birat ribon

शिक्षक श्रेष्ठका हत्या आरोपी हातहतियार मुद्दामा कारागार चलान

Neuro
शिक्षक श्रेष्ठका हत्या आरोपी हातहतियार मुद्दामा कारागार चलान

विराटनगर / प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का मोरङ जिल्ला इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक कारागार चलान भएका छन् । हातहतियार तथा खरखजाना मुद्दामा जिल्ला अदालत मोरङको आदेशपछि विक कारागार चलान भएका हुन् ।

जिल्ला अदालत मोरङकी न्यायाधीश दुर्गा खड्काको इजलासले कारागार चलानको आदेश दिएको छ । विकमाथि शिक्षक श्रेष्ठको हत्यामा संलग्न भएको आरोप पनि छ ।

cura insider

सङ्खुवासभाको मादी नगरपालिका–४ ओखरबोटे घर भएका विकलाई व्यापारीसँग चन्दा लिन जाँदै गरेको अवस्थामा मोरङको बूढीगङ्गा गाउँपालिका–४ बाट गत माघ ७ गते हतियारसहित पक्राउ गरिएको थियो ।

को२४प ४००५ नम्बरको मोटरसाइकलमा सवार विकको साथबाट एउटा सेमी अटोमेटिक पेस्तोल, तीन राउन्ड गोली, म्यागजिन, विभिन्न ब्रान्डका मोबाइलहरू, सिमकार्ड, सवारी चालक अनुमति पत्र बरामद भएको थियो ।

पक्राउ परेका विकमाथि सोधपुछ गर्दा मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्रकुमार श्रेष्ठको अपहरणपछि हत्या गरिएको घटनामा पनि उनको संलग्नता देखिएको प्रहरीको दाबी छ ।

विकविरुद्ध प्रहरीले हातहतियार खरखजाना तथा अपहरणपछि कर्तव्य ज्यानको छुट्टाछुट्टै मुद्दा अदालतमा छ । हातहतियार मुद्दामा पूर्पक्षका लागि थुनामा गएका विकको अपहरण र कर्तव्य ज्यान मुद्दामा आइतबार अदालतमा बयान गराउने तयारी रहेको जिल्ला अदालत मोरङका स्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए ।

जिल्ला सरकारी वकिल कार्यालयले गत आइतबार उनीविरुद्ध हातहतियार खरखजाना मुद्दा अदालतमा दर्ता गरेको थियो । थुनछेक बहस सकिएपछि उनलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश इजलासबाट आएको जिल्ला अदालत मोरङका स्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए ।

अघिल्लो दिन थुनामा पुगेका विकविरुद्ध शिक्षक श्रेष्ठको हत्यामा संलग्न रहेको भन्दै गत सोमबार अपहरण तथा कर्तव्य ज्यान मुद्दा पनि अदालतमा दर्ता भएको छ । हातहतियार खरखरजाना मुद्दामा उनी एक्लैलाई प्रतिवादी बनाइएको भए पनि अपहरण तथा कर्तव्य ज्यान मुद्दामा भने विकसहित ‘विप्लव’ समूहका महासचिव नेत्रविक्रम चन्द, पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’समेत गरेर ३५ जनाविरुद्ध दर्ता भएको छ ।

सुराकीको आरोप लगाउँदै घरबाटै नियन्त्रणमा लिएर अपहरणपछि ‘विप्लव’ समूहले शिक्षक श्रेष्ठको गत मंसिर २३ गते हत्या गरेको हो । मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५३ वर्षीय श्रेष्ठको घाँटी रेटेर विभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । घटना भएकै दिन ‘विप्लव’ समूहका मेची–कोसी ब्युरो इन्चार्ज प्रतापले विज्ञप्ति जारी गरेर हत्याको जिम्मा लिएका थिए ।

शिक्षक हत्यामा संलग्न भएको आरोपमा मोरङ केराबारी गाउँपालिका–६ का ४५ वर्षीय प्रताप भनिने थमनसिंह राईलाई मुद्दामा प्रतिवादी बनाइएको छ । मुद्दाका अभियुक्तमध्ये विक मात्रै पक्राउ परेका छन् । हत्याको जिम्मा लिने प्रताप, ‘विप्लव’ समूहका महासचिव चन्द, प्रवक्ता विश्वकर्मालगायत सबै फरार छन् । प्रहरीले घटनाको अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले हत्या घटनामा पक्राउ परेका एक र फरार रहेका ३४ सहित ३५ जनालाई अभियुक्त बनाएर अदालतमा मुद्दा दर्ता गरेको हो ।

को–को छन् फरार ?

अपहरण तथा कर्तव्य ज्यान मुद्दाका प्रतिवादीमध्ये कपिलवस्तु शिवराज नगरपालिका–९ का ५३ वर्षीय नेत्रविक्रम चन्द विप्लव, कालिकोट नरहरिनाथ गाउँपालिका–६ का ५२ वर्षीय खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, रोल्पा थवाङ गाउँपालिका–१ का ५२ वर्षीय विशम भनिने सन्तोष बुढामगर, जाजरकोटका ४२ वर्षीय दीपक चलाउने, सङ्खुवासभाको मादी नगरपालिका–४ का ३५ वर्षीय धनबहादुर विक, मोरङ केराबारी गाउँपालिका–६ का ४५ वर्षीय प्रताप भनिने थमनसिंह राई, खोटाङ साकेला गाउँपालिका–१ का ४१ वर्षीय शैलेस भनिने चन्द्रबहादुर बुढाथोकी, झापा गौरीगञ्ज–१ का २६ वर्षीय सञ्जय राई छन् ।

त्यसैगरी, भोजपुर षडानन्द नगरपालिका–२ का ४६ वर्षीय विवश भनिने पुष्पलाल चौलागाई, धनकुटा सहिदभूमि गाउँपालिका–१ का ३३ वर्षीय दर्शन भनिने नवीन राई, धनकुटा पाख्रिबास नगरपालिका–२ का २६ वर्षीय दर्शन थापा भनिने विशाल मगर, काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका– ५ का ५४ वर्षीय आकाश भनिने माधव गौतम, सङ्खुवासभा चैनपुर–४ मैदानेका ३० वर्षीय उत्तरकुमार राई भनिने युवराज राई, भोजपुर ट्याम्केमयुङ–७ का ४१ वर्षीय भीम भनिने कुमार राई फरार छन् ।

खोटाङ दिप्रुङचुइचुम्मा गाउँपालिका–७ का ४३ वर्षीय सञ्जीव मगर, सोलुखुम्बु महाकुलुङ– १ गाईखर्कका ३६ वर्षीय ङवाङनुरु भन्ने पेम्बा शेर्पा, ओखलढुङ्गा लिखु–७ का ३१ वर्षीय अमृत सागर भनिने योगेन्द्र बस्नेत, गोर्खाको अजिरकोट गाउँपालिका–३ का ४१ वर्षीय शिलु भनिने उमा भुजेल, झापा दमक–२ का ३० वर्षीय सुमनसिंह पौडेल, सोलुखुम्बु सोताङ–१ का ३५ वर्षीय बालकुमार राई भनिने राकेश राई, भोजपुर रामप्रसाद राई गाउँपालिका–४ दलगाउँका २५ वर्षीय चाम्स भनिने मिलन राई, सङ्खुवासभा चैनपुर–४ मैदानेका २२ वर्षीय नाति भनिने बासन राई, ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–४ का २२ वर्षीय अखिल भनिने मनोज भुजेल, ताप्लेजुङ मिक्वाखोला–१ का २३ वर्षीय लुङ्गा भनिने सुदम लुङखिम्बा (लिम्बू) पनि फरार छन् ।

भोजपुरको पौवादुङ्मा गाउँपालिका–३ का २६ वर्षीय उमेश खत्री अधिकारी, ताप्लेजुङ मिक्वाखोला–५ का २९ वर्षीय सङ्ग्राम भनिने पूर्णबहादुर लिम्बू, धनकुटाका २४ वर्षीय आशिष भनिने विक्रम राई, मोरङ मिक्लाजुङ–१ का २२ वर्षीय बिर्जुम भनिने श्रीमान राई, ताप्लेजुङ मिक्वाखोला–१ का २५ वर्षीय विशाल लुङखिम्बा लिम्बू, ताप्लेजुङ फाक्ताङलुङ गाउँपालिका–२ का २५ वर्षीय सङ्गम आङदम्बे, भोजपुर पौवादुङमा–४ का २४ वर्षीय अनुस्का राई, ताप्लेजुङका २५ वर्षीय हेतु साउदेन लिम्बू, इलाम देउमाई नगरपालिका–७ का ३६ वर्षीय मौसम भनिने जितमान राई, ४५ वर्षीय अविनाश भनिने डम्बर मगर र मिक्लाजुङ–८ का ४५ वर्षीय महावीर भनिने जितेन्द्र महरालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

jackson ribon