विराटनगर / युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग आफ्नै मैदानमा लज्जास्पद हार ब्यहोर्यो ।
मङ्गलबार राति अन्तिम १६ को पहिलो लेगको खेलमा बार्सिलोना पिएसजीसँग ४–१ गोलले पराजित भएको हो । क्याप नोउमा पिएसजीलाई जिताउन किलियन एम्बाप्पेले ह्याट्रिक गर्दा मोइसे किनले एक गोल गरे ।
बार्सिलोनाका कप्तान लियोनल मेस्सीको गोल सान्त्वना रह्यो । टोली हारे पनि कप्तान लियोनल मेस्सीले नयाँ कीर्तिमान बनाए । अर्जेन्टिनी स्टार मेस्सीले लगातार च्याम्पियन्स लिगको १७औँ संस्करणमा गोल गर्दै रियल मड्रिडका लिजेन्ड राउलको कीर्तिमानीसँग बराबरी गरे ।
मेस्सीले सन् २००५ यता च्याम्पियन्स लिगका हरेक सिजनमा गोल गरेका छन् । रियलका पूर्व–स्टार राउलले सन् १९९५ देखि २०११ सम्म लगातार गोल गरेका थिए ।
यसैगरी पिएसजीविरुद्ध गोल गर्दै मेस्सीले सबै प्रतियोगितामा व्यक्तिगत गोल सङ्ख्या २० पुर्याए । उनले लगातार १३ सिजन यो उपलब्धि हासिल गरे ।
मेस्सीले गत शनिबार मात्र बार्सिलोनाका लिजेन्ड फुटबलर जाभी हर्नान्डेजको कीर्तिमानसँग बराबरी गरेका थिए । डिपोर्टिभो अलाभेसविरुद्ध खेल्दै मेस्सीले ला लिगामा सबैभन्दा धेरै खेल खेलेका जाभीसँग बराबरी गरेका हुन् ।
जाभीले ५०५ खेल खेल्दै ला लिगामा सर्वाधिक धेरै सहभागिता जनाउने खेलाडीको कीर्तिमान बनाएका थिए । जाभीले सबै प्रतियोगिता गरेर बार्सिलोनाका लागि सात सय ६७ खेल खेलेका छन् ।
उनीभन्दा मेस्सी मात्र सात खेलले पछि परेका छन् । १६ वर्षअघि बार्सिलोनाको सिनियर टोलीबाट डेब्यू गरेका मेस्सीले सात सय ६० खेल खेलेका छन् ।
अब दोस्रो लेगको खेल पिएसजीको मैदानमा ११ मार्चमा हुनेछ । अब बार्सिलोनालाई क्वार्टरफाइनलमा स्थान बनाउनका लागि कठिन देखिएको छ ।