birat ribon

पेट्रोलिय पदार्थको मूल्यवृद्धिमा ह्याट्रिक, यातायात व्यवसायी मर्कामा

Neuro
पेट्रोलिय पदार्थको मूल्यवृद्धिमा ह्याट्रिक, यातायात व्यवसायी मर्कामा

मोहन ढकाल
विराटनगर / पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा एक महिनामै ह्याट्रिक भएको छ । पहिला यस विषयमा आवाज उठाउने राजनीतिक दलका भ्रातृ सङ्गठन पनि पछिल्लो समय मौन छन् ।

एक महिनामा तीन पटक मूल्यवृद्धि भएपछि यातायात व्यवसायीलगायत सर्वसाधारण मर्कामा परेका छन् । महिनामा तीन पटक मूल्यवृद्धि भए पनि पुरानै भाडा कायम भएका कारण दैनिक आर्थिक भार थपिँदै गएको यातायात व्यवसायीको भनाइ छ ।

cura insider

पटक–पटक मूल्यवृद्धिले यातायात व्यवसायी मर्कामा परेको सुनौलो पूर्व नेपाल यातायात सेवा प्रालिका कोषाध्यक्ष राजु धमलाले बताए । कोरोनाका कारण लामो समय घाटा बेहोर्न बाध्य भएको बताउँदै धमलाले भने, ‘यातायात सञ्चालन भएपछि पनि पेट्रोलियम पदार्थमा पटक–पटक भएको मूल्यवृद्धिले थप समस्या भएको छ ।’कोरोनाका कारण लामो समय घाटा बेहोर्दा पनि सरकारले राहत स्वरुप केही नगरेको उनले बताए ।

पछिल्लो समय केही सहज हुँदै गर्दा पेट्रोलियम पदार्थमा मूल्य बढाएर समस्यामा पारेको उनले बताए । देशको राजनीतिक माहोलका कारण यस विषयमा कसैले ध्यान नदिएको उनको भनाइ छ । सबै आफ्नो स्वार्थमा लिप्त रहेका कारण अत्यधिक मूल्यवृद्धि हुँदा पनि कुनै सङ्गठनले वास्ता नगरेको उनको भनाइ छ ।

विराटनगरमा अटो चलाउँदै आएका धनेश्वर साह पनि मूल्यवृद्धिका कारण समस्या भएको बताउँछन् । ‘भाडा बढी लिन पाइँदैन, अहिले चलेको भाडा त दिन मान्दैनन्, लगातारको मूल्यवृद्धिले धेरै समस्या भएको छ,’ उनले भने । यसमा सम्बन्धित पक्षले विचार गर्नुपर्ने उनको भनाइ छ ।
यात्रु पनि कम हुने र पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण दैनिक घाटामा जाने अवस्था आएको गाडी चालक प्रेमबहादुर पराजुलीले बताए । पहिलेको तुलनामा पछिल्लो समय डिजेलमा नै चार/पाँच सय बढी खर्च हुने गरेको पराजुलीको भनाइ छ । यात्रुले अहिले तोकिएको भाडा पनि पूरा दिन नमान्ने अवस्थामा बारम्बार यसरी मूल्यवृद्धि गर्नु गलत भएको उनको भनाइ छ । यसरी बारम्बार पेट्रोलिय पदार्थको मूल्यवृद्धि हुन्छ भने भाडा पनि वृद्धि हुनुपर्ने उनको माग छ ।

दैनिक पाँच सय घाटा बहोर्न बाध्य भएको अर्का सवारी चालक महेश ढकालले बताए । महिनामै पटक–पटक मूल्यवृद्धि गरेर सरकारले यातायात व्यवसायीलाई थप मर्कामा पारेको उनको टिप्पणी छ । कोरोनाका कारण लामो समय समस्यामा परेका व्यवसायीलाई सरकारले सहज वातावरण बनाउनुपर्नेमा थप समस्यामा पार्दै गएको उनको भनाइ छ ।

नेपाल आयल निगमले माघ ६ गते पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ मूल्य बढाएको थियो । त्यसपश्चात निगमले पुनः माघ २८ गते पेट्रोलियम पदार्थको मूल्यमा दुई÷दुई रुपैयाँ बढाएको थियो । निगमले हप्ता दिनमा पुनः मङ्गलबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएर एक सय १४ रुपैयाँ कायम गरेको छ ।

मूल्यवृद्धि भएपछि डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाइ इन्धनको ६७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

jackson ribon