birat ribon

एक आमाको अन्तिम इच्छा पूरा गर्दै प्रमोद खरेल

Neuro
एक आमाको अन्तिम इच्छा पूरा गर्दै प्रमोद खरेल

विराटनगर / झापाको भद्रपुर नगरपालिका–२ पृथ्वीनगर सोमबारेकी इन्दिरा पौडेलको बिहीबार बेलुका निधन भयो । ५७ वर्षीय इन्दिराको क्यान्सरका कारण आफ्नै घरमा निधन भएको हो ।

निधन हुुनुभन्दा तीन महिनाअघि इन्दिराले छोरा उमेशलाई आफ्नो अन्तिम इच्छा सुनाएकी थिइन् । उनले आफ्नो गीत गायक प्रमोद खरेलको आवाजमा रेकर्ड गराउने इच्छा रहेको छोरालाई बताइन् ।

cura insider

कलाकारिता क्षेत्रमा सङ्घर्षरत उमेशले यो कुरा प्रमोद खरेललाई सुनाउने आँट गरेनन् । तर आमाको अन्तिम अवस्थामा भने उमेश प्रमोदसमक्ष आफ्नी आमाको अन्तिम इच्छा सुनाउन बाध्य भए । उनले बुधबार गायक खरेललाई फोनमार्फत आमा अन्तिम अवस्थामा भएका कारण आमाको अन्तिम इच्छाबारे सुनाए ।

‘मेरी आमाले तीन महिनाअघिबाटै अन्तिम इच्छास्वरूप तपाईंको स्वरमा एउटा गीत रेकर्ड गराउन भन्नुभएको थियो,’ उमेशले प्रमोदलाई फोनमा सुनाए, ‘तर, मैले तपाईंलाई भन्ने आँट गरिनँ । तर, अहिले आमा अन्तिम अवस्थामा हुनुहुन्छ । देहत्याग गर्नुअघि रेकर्ड होस् भन्दै हुनुहुन्छ । त्यो गीत रेकर्ड भएर एकचोटी भए पनि सुन्न पाउँ भन्दै हुनुहुन्छ ।’

छोरा उमेशका अनुसार इन्दिरा पहिलेदेखि नै गीत–कविता सिर्जना गर्थिन् । र, उनलाई आफ्नो गीत चर्चित गायकको स्वरमा रेकर्ड होस् भन्ने चाहना थियो ।

आफूले कल्पना नै नगरेको प्रस्ताव सुनेपछि स्तब्ध भएका प्रमोदले शुक्रबार गीत रेकर्ड गराउने निधो गरे । प्रमोदले गीत रेकर्ड गरिदिने सुनेपछि इन्दिरा खुसी भएकी थिइन् । तर उनले प्रमोदको आवाजमा रहने उक्त गीत भने सुन्न पाइनन् ।

बिहीबार साढे आठ बजे उनले संसार छोडिन् । ‘उमेशको प्रस्तावले स्तब्ध भएँ । बिहीबार दिनभरि द भ्वाइस अफ नेपालको सुटिङका कारण भ्याइनँ । साउन्ड डिजाइन स्टुडियोसँग डेट लिएँ । उसले पनि अवस्था बुझेर समय दियो । उमेशबाट ट्र्याक पाएँ । तर गीत रेकर्ड गरौँला भन्दाभन्दै दुर्भाग्यवश आमा स्वर्गारोहण हुनुभएछ,’ प्रमोदले भने ।

‘आमाले गीत सुन्न त पाउनु भएन तर गीत रेकर्ड हुँदै छ भनेर सुन्नुभयो र आमा जानुभयो । जसरी नि रेकर्ड गरिदिनुहोला,’ उमेशको भनाइ उद्धृत गर्दै प्रमोदले भने, ‘तोकिएकै समयमा म गीत रेकर्ड गरेर उनलाई पठाइदिनेछु ।’

jackson ribon