birat ribon

सन्सक्रिनले क्यान्सर हुनबाट छालालाई जोगाउँछ

Neuro
सन्सक्रिनले क्यान्सर हुनबाट छालालाई जोगाउँछ

विराटनगर / जाडोको महिना विस्तारै हराउँदै घाम लाग्ने मौसम सुरु हुँदै छ । गर्मी मौसम नजिकिएसँगै कतिपयलाई अहिलेदेखि नै घामबाट छाला कसरी जोगाउने भन्ने चिन्तासमेत लाग्न थालिसकेको छ ।

घाममा केही सयम मात्र हिँड्दा अनुहार रातो हुने, कालो हुने, छाला डढ्ने, छालाको समस्या थप गम्भीर हुनेलगायतका गुनासो धेरैबाट सुनिने गरेको पाइन्छ । यति मात्र नभएर घामले मानिसको छालामा विभिन्न प्रकारको एलर्जीसमेत गराउन सक्छ ।

cura insider

जुनसुकै मौसमले पनि छालालाई प्रभावित गरिरहेको हुने भए पनि गर्मी मौसम वा घामले छाला सुक्खा हुने, डढ्ने, अनुहार रातो वा कालो हुने तथा छालाको उमेरलाई चाँडै बढाउने (फोटो एजिङ्ग) जस्ता समस्या तत्कालै देखिने घामको सबैभन्दा नराम्रो प्रभाव हो । केही मानिसलाई घामसँग नै एलर्जी हुने हुनसक्छ । त्यस्ता मानिस जहिले पनि घामबाट जोगिनुपर्ने हुन्छ ।

घामले शरीरको उमेरभन्दा छालाको उमेरलाई चाँडै बढाउने हँुदा घामले उमेरसँग सम्बन्धित छालामा गम्भीर समस्या निम्त्याउन सक्छ । घामले छालालाई चाँडै चाउरी पार्ने, चाँडै पिग्मेन्टेसन हुने (छालाको रङ् परिवर्तन हुने), दाग, दीर्घकालीन रूपमा चाया पोतो आउने (विशेषगरी महिलामा), डन्डिफोर आउने वा पहिलेदेखि छालामा भएको समस्यालाई थप बढाउने वा बिगार्ने गर्नसक्छ ।
जसले गर्दा छाला नराम्रोसँग प्रभावित हुने र नराम्रो समेत देखिने गर्छ ।

घाममा पाइने अल्ट्राभायोलेट ‘ए’ र ‘बी’ (युभी) किरणले गर्दा छालामा असर गरिरहेको हुन्छ । घामसँग सम्बन्धित छालाका रोगहरू धेरै छन् । स्किन क्यान्सर यसको सबभन्दा ठूलो असर हो । घाममा धरै हिँड्दा अधिक मात्रामा छालामा असर गर्ने हुँदा घाममा हिँड्दा विशेष सावधानी अपनाउनु पर्छ ।

छालाको सुरक्षाका लागि सन्सक्रिनका साथै सन ग्लास, मास्क, फुल स्लिभ भएको लुगा र घामबाट जोगिन बाहिर निस्किँदा छाता र सलको प्रयोग गर्न सकिन्छ । धेरैले घामबाट अनुहारलाई जोगाउन सन्सक्रिम वा सनब्लक क्रिमको प्रयोग गर्ने गर्छन् । तर, समाजमा सन्सक्रिनको प्रयोग गरेमा क्यान्सर हुने वा अन्य छालाका समस्या हुने भ्रम छ । यस भ्रममा कुनै पनि प्रकारको सत्यता छैन ।

यसको विपरित सन्सक्रिन प्रयोग नगरेका कारण भने घामको हानिकारक किरणले गर्दा छालामा समस्या वा क्यान्सरको समस्या निम्त्याउने हुन्छ । सूर्यको हानिकारक किरणबाट बच्न वा क्यान्सरवाट जोगिनका लागि सन्सक्रिम लगाउनुपर्ने हुन्छ । गोरो छालामा मेलेनिन नामक पिग्मेन्टको मात्रा कम हुनेहुँदा अन्यको तुलनामा छालाको क्यान्सर वा अन्य छालाका समस्या हुने जोखिम धेरै हुन्छ ।

सन्सक्रिनले छालामा क्यान्सर गराउने नभएर क्यान्सर हुनबाट छालालाई जोगाउँछ । सूर्यबाट निस्किने अल्ट्राभायोलेट किरणले छालामा हुने मेलेनिन बनाउने सेललाई नोक्सान पुर्‍याउँछ । सूर्यबाट युभिए र युभिबी नामक दुई प्रकारका अल्ट्राभायलेट किरण धर्तीसम्म पुग्छन् । जसकारण युभिए र युभिबी दुवैलाई रोक्ने ब्रोड स्पेक्ट्रम भएको सनस्किनको प्रयोग गर्नुपर्छ ।

युभिबीलाई सन प्रोटेक्सन फ्याक्टर (एसपिएफ)ले रोक्न सक्छ । जुन एसपिएफ १५ वा सोभन्दा धेरै ३० वा ५० भएको सनस्किनको प्रयोग गर्नुपर्छ । साथै, युभी किरणबाट बच्नका लागि पिए २ प्लस, ३ प्लस, ४ प्लस भएको सनस्किनको प्रयोग गर्न सकिन्छ । आजकल इन्फ्रारेड रेडिएसनबाट पनि जोगाउने सन्सक्रिन बजारमा पाइन्छ । सन्सक्रिनको प्रयोग गरेपछि यसको रिपिटेसन गर्न (पटक पटक प्रयोग गर्न) पनि एकदम जरुरी हुन्छ । धेरैले विहान एकपटक लगाएको सन्सक्रिन दिनभरका लागि पुग्ने र छाला सुरक्षित भइरहने विश्वास गर्छन् । तर, सन्सक्रिन लगाउने पनि एक तरिका हुन्छ, जसलाई जान्नु एकदम जरुरी छ ।

प्रायः घरबाट निस्कनै लाग्दा मानिस सनस्क्रिन लगाउने गर्छन् । तर, घरबाहिर निस्किनुभन्दा ३० मिनेटपहिले नै सनस्क्रिन लगाउनुपर्छ । दुई–तीन घण्टा घरबाहिर भएपछि फेरि सनस्क्रिन लगाउनुपर्छ । विहान ८ बजे, ११ र दिउँसो २ बजे गरेर तीनपटक सन्सक्रिन लगाउन सुझाइन्छ । तर, दिनमा तीन पटकसम्म नलगाए पनि कम्तीमा दिनको दुईपटक सन्सक्रिन अनिवार्य लगाउनुपर्छ ।

साथै, मानिसहरू घर बस्दा सन्सक्रिन लगाउने गर्दैनन् । जुन गलत हो । सन्सक्रिन बाहिर घाममा जाँदा मात्र नभएर घरमा बस्दासमेत दिनको दुई पटकसम्म प्रयोग गर्नुपर्छ । बजारमा विभिन्न सनब्लक क्रिमहरू पाइन्छन् । विभिन्न कम्पनीका एसपिएफ क्षमता भएका यस्ता क्रिमले छालालाई डढ्नबाट धेरै हदसम्म जोगाउने हुन्छ । तर, छालालाई उपयुक्त नहुने सन्सक्रिनले थप समस्या पैदा गर्न सक्ने हुँदा आफ्नो छालाको प्रकारको बारेमा बुझेर छाला रोग विशेषज्ञसँग परामर्श लिएर सन्सक्रिनको प्रयोग गर्नुपर्ने हुन्छ ।

jackson ribon