birat ribon

६ लेन सडक जीर्ण बन्दै : सम्बन्धित पक्ष एकर्कालाई दोष देखाउँदै

Neuro
६ लेन सडक जीर्ण बन्दै : सम्बन्धित पक्ष एकर्कालाई दोष देखाउँदै

मोहन ढकाल, विराटनगर / कोसी राजमार्गअन्तर्गतको ६ लेन सडक निर्माणमा चरम लापरवाही भइरहेको छ । विराटनगका विभिन्न ठाउँमा सडक निर्माण कार्य सम्पन्न नहुँदै अलपत्र छाडिएको छ ।

लामो समयदेखि निर्माण थालिएको सडक ठाउँठाउँमा अलपत्र छाड्नाले निर्माण सम्पन्न नहुँदै जीर्ण बन्दै गएको छ । जसका कारण ६ लेन सडक परियोजना, ठेकेदार कम्पनी र खानेपानी संस्थानकोे गैरजिम्मेवारीका कारण सडकको दिगोपनमै प्रश्न उठ्न थालेको छ ।

cura insider

परियोजना, ठेकेदार कम्पनी र खानेपानी संस्थानबीच दोषारोपण हुँदा सर्वसाधारण भने दुःख भोग्न बाध्य छन् । बीच सडकबाट पानी निक्लिएको लामो समय हुँदासमेत खानेपानी संस्थान र परियोजनाबीच प्रभावकारी समन्वय हुन नसक्दा मर्मतमा ढिलाइ हुने गरेको छ ।

विराटनगरको हाम्रो अस्पताल, बरगाछीलगायतका स्थानमा बीच सडकबाट पानी निक्लिरहेको लामो समयसम्म मर्मतमा सम्बन्धित पक्षको ध्यान जान सकेन । हाम्रो अस्पतालअगाडि पानी निक्लिएको ठाउँमा लामो समयपछि बालुवा र गिट्टी लगाएर छाडिएको थियो । तर केही दिननबित्दै त्यसकै लगभग ५० मिटर अगाडि अर्को ठाउँबाट पनि पानी निक्लिन थाल्यो । त्यहाँ पनि सम्बन्धित पक्षको ध्यान समयमा जान सकेन । लामो समयपछि त्यहाँ पनि अघिल्लो ठाउँको जस्तै बालुवा र गिट्टी लगाएर पुरिएको छ । जसका कारण सवारी आवतजावतमा समस्या त भएकै छ । त्यसमाथि वरिपरि गिट्टी छरिएर दुर्घटनाको जोखिम बढाउनका साथै सडक थप जीर्ण बन्दै गइरहेको छ ।

यस्तै बरगाछीको बीच भागमा नै सडक अलपत्र अवस्थामा छ । वरिपरिका सहायक बाटोसमेत निर्माण सकिएको अवस्था छ । तर बीच भागमा र बरगाछीदेखि दक्षिणपूर्वमा पनि अलपत्र छाडिएको छ । बरगाछीको बीच भागमा खाल्डा मात्रै होइन पाइप फुटेर पानी निक्लिन थालेको वर्ष दिन बित्नै लागेको छ । तर मर्मतमा सम्बन्धित पक्ष मौन छ ।

खानेपानी संस्थान र ६ लेन परियोजनाबीच प्रभावकारी समन्वय हुन नसक्दा पानीका पाइप फुटेर समस्या निम्तिरहेको छ । निर्माणाधीन चरणमै गुणस्तरीय काम नहुँदा छोटो समयमा नै ठाउँठाउँमा बाटो फुटाउनु पर्ने परिस्थिति दिनहुँ सिर्जना हुने गरेको छ । यसरी गरिने विकास दिगो होलान् त ? आमनागरिकले प्रश्न गर्ने गरेका छन् । समयमा निर्माण सम्पन्न गर्नुपर्नेमा यिनै कारणले सडक थप जीर्णमाथि जीर्ण बन्दै गएको छ ।

फुटेका पाइप खानेपानीले बनाउँछ : परियोजना

पानीको पाइप फुटेका ठाउँमा खानेपानी संस्थानले नै मर्मत गर्नुपर्ने ६ लेन सडक परियोजनाले बताएको छ । यसमा सडक विभागले नहेर्ने ६ लेन सडक परियोजनाका प्रमुख बद्री शर्माले बताए । पानीको पाइप फुटेर सडकमा क्षति भएमा साथै सडक खनेर मर्मत गर्नु परेमा सडक दुरुस्त बनाउने काम खानेपानी संस्थानकै हुने उनको भनाइ छ ।

बाटोमा पाइप फुटेर पानी निक्लिएको ठाउँमा मर्मत गर्नु परेमा परियोजनामा संस्थानले निवेदन दिएर सडक खन्नका लागि धरौटी राख्नुपर्ने भन्दै शर्मा भन्छन्, ‘संस्थानले मर्मत सकेपछि बाटो पिच नगरेको अवस्थामा त्यही धरौटीको रकमले हामी पिच गर्छौँ, समन्वय यसरी नै हुन्छ ।’

‘खानेपानी संस्थानलाई बारम्बार लिखित रुपमा पत्राचार गर्नका साथै बारम्बार मौखिक रुपमा समेत भनेका छौँ । खानेपानी संस्थानले पानीको पाइप त मर्मत गर्नै पर्छ भन्दै शर्मा भन्छन्, ‘भत्काएको ठाउँको बाटो पनि मर्मत गर्नै पर्छ ।’ सडक विभागको स्वीकृतिविना सडक खन्न नपाइने, स्वीकृति लिएर धरौटी राखेपछि मर्मत सकेर सडक पहिलाको जस्तै बनाएपछि मात्रै घरौटी फिर्ता हुने उनले बताए ।

बाटोमा पानीको पाइप फुटेर पानी निक्लिरहे पनि परियोजनाले यस विषयमा प्रभावकारी अनुगमन गर्न नसकेको जनगुनासा आइरहेका छन् । परियोजनाले समयमा निर्माण गर्नसमेत संस्थानलाई ताकेता गर्न नसकेको पाइएको छ । तर प्रमुख शर्मा भने बारम्बार अनुगमन भएको बताउँदै आएका छन् । अनुगमन भए पनि खानेपानी संस्थान सरकारी निकाय भएकाले कारवाही गर्न नमिल्ने शर्मा बताउँछन् । संस्थानले समयमा पाइप मर्मत नगर्दा पानी निक्लिएर भत्किएको ठाउँ मर्मत गर्न समय लागेको परियोजना प्रमुख शर्माको जवाफ छ ।

बाटो मर्मत परियोजनाको काम : खानेपानी

खानेपानी संस्थान शाखा कार्यालय विराटनगरका अनुसार खानेपानीका पाइप पुराना भएका कारण बारम्बार समस्या आइरहेका छन् । तर पानी निक्लिएको ठाउँ मर्मतमा संस्थानले ढिलासुस्ती गर्ने गरेको छ । कतिपय ठाउँमा लामो समय मर्मत नगरी अलपत्र छाडिए पनि संस्थान भने समयमा नै मर्मत भएको भन्दै पन्छिने गरेको छ ।

‘लगभग ३० वर्ष पुरानो पाइप छ,’ खानेपानी संस्थानका प्रमुख शैलेन्द्रकुमार साहले भने, ‘बीच सडकमै पाइप छ, बारम्बार यस्ता समस्या आइरहन्छन्, हामीले पाइप मर्मत गरिसकेपछि बाटो मर्मत ६ लेन परियोजनाले गर्नुपर्ने हुन्छ ।’ परियोजनासँगको समन्वयमा नै पाइप मर्मत गरिएको उनले बताए ।

लाइन एजेन्सी फरक–फरक भएको र सामग्री अभावमा मर्मत कार्यमा ढिलाइ भएको साहले बताए । संस्थान भने पाइप मर्मत समयमा सम्पन्न भए पनि परियोजनाले भत्किएको सडक मर्मतमा चासो नदेखाएको बताउँदै आएको छ ।

jackson ribon