birat ribon

रिटिङ–रिटिङ विनायोलाई विराटश्री सम्मान

Neuro
रिटिङ–रिटिङ विनायोलाई विराटश्री सम्मान

विराटनगर / रिटिङ–रिटिङ नबजाऊ बिनायो गाएर नेपाली लोकभाकालाई दुनियाँमा चिनाउने लोकगीत सम्राट एलपी जोशीलाई विराटश्री सम्मान अर्पण गरिएको छ । विराटश्री मिडिया नेटवर्क प्रालि विराटनगरको १५ वार्षिक–उत्सवका अवसरमा शुक्रबार आयोजित विशेष समारोहमा लोकगायक जोशीलाई सम्मान अर्पण गरिएको हो ।

८५ वर्षको उमेरमा पनि विभिन्न भाषाभाषीसहितका नेपाली लोकगीत सङ्कलन तथा गायनमा युवा जोसका साथ सक्रिय जोशीलाई आयोजकका तर्फबाट पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति यादवराज कोइरालाले दोसल्ला ओढाएर विराटश्री सम्मान अर्पण गरेका थिए ।

cura insider

कार्यक्रममा आरोहण गुरुकुलका अध्यक्ष तथा अग्रज रङ्गकर्मी भैरव क्षेत्रीलाई विराट कला सम्मान अर्पण गरिएको थियो । कार्यक्रममा उपकुलपति कोइरालासहित सर्जकहरू विवश पोखरेल, धनकुटे कान्छा, टेकबहादुर तामाङ, दिङ्लाली कान्छो, पत्रकारहरू यज्ञ शर्मा, चन्द्र न्यौपानेलगायतले अग्रज स्रष्टाहरूलाई सम्मान गरेर आयोजक संस्था आफू पनि सम्मानित भएको धारणा राखेका थिए ।

बी एफएम रेडियो सञ्चालक संस्था विराटश्री मिडियाका अध्यक्ष सन्देश दास श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कविहरू भरत गुरागाई बर्बरिक, बासु न्यौपाने, राधिका गुरागाई, निशा क्षेत्रीलगायतले अप्रतियोगी रचना सुनाएका थिए ।

लोकगीत सम्राट जोशीले विभिन्न चर्चित लोकगीतहरू गाएर उपस्थितहरूलाई मन्त्रमुग्ध बनाएका थिए । दर्शक–स्रोताले पनि ताली र हुटिङसहित जोशीलाई थप जोस्याएका थिए ।

गजलमा कञ्चन प्रथम

बी एफएमले स्थापना दिवसका दिन पत्रकार तथा कवि मीनकुमार नवोदितको संयोजनमा सात वर्षयता नियमित राष्ट्रव्यापी खुला गजल प्रतियोगिता गर्दै आएको छ । प्रतियोगिताको सातौँ संस्करणको उपाधि खोटाङका गजलगो केशव भण्डारी कञ्चनले जितेका छन् ।

प्रतियोगिताका लागि विभिन्न जिल्लाबाट प्राप्त सयभन्दा बढी गजलहरूमध्ये अन्तिम प्रतिस्पर्धाका लागि २९ वटा छानिएका थिए । छानिएका गजलकारमध्ये खोटाङका केशव भण्डारी ‘कञ्चन’ प्रथम, मोरङका नेत्र खतिवडा द्वितीय तथा सुनसरीका प्रमोदकुमार मण्डल र मोरङकी अजिता प्रधान संयुक्त रूपमा तृतीय भएका थिए ।

प्रतिस्पर्धामा सिन्धुपाल्चोककी रश्मि भट्टराई, भोजपुर प्रखर बोयाली, तेह्रथुमकी लक्ष्मी आचार्य सिमरन, झापाका श्यामकुमार श्रेष्ठ, सिन्धुलीका लक्ष्मी श्रेष्ठ सहभागी थिए । मोरङका गजलकारहरू मीना श्रेष्ठ सवि, अञ्जु अश्रु, छि छाङ्छा शिव, अम्बिका खरेल उप्रेती, लक्ष्मी स्मृति, लक्ष्मी रायमाझी, भवानीप्रसाद पोखरेल, हिमांशु राय, नवीन भट्टराईले पनि प्रतियोगी गजल सुनाएका थिए ।

jackson ribon