’ नभन्दै मातृवचन सत्य भयो ।

आमाबाले परेवाको गञ्जक थुन्न बिर्सिनु भएछ । भाइहरू खेलबाडमा व्यस्त । साँझबत्ती बाल्ने बेलामा न्याउरी पसेर पच्चीस जोर मेरा मायालु परेवामध्ये एउटा भालेलाई छाडी बाँकी सबैलाई मारेछ ।

म बिहानबिहान सुनसरी क्याम्पसको विद्यार्थी भए पनि दिउँसो चाहिँ वकिलको अफिसमा काम गर्थें । दिन नबिराई अदालत जानु पर्दथ्यो । मुद्दाको वारिस बसिन्थ्यो । झगडियाहरू दिनहुँ आइरहन्थे । केही न केही सानुतिनो काम गरिदिनु पर्दथ्यो । घरमा परेवाका लागि गञ्जक तल कुकुर बाँधियो । आमा घरै बस्ने भएकाले उति सारो डर थिएन । एवम् रितले म परेवाको चाकर गर्दै पढाइ अघि बढाउँदै गएँ । खोरभरि परेवा भए ।

एकदिन म छाँगाबाट खसेझैँ खङ्रङ्ग भएँ । त्यो दिन म निकै राति घर आएको रहेँछु । आमाबाले परेवाको गञ्जक थुन्न बिर्सिनु भएछ । भाइहरू खेलबाडमा व्यस्त । साँझबत्ती बाल्ने बेलामा न्याउरी पसेर पच्चीस जोर मेरा मायालु परेवामध्ये एउटा भालेलाई छाडी बाँकी सबैलाई मारेछ । कतिपय भाग्न भ्याए । भागेका ती बिच्किए । पछि गुँडमा आउँदै आएनन् । मैले गाउँ डुलेर चियो गरेँ । कसका घर गए ? कहाँ बस्छन् ? पत्तो लागेन । पछि म आफैँले हार मानेँ ।

एक्ले भालेको बिजोग भयो । मेरो विचार के थियो भने जुन भाले न्याउरीले अधमरो पारी छाडेको थियो त्यसको चाहिँ पोथी भेटिए पनि हुन्थ्यो, जस्तो लाग्थ्यो । तर मेरो मनको विचारले भनेजस्तो त्यस्तो कहाँ हुन्थ्यो र ? अहँ ! भएन । भाले एक्लियो । पछि गाउँबाट फेरि एक्ले पोथी किनेर ल्याएँ । दुई चारवटा पखेँटा उखेली दिएँ । रत्तिन्छ कि भनेर त्यसलाई दिनभरि डोकाले छोपेर राखेँ । रातिराति गञ्जकमा हुलिदिएँ । तर पोथीले भाले लिन धेरै दिन लाग्यो । घरमा भएको भालेचाहिँ पोथी ल्याएका दिनदेखि ‘मकमक घुर्रर्र…’ गरेर घुर्न थालेको थियो । त्यो घुर्दा मलाई कसोकसो आनन्द आउँथ्यो । मेरो आनन्दमा भित्री स्वार्थ थियो । पाश्र्वमा परेवाका बच्चा बेचेर घुटुक्क थुक निल्थेँ– म । आफ्नो पढाइ खर्च जुटाउने मेरो मनसुवा थियो– मनको अन्तरकुन्तरमा ।

म पढाइ र अदालतको गोलचक्कर काट्दै रहेँ । परेवाले परेवीलाई महिनौँ लगाएर आफ्नी बनायो । खुसी लाग्यो । अब फेरि मेरो खोरमा ससाना बचेराहरूको चिँचिँ सुनिने छन् । मैले मेरो खोर परेवा नै परेवाले भरिएको कल्पना गर्न थालेँ । एवम् रितले दुई वर्ष बिते । मैले राम्रो नम्बरका साथ बीए पास गरेँ ।

अब मैले रोजगारीका लागि काठमाडौँ हानिने विचार गरेँ । मैले घर छाड्न लाग्दा परेवाका बथान भैसकेका थिए– खोरभरि । मलाई घर परिवारका सदस्यहरू छाड्न त्यति सकस परेन जति मेरा ती अभावका दिनमा अवाक रूपले मसँग रत्तिएका मुक भावका परेवाहरू छाड्दा नमज्जा लाग्यो ।

पछि म केही महिनापछि घर गएँ । मैले थाहा पाएँ । एकपल्ट पल्किएको न्याउरी मुसो फेरि हाम्रो परेवाको खोरमा पसेछ । उसैगरी परेवाहरू स्वाहा पारेछ जसरी दुई वर्षअघि पारेको थियो । आमाले सबिस्तार बताउनु भएपछि म फेरि अर्कोपल्ट चकित भएँ । एक मनले त मलाई परेवा नपालेकै भए हुने भन्ने विचार आयो । लामो बिदामा आएकाले मैले त्यो हिउँद घरका अन्य ससाना कामहरू गरेर बिताएँ । खेतीको सिजन थियो । धान थन्क्याइयो । पराल ल्याइयो । गहुँ छरियो । तोरी उखेलियो । त्यो पटक एउटा पोथीमात्र राखेर बाँकी सबै परेवा सिनित्तै मारेछ– न्याउरीले ।

अब फेरि पोथीका लागि भाले उसैगरी ल्याइयो । पखेँटा उखेलियो । डोकाले छोपियो तर पोथीले भाले लिन मानेन् । कसैगरी मानेन । जसरी भालेले छिट्टै पोथी लिएको थियो त्यसरी पोथीले भाले लिँदो रै’नछ । मैले परेवाको संसारमा नयाँ कुरा थाहा पाएँ ।

‘परेवासरेवा छैनन् । सुली सुँघेर के बस्नु ? अब खोर बेचिदिनु पर्छ’– बाले भन्नुभो । मैले र आमाले प्रतिवाद गर्‍यौं । बा आफ्नो अडानमा टसकोमस हुनु भएन । एकजोर परेवासँगै खोर बेचियो । कतिमा बेचियो मैले बिर्सिएँ । तर जसले त्यो किनेर लगे तिनलाई पनि त्यो पोथीको जोडी मिलाउन धेरै महिना लाग्यो भनेर बासँग भनेछन् ।

सन्तानको माया लाग्यो होला त्यो परेवीलाई पनि । त्यसैले परचक्री परेवासँग घरजम नगरेकी होली ! मैले मनमा कल्पिएँ । मलाई ननिको लाग्यो ।

आफ्ना सन्तानको माया मानिसलाई जस्तै हुने रहेछ चरालाई जस्तो लाग्यो । सन्तानहरू भुर्रर्र उड्दै गएपछि बाउआमा एक्लाएक्लै हुँदा रहेछन् । कहिले गञ्जकमा कहिले घरमा ।

आज तीस वर्षपछि त्यो परिवेश र परेवाको झल्याँस्स सम्झना आयो । नर्सिङ्को उच्च शिक्षा हाँसिल गर्न गएको फागुनमा हाम्री ठूली छोरी विदेश गइन् । मन गह्रौँ बनाएर हामीले बिदा गर्‍यौं । बाआमा बूढाबूढी भइसक्नु भएको छ । आमा र श्रीमतीले घरबाटै बिदा गरे । अन्य दुई सन्तान, बा र म एयरपोर्टसम्म गयौँ । मैले र छोरीले बिदाइमा नरूने वाचा गरेका थियौँ । हामी रोएनौँ । भलै भित्रभित्रै दुवै रोएका थियौँ होला । छोरीको अनुहार हँसिलो देखिन्नथ्यो ।

बाले हाँसीहाँसी बिदा गर्नु भयो । आमाले निन्याउरो अनुहार लाउनुभो । सानो छोरो रोयो– दिदीका मायाले । सानी छोरीले गहभरि आँसु पारी । छोरी बिदा गरेको रात श्रीमतीले धेरै पिर गरिन् । मलाई फेरि त्यो आफ्नो युवावस्थाकै परेवा पालेको याद आयो । आफ्ना सन्तानको माया मानिसलाई जस्तै हुने रहेछ चरालाई जस्तो लाग्यो ।

सन्तानहरू भुर्रर्र उड्दै गएपछि बाउआमा एक्लाएक्लै हुँदा रहेछन् । कहिले गञ्जकमा कहिले घरमा ।

मानिस खोजीको विषय भएको छ । मानिस तुमुल विषय र वासनाहरूलाई नैरन्तर खोजी नै रहेको छ । आफू, परिवार, समाज, देश र विश्वभित्र खोज्ने उसका अभिप्साहरूलाई कुनै गजवारहरूले छेक्न सकेनछन् ।

बाधा पन्छाउनमै मजा र आनन्द मान्ने मानिसले जीवनमा सफलताका क्याराभानहरू दौडन अनेकन सिसिफस यत्न नगरेको कहाँ हो र ? लड्दै, उठ्दै र हिँड्दै उसले स्वयम्लाई काबिल बनाउनका लागि गरेका अहोरात्र परिश्रमहरूले पनि ती र त्यहाँसम्म सफलताका शिखर चुमेका देखिन्छन् । यही अभीप्सा बोकेर छोरी विदेश उडेकी हो कि भनेर गम्न थालेको छु– अचेल ।

गति हो जीवन । अनि प्रगति हो जीवन । बुझेर बुझेजस्तो लागे पनि बुझेर नबुझिने सङ्कथन हो–जीवन । कतिपय मानिसहरू फुलेर फुलेल भएका छन्– जीवन बुझेका भानमा । कतिपय जीवन बुझ्ने यत्नमा लागेरै जीवन नबुझेर मुर्झाएका देखिन्छन् । को ठिक ? को बेठिक ? केही ज्ञात छैन । सबैसबै परीक्षणकालमा दौडिएका छन् । परीक्षणकाल जीवनभरि बर्करार देखिन्छन् । आधा बुझेजस्तो, आधा नबुझेजस्तो । कतैकतै पूरै बुझेजस्तो । कतैकतै पूरै नबुझेजस्तो । खै ! कस्तोकस्तो ?

इतिहास भयो यायावरीय जिन्दगी मानिसको । पुरानिए बाबु बाजेका जीवनादि भोगाइ र सङ्घर्षणका उपजीव्य मानकका उपकथाहरू । तीतो इतिहासले गुलियो वर्तमानलाई चौतर्फी कोलाज उपहार दिएको छ । दिग्दिगन्तमा रम्रेका छन्– इच्छाका भेषभुषामा मानव पुतलीहरू । कुन विषय सही र कुन वासना अब्बल ? मानिस स्वयम् छनोट गर्दै रेजा लगाइरहेका छन् । खाली ठाउँ भरिरहेका छन् । ठीक–बेठीक छुट्याइरहेछन् । दुनियाँ यसै रङ्गीन त छँदै छ भला अझै गाढा रङ्गीन बन्दो छ ।

गति र नियति दुई पार्थक्य अर्थ बोक्ने शब्दातीत यात्रामा स्वफूर्त चलायमान छन् । दुवैको म्याराथन चलेको सदियौँ भयो । वैपरीत्य दिशामा वाचाल मुद्रामा बेतोडले दौडेका छन् । फाटक नाघेर बेमिसाल पल्लोफाल हुनेगरी यायावर भएका छन् । धपेडीमा छन्– खोजका यात्रीहरू । हिजो जसरी कोलम्बसलाई धपेडी थियो । जुन धामामा हु एन् साङ् हाँप र झाँप गर्थे ।

आजका मनुवाको पनि नियति र गति त्यस्तै छ । फरक हिजो र आजमा एउटा तत्व छ । हिजो समग्रताका लागि थियो । आज आफ्ना लागिमात्र छ । जमाना सेल्फीको छ । सेल्फीका पछि लाग्दालाग्दै मानिस सेल्फिस जो बनेको छ ।

नदी दौडेका छन् किनकि तिनीहरूको गन्तव्य छ । चराहरू कावा खाँदै छन् किनकि तिनीहरूले पनि लक्ष्य भेदन गर्नु छ । पवन, सूर्यचन्द्र, दिक र कालहरू बेतोडले घुमिरहेका छन् । घडीघन्टा र नक्षत्रादि पलहरू समेत चलायमान छन् । रोकिएका कुनै छैनन् । स्थिर कोही रहेनन् । वृत्तीय मापोमा घुम्नु र समरेखीय उडानमा बत्तिनु आफैँमा पृथक् होलान् तर आखिर सबैसबै घुमेका छन् । वृत्तमा अनि परिवृत्तमा । चालमा अनि निचालमा । तालमा अनि खालमा । रहमा अनि बहमा । हाँसोमा अनि आँसुमा । सहवासमा अनि सहवरणमा ।

मानिसको मन सबैभन्दा बढी घुमेको छ । मनलाई घुमाउन ऊ चौचौ गरिरहेको छ । हिजो घुमन्ते हो मानिस र आज पनि घुमन्ते नै हो । फरक हिजो चर्चरी फुटेका पैतालाहरू लिएर लेफ्टराइट गर्दै घुम्ने मानिस आज सपनामा डिजिटल प्रवृत्ति रम्य्राएर घुमिरहेको छ । फरक चाहिँ हुँदो रहेछ– वृत्तीय घुमाइ र समरेखीय घुमाइ । वृत्तमा कहीँ नपुगिने तर घुम्न छाड्नु नहुने । नमिल्ने । रेखामा समय जहिल्यै अघि भइदिने । गन्तव्य अघिअघि सर्दै जाने । कस्तूरी भाँतीमा पनि दौडेको दौडै गर्नु पर्ने । भेटाउनका लागि अनि देखाउनका लागि ।

हिजो अभाव दौडियो । अविकास दौडियो । सुस्तता दौडियो । आज प्राप्ति दौडेको छ । विकास दौडेको छ । गतिमयता दौडेको छ । होला अलिकति सामलझैँ साथमा अहम् पनि । सन्तानका इच्छा र अभिभावकका सपनाहरू पनि साथसाथै दौडेका होलान् । फरक के मानेमा छ भने हिजो थोरैका लागि दौडेको दौडेई गर्ने मानिस आज धेरैका लागि दौडेको दौडेई छ । दौडिन त दौडेकै छ । सकी–नसकी । लुखुरलुखुर ।

वाचाल छैन । स्थिर छैन । प्रगतिविनाका गति छन् । गतिहीन प्रगति पनि छन् । वाचाल र स्थिरता भनेकै जडसूत्र हुन् । जडताले यात्रालाई अवरोध गर्छ । मनको यात्रा होस् या तनको । यात्रा अविचल र अपरिमित हुनुपर्छ । सन्धानका व्योमहरू छरपष्ट छन्, टटोलेर तिनलाई अग्रगामी यात्रा जो पस्कनु पर्छ । देखाउनु पर्छ– सफलताका मिसिलहरू अभिभावक भाँतीमा उभिएका अगुवाहरूले । अनि पो पछौटेहरूमा पउल उदाहरण बन्न सकिन्छ । समाज यस्तै भन्थ्यो हिजो पनि र भनिरहेछ– आज पनि ।

जीवन भनेको रिले दौड त रहेछ नि । सबैसबै कुद्ने । कुदिरहने । विगत् कुद्यो । त्यसपछि वर्तमान कुद्दै छ । भोलि आगत् पनि त्यसैगरी कुद्ने नै छ । आफ्नो भागको कुद्ने अनि पछि फर्केर रिलेको लौरो समात्न दिने । फरक रहेछ हिजोका धावक र आजका धावकबीच । हिजो हिजोका बीच कुदिन्थ्यो भने आज आजका माझमा कुदिन्छ । समवयी, समवयश्की र समवैचारी बीच कुद्दा जति मिष्ट अनुभूति हुन्छ त्यो वैपरीत्यका बीच हुन्न । हुँदो रहेनछ । जागिर, पढाइ, बढुवा, यात्रा, प्राप्ति यी सबैसबै दौडकै सोदाहरण हुन् । मात्र कोसँग दौडिएको छ भन्ने कुरा मात्र हो ।

शक्तिशाली र शक्तिहीनहरूका बीच दौड प्रतियोगिता कवै हुन्न । शक्तिशाली शक्तिशालीका बीच हुने दौड हेर्नलायक हुन्छ । शक्तिहीन शक्तिहीनहरूका बीच पनि दौड खोज्नलायक हुन्छ । मात्र अन्तर्चक्षुले पर्गेल्न सक्नुपर्छ । राग, वितराग र वैरागका बीच पनि दौड सूक्ष्म रूपले भइरहेका हुन्छन् । जल, स्थल र नभमा पनि दौडका काया अनन्त छन् । चराचर जगत् नै दौडको मैदान हो ।

आज मानिस चरा नियतिमा रमे, रमाएका छन् । जन्मायो, पढायो, बढायो अनि समक्ष बनाएपछि गुँडबाहिर धकेलिदियो । चराले फुलमै आफ्नो भविष्यको सन्तानलाई सबैसबै जीवनादि रहस्यका फाँकीहरू सिकाउँछ रे ! तर मानिस जन्मेपछि अनेकानेक गोरखधन्दीय एकाङ्कीहरू मञ्चन गर्दै दौडन्छन् ।

आज मानिस चरा नियतिमा रमे, रमाएका छन् । जन्मायो, पढायो, बढायो अनि समक्ष बनाएपछि गुँडबाहिर धकेलिदियो । चराले फुलमै आफ्नो भविष्यको सन्तानलाई सबैसबै जीवनादि रहस्यका फाँकीहरू सिकाउँछ रे ! तर मानिस जन्मेपछि अनेकानेक गोरखधन्दीय एकाङ्कीहरू मञ्चन गर्दै दौडन्छन् । भाव, अभाव र प्रभावमा सबैसबै दौडन्छन् । दौडेका छन् । अनि दौडेका अभिनय गर्दछन् ।

सन्तान भाँतीमा आफूखुसी हुनु पर्ने सुदी र बदी आएका छन् । अयनहरू फेरिएका छन् । मसान्त र सङ्क्रान्तिहरू आलोपालो गर्दै छन् । कृष्णपक्ष र शुक्लपक्षले समयको च्याम्पटी घुमाएका छन् । मानौ सबै समयका यमानका रालाहरू हुन् । जसले अनन्त स्वर र व्यञ्जनमा अविश्रान्त नादहरू पस्कन्छन् । कसैले, कुनै अदृश्य शक्तिले पूरापूर घुमाइरहेको छ– सूत्र र सूत्राधार व्यशनमा हामीलाई । नायक र खलनायक भाँतीमा । मुख्य, सहायक र गौणपात्र– भान्तेमा । व्यक्ति र वर्गपात्र– अभिनयमा । सर्वहारा र शोषक वृत्तिमा । प्रवृत्तिमा । आवृत्तिमा । परावृत्तिमा । औ पुनरावृत्तिमा ।

पुरानाहरूले नयाँहरूलाई पथ फराकिलो पार्दै छोडिदिनु पर्ने भएको छ । सायद् छोरी नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै विदेश बत्तिएकी होलिन् ? यो प्रश्न मैले बिदाइमा सोध्न उपयुक्त देखिनँ । अहिले म्यासेन्जर र भाइबरमा समेत सोध्ने आँट गर्न सकेको छैन । किन–किन त्यो पनि मलाई थाहा छैन ? कहिले थाहा हुन्छ यो आदि या अनादि गूढ रहस्य ? त्यो पनि थाहा छैन ! मानौँ प्रश्न छ– उत्तर छैन । उत्तर छ तर प्रश्न छैन ।

फगत् यो गीताज्ञान चाहिँ भएको छ– आममानिसमा झैँ । म पनि ‘रित्ता गुँड र चरा नियति’मा बाँच्ने अभिनय गर्न थाल्दै पो छु कि ? रहर या कहरले ? त्यो पनि थाह छैन ।

[email protected]

jackson ribon