birat ribon

थाहै नदिई विचित्रको बेदखली

Neuro
थाहै नदिई विचित्रको बेदखली

पत्रकारहरूको २६औँ महाधिवेशन भएको थाहा पाउनुभयो ? मर्निङ वाकका क्रममा भेटिएका एक जना छिमेकी शुभेच्छुक मित्रले सोध्दा कन्टिर–बाबू झसङ्ग भए ।

ती छिमेकीका अनुसार फागुन ५ गते काठमाडौँमा ‘प्रेस स्वतन्त्रताको आधार, सुरक्षित र व्यावसायिक पत्रकार’ भन्ने नाराका साथ नेपाल पत्रकार महासङ्घको महाधिवेशन सकिएछ तर कन्टिर–बाबूलाई थाहै भएन ।

cura insider

अनि अध्यक्षचाहिँ को भएछ त ? महाधिवेशन भनिसकेपछि चुनावको रामरमिता पनि सँगसँगै देखेका कन्टिर–बाबूले सोध्दा ती छिमेकीले पत्रकारहरूको चुनाव त ‘मुल्तबीे’ राखिएकोे जानकारी दिए । उनले अहिले अधिवेशनमात्रै गरेको रे, चुनावचाहिँ पछि गर्ने रे भनेर पनि सुनाए ।

त्यस बेलादेखि अहिलेसम्म कन्टिर–बाबू चस्माको बिट मिलाउँदै सोचिरहेछन्– यस्तो पनि हुन्छ ? चुनाव गर्ने कहिले–कहिले, अधिवेशन गर्ने अहिले ? यो अधिवेशन हो कि साधारणसभा ? यदि यो अधिवेशन हो भने साधारणसभाजस्तो किन गरियो ? यदि यो साधारणसभा हो भने अधिवेशन किन भनियो ?

कन्टिर–बाबूको जानकारीमा रहेअनुसार जिल्ला–जिल्लाको अधिवेशन भएर महासङ्घको नयाँ जनमत त आउनै बाँकी छ । यस्तोमा शाखामा फ्रेस नेतृत्व नआई अर्थात् ताजा जनमत अद्यावधिक नगरी केन्द्रीय अधिवेशन गर्ने सोच पत्रकारहरूमा कसरी आयो ? कन्टिर–बाबूले त्यो पनि बुझ्न बाँकी छ ।

फेरि कन्टिर–बाबूले नजिकबाट चिनेका दुई–चार जना केन्द्रीय पार्षद् छन् । पेट्रोलको भाउ इतिहासमै पहिलोपल्ट महिनामा तीनचोटि बढेर बजार हरियाली भएका बेला हामीलाई भने रातो घेरा लगाइदिए, हाम्रो त भाउ ह्वात्तै घटाइदिए भनेर वर्तमान नेतृत्वप्रति व्यापक गुनासो गरे तिनले ।

गुनासो गर्ने पार्षद्का अनुसार अधिवेशन घोषणा भएपछि कम्तीमा एक महिनाअघिदेखि नै पार्षद्हरूको डाक बढाबढ सुरु हुन्थ्यो । नमस्कार, जी–हजुर त कति हो कति ! अधिवेशन हुनु एकदिनअघि रात्रिकालीन भेटघाट र रमझमको आनन्द उल्लेख गर्नलायक हुन्थ्यो । सङ्गठन र कर्पोरेट हाउसआबद्धहरूको छ्ट्टाछुट्टै बैठकका नाममा निद्रा हराम भए पनि मजै हुन्थ्यो ।

जिल्लाबाट महाधिवेशस्थल नपुन्जेल र भोट नहालुन्जेल मजै–मजा भएको कन्टिर–बाबूलाई पनि राम्ररी थाहा छ । त्यो मजामा प्रत्येक शाखाका दुई–तीन जना पर्यवेक्षक पनि साथै हुन्थे । तर यसपटक सब गोलमाल भो । केन्द्रीय पार्षद्हरूले त समाचार पढेरमात्र महाधिवेशनबारे थाहा पाए भने विचरा पर्यवेक्षकहरूको के कुरा गर्नु ?

त्यसो त कन्टिर–बाबू आफू अधिवेशनका नाममा हुने फजुल खर्च र तडकभडकका सख्त विरोधी हुन् । तर पनि मित्रहरूले गुनासो गरेको सुन्दा उनलाई लाग्यो– आखिर अनेक–खण्ड गरेर जितेका पार्षद् थिए । पार्षद् भनिसके पछि मानकै खातिर भए पनि एक पटक महासङ्घ नेतृत्वले सोधीखोधी चाहिँ गर्नुपर्ने थियो । कम से कम एउटा मेलसम्म पठाउन त सकिन्थ्यो नै होला !

अब त जिल्ला–जिल्लामै टोकरी राखेर चुनाव हुने रे ! सबै साधारण सदस्यले घरकै खाना खाएर आएर भोट हाल्नुपर्ने रे ! कन्टिर–बाबूलाई लागिरहेको छ– यो पनि एउटा गजबै फरक अनुभव हुने भो पत्रकार महासङ्घको ६६ बर्से इतिहासमा । यसरी इतिहास निर्माणको यो चरणमा त्यसै–त्यसै बेदखलीमा परेका सबै पार्षद्–शुभेच्छुक मित्रहरूलाई कन्टि–बाबूको विशेष सहानुभूति छ ।

jackson ribon