birat ribon

विराट गोल्डकपको तयारी : फ्लडलाइटको परीक्षण सफल

Neuro
विराट गोल्डकपको तयारी : फ्लडलाइटको परीक्षण सफल

विराटनगर / विराटनगरको सहिद रङ्गशालामा जडान भएको फ्लड लाइटको सफल परीक्षण भएको छ । विराट गोल्डकप आयोजना गर्ने तयारी सुरु भएपछि प्रदेश सरकारले जडान गरेको फल्डलाइटको सफल परीक्षण भएको हो ।

मङ्गलबार साँझ जनप्रतिनिधि, खेलकर्मी, प्राविधिकलगायतको उपस्थितिमा फ्लड लाइटको परीक्षण गरिएको थियो ।

cura insider

गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीबीच सहिद रङ्गशालामा फ्लड लाइट जडानको सम्झौता भएको थियो । दुई सय १० दिनभित्र काम सक्ने सम्झौता भए पनि कोरोनाका कारण निर्धारित मितिमा काम सम्पन्न गर्न नसकिएको कार्की बन्धु अमर जेभीबीच प्रबन्ध निर्देशक गणेश कार्कीले बताए ।

कोरोनाका कारण सम्झौता अवधि गुज्रिएपछि तत्कालीन सामाजिक विकास मन्त्री जीवन घिमिरेले चालु आर्थिक वर्षभित्रमा फ्लड लाइट जडानका लागि लिएको पहलका कारण काम सम्पन्न भएको उनले बताए । नेपालमै नयाँ परियोजना भएका कारण काम गर्न धेरै चुनौती भए पनि सम्पन्न गर्न सफल भएको उनले बताए ।

फ्लड लाइटको परीक्षणको अवलोकन गर्न पुगेका पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशवासीका लागि गौरवको आयोजना तयार भएको बताए । उनले सबैको साथ सहयोगले रङ्गशालामा फ्लड लाइट स्थायी व्यवस्थापन भएको बताए । उनले सम्बन्धित निकायले फ्लड लाइटको दिगो व्यवस्थापनका लागि आवश्यक कार्यविधि मापदण्ड बनाउन आवश्यक रहेको बताए ।

अखिल नेपाल फुटवल सङ्घ (एन्फा)का सहायक महासचिव वसन्त अर्यालले फ्लड लाइटको जडानका कारण रात्रीकालीन प्रतियोगिता सञ्चालनका लागि सहज हुने बताए । उनले गर्मी मौसममा पनि प्रतियोगिता आयोजना गर्न सकिने बताए ।

सहिद रङ्गशालामा प्रतियोगिताबाहेकका अन्य गतिविधिमा रोक लगाउनुपर्ने जिल्ला खेलकुद विकास समिति मोरङका पूर्वअध्यक्ष किशोरलाल अमात्यको सुझाव छ । सहिद मैदानको चार कुनामा जडान गरिएको एक सय आठ फिट अग्लो मास्टमा एक सय आठवटा बल्ब जडान गरिएको छ । सामाजिक विकास मन्त्रालयले कार्की बन्धु अमर जेभीलाई चार करोड २९ लाख रुपैयाँमा ठेक्का दिएको थियो ।

फ्लड लाइट सञ्चालनका लागि प्रतिघण्टा २७ लिटर डिजल खर्च हुनेछ । लाइट जडानको काम गरेको भारतको ट्रान्सरेल लाइट लिमिटेडका केएन सत्यालले लाइट जडान राम्रो भएको बताए । चैत २७ गतेबाट विराट गोल्डकप आयोजना गर्ने तयारी छ । प्रतियोगिता सञ्चालनका लागि विराट गोल्डकप ट्रस्टले मनोजविक्रम साहको नेतृत्वमा समिति गठन गरेको छ । समितिले दिवा रात्रिकालीन फुटबल सञ्चालन गर्नेछ ।

jackson ribon