झापा / देशैभरि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा फुटको असर देखिए पनि प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाका उद्योग व्यवसायीमा भने नेकपा फुटको असर देखिएको छैन । नेकपा दुई पक्षमा विभाजित भएर एकअर्काविरुद्ध शक्ति प्रदर्शन र आरोप–प्रत्यारोपमा उत्रिरहेका बेला झापामा उद्योगी व्यवसायीको निर्वाचनमा नेकपा पक्षधर व्यवसायी एकमत भएर चुनावमा होमिएका छन् ।
झापाको विर्तामोड उद्योग वाणिज्य सङ्घ कार्यसमितिको यही फागुन १६ गते हुने निर्वाचनमा दुवै पक्षले साझा उम्मेदवार चयन गरेका छन् । नेकपाका दुवै समूह चुनावमा एकताबद्ध मात्र भएका छैनन्, प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत गठबन्धनमा सामेल गराउन सफल भएका छन् । नेकपाले सुभाष भट्टराईलाई अध्यक्ष पदको साझा उम्मेदवार घोषणा गरेको छ । कार्यसमितिको अन्य पदमा दुवै नेकपा र राप्रपा समर्थक व्यवसायी उम्मेदवार बनेका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहका प्रभावशाली नेता रोमणि भट्टराईले विर्तामोड उद्योग वाणिज्य सङ्घको निर्वाचनमा साझा उम्मेदवारको चयनले नेकपाका तल्लो तहका आमकार्यकर्ता पार्टी एकताको पक्षमा रहेको सन्देश दिएको बताए ।
‘आज नेकपा जुन विभाजित अवस्थाबाट गुज्रिरहेको छ, त्यसमा तलका कार्यकर्ताको कुनै दोष छैन,’ विर्तामोड उद्योग वाणिज्य सङ्घको चुनावमा नेकपाको तर्फबाट गठित निर्वाचन परिचालन समन्वय समितिका संयोजकसमेत रहेका भट्टराईले भने, ‘नेकपाका शुभेच्छुक आम व्यवसायीलाई फुटेर होइन जुटेर जितिन्छ भन्ने लाग्यो, एकता सफल हुनुको मुख्य कारण र यथार्थ पनि यही हो ।’
प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला भएका कारण झापामा नेकपाले जिल्लाको मुख्य व्यापारिक केन्द्र विर्तामोडको व्यावसायिक चुनावमा कायम राखेको एकताले मुलुकभर सकारात्मक सन्देश प्रवाहित गर्ने चर्चा सुरु भएको छ । नेकपाको तर्फबाट अध्यक्षकोे साझा उम्मेदवार चयन भएका युवा व्यवसायी भट्टराई विभाजित नेकपामध्येका कुनै पनि समूहमा खुलेर लागेका छैनन् ।
यसअघि झापाकै कृषि थोक बजार व्यवस्थापन समिति र जिल्ला सहकारी सङ्घको चुनावमा पनि दुवै नेकपा साझा उम्मेदवार चयन गर्न सफल भएका थिए । दुवै संस्थाको चुनावमा नेकपाका तर्फबाट अध्यक्ष पदका उम्मेदवार निर्वाचित भएका छन् । ओली समूहका १ नं प्रदेशका अध्यक्ष देवराज घिमिरे, प्रचण्ड–नेपाल समूहका झापा जिल्ला सचिव एवम् साविक नेकपा माओवादीका जिल्ला सेक्रेटरी विजय साम्पाङलगायतका नेताले आफ्ना समर्थकलाई कुनै पूर्वाग्रह नराखी साझा उम्मेदवारलाई मतदान गर्न आह्वान गरे ।
यसैबीच, नेपाली काङ्ग्रेस समर्थित लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार प्रकाश शिवाकोटीको नेतृत्वमा उम्मेदवार चुनावी मैदानमा उत्रिएको छ । सङ्घको चुनावमा नेकपा–राप्रपा गठबन्धन र काङ्ग्रेस समर्थित उम्मेदवारको प्यानलबीच सोझो टक्कर छ ।
विर्तामोड उद्योग वाणिज्य सङ्घको आसन्न चुनावमा चार हजार पाँच ५० मतदाता रहेका छन् । रासस