birat ribon

नाटकघर प्रदेश १ कै गौरव : प्रधान

Neuro
नाटकघर प्रदेश १ कै गौरव : प्रधान

धरानमा वि.स. १९९७ देखि नाटक सुरुवात भएको हो । पञ्चायतकालको तीस र चालीसको दशकमा धरानको रङ्गमञ्चको उर्बर समय थियो । त्यसबेला धरानमा थुप्रै नाट्य संस्थाहरु थिए । काठमाडौँपछि रङ्गकर्ममा धरानको नाम आउँथ्यो । पचासको दशक अन्त्यतिरबाट धरानको रङ्गमञ्च सेलाउँदै गयो । आधुनिक एवं सुविधासम्पन्न नाटकघरको अभावका कारण धरानमा रहेका थुप्रै रङ्गकर्मीहरु काठमाडौँ पस्न वाध्य भए । धरानमा नाटकघर निर्माणका लागि रङ्गकर्मीहरुले वषौंदेखि निरन्तर पहल गरेका थिए । लामो समयको पहलपछि धरानमा अत्याधुनिक प्रादेशिक नाटकघर निर्माण सुरु गरियो । धरान–८ स्थित सभागृह क्षेत्रमा नाटकघर निर्माण गर्ने धरान उपमहानगरको कार्यपालिका बैठकले निर्णय गरेको हो ।

Padelux insider
cura insider

गतवर्ष सभागृह क्षेत्रको दुई कट्ठा जमिनमा कुल लागत अनुमान पाँच करोड गरी नाटकघर निर्माण कार्य सुरु गरिएको थियो । तर वडा नं ८ का टोल विकास संस्था र स्थानीयले विरोध जनाउँदै उक्त जग्गालाई खुलारुपमा नै राख्न माग गर्दै उक्त जग्गामा पार्क बनाउनुपर्ने प्रस्ताव राखिदिए । यही विषयमा धरान उपमहानगरपालिकाको पहलमा मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, रङ्गकर्मी र स्थानीयवासीसहितको बृहत छलफल भएको थियो । छलफलपछि नाटकघरको विवाद समाधानतर्फ उन्मुख भयो । चालु आर्थिक वर्षमा सङ्घीय सांसद जयकुमार राईले ४० लाख बजेट विनियोजन गरिदिएका थिए ।

यसरी थुप्रै चुनौतीहरुलाई पछि पार्दै धरान नाटकघर निर्माणका लागि दिनरात गरी दुई सिफ्टमा काम तीव्र गतिमा सुरु गरियो । तर कोरोना महामारीका कारण केही समय निर्माण कार्य रोकिएको थियो । अहिले नाटकघरको निर्माण कार्य कहाँसम्म पुग्यो ? चलचित्रकर्मी महासङ्घ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानसँग कोसी अनलाइनका लागि सुमित कार्कीले गरेको कुराकानी :

नाटकघरको निर्माण किन रोकियो ? अब कहिलेबाट काम सुरु होला ?

नाटक घर निर्माणको पहिलो चरणको काम गत आर्थिक वर्षमै हामीले सकिसकेको छौँ र दोस्रो आर्थिक वर्षको काम चाहिँ विभिन्न कारणहरूले गर्दा ढिला भएको छ । हाम्रो बजेट चाहिँ थोरैमात्र निकासा भएको छ् पहिलेको अनुपातमा । जे होस्, अब चैतको पहिलो वा दोस्रो सातादेखि काम पुनः सुरु गर्ने छौँ ।

अनुमान लागत पाँच करोड भनिएको छ, प्रदेश सरकारबाट कत्तिको सहयोग पाउनुभएको छ ?
अनुमान लागत सुरुमा पाँच करोड गरेका हौँ तर निर्माण सुरु भएदेखि अहिलेसम्म हेर्दा अनुमान लागतभन्दा बढी नै बजेट चाहिने देखिएको छ । किनभने यो प्रोजेक्ट भनेको प्रदेशकै एक नमुनाको रुपमा निर्माण गरिरहेका छौँ । अब प्रदेश सरकारबाट आजका दिनसम्म हामीले एक रुपैयाँ पनि पाएका छैनौँ । तर अब चाहिँ प्रदेश सरकारले पनि केही सहयोग गर्नेजस्तो कुरा छ । हेरौँ अब के हुन्छ ।

अरुणकुमार प्रधान

निर्माण कहिले सम्पन्न होला ?

नाटकघर निर्माण योजना तीन वर्षसम्मको हो । तर राजनीति अस्थिरताका कारण नाटकघरप्रतिको झुकाव पनि कतापट्टीको समूहले परिचालन गर्दै छ भन्ने किसिमको अलिकति दृष्टिकोण परिवर्तन भएको जस्तो छ, यो राजनीतिक गतिविधिका कारण । म सम्पूर्ण रङ्गकर्मी, कलाप्रेमी सबैलाई यही भन्न चाहन्छु कि यो नाटकघर हामी सबैको हो । यहाँ कुनै राजनीति पार्टीको संलग्नता छैन । नाटकघरको निर्माण चाँडोभन्दा चाँडो सक्ने तयारीमा छौँ ।

नाटकघरको मुख्य उद्देश्य चाहिँ के हो ?

धरान नाटकघर बहुउद्देश्यीय तरिकाले निर्माण गर्दै छौँ । किनभने धरान भनेको कलाकर्मीले भरिएको सहरमध्ये एक हो । तर धरानलाई कलाकर्मीको अग्रस्थान मानिए पनि खोइ त यहाँका कलाकारहरुका लागि स्थान । कलाकर्मीका लागि अवसर भनौँ वा स्थान भनौँ त्यो नाटकघर हुनेछ । आफ्नो प्रतिभा देखाउन केही सिक्न वा सिकाउन काठमाडौँ नै पस्नु पर्छ भन्ने छैन । अब धरानमै बसेर पनि आफ्नो सपना साकार गर्न सकिने छ । नाटकघरमा रङ्गमञ्चसँगै ललितकला प्रदर्शनी हुन्छ, त्यहाँ साहित्य सम्मेलन हुन्छ, कविता गोष्ठी हुन्छ । यो धराने जनताका लागि मात्र नभएर प्रदेश नम्बर १ कै गौरवको रुपमा नाटकघर स्थापित भएर अगाडि बढ्ने छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: