birat ribon

ब्रुमर सञ्चालनमा महानगरको भाकामाथि भाका

Neuro
ब्रुमर सञ्चालनमा महानगरको भाकामाथि भाका

मोहन ढकाल

विराटनगर / विराटनगर महानगरपालिकाले वि.सं २०७५ सालमा खरिद गरेको ब्रुमर अझै सञ्चालनमा आउन सकेको छैन । लामो समयदेखि बिग्रिएर थन्किएको ब्रुमर लगभग तीन महिनाअघि मर्मत गर्न भन्दै जतुवामा राखिएको छ । दुई महिनापहिले कोसी अनलाइनले यसबारेमा बुझ्दा महानगरले माघबाट सञ्चालनमा ल्याउने जानकारी दिएको थियो । तर महानगरले ब्रुमर सञ्चालन गर्न सकेको छैन ।

cura insider

यस विषयमा महानगर विभिन्न बहाना बनाएर पन्छिने गरेको छ । ब्रुमर बनाउन खासै ध्यान नदिएको महानगर ‘बनाउन समय लाग्यो’ भन्दै तर्किने गरेको छ । सडकको धुलो सफा गर्न महानगरले ५५ लाखमा खरिद गरेको उक्त ब्रुमर अहिले अलपत्र जस्तै बनेको छ । महानगरले जम्मा एकपटक ब्रुमर सञ्चालन गरेको थियो ।

महानगरमा निर्माण सम्पन्न भएका सडकमा समेत धुलोको मात्रा अत्यधिक छ । जसका कारण सर्बसाधारण जनता प्रभावित भएका छन् । दिनभरि पसलमा बस्ने सडकवरिपरिका मानिस त झन् धुलोकै कारण समस्यामा पर्ने गरेका छन् । विराटनगरको पोखरियामा कपडा पसल सञ्चालन गर्दै आएका मिलन गिरी भन्छन्, ‘सडक त पिच भएको छ, तर धुलो अत्यधिक छ, जसका कारण स्वास्थ्यमा समस्या त हुने नै भयो, पसलमा राखेका कपडासमेत धुलाम्मे हुन्छन् ।’ उनी त एक प्रतिनिधि पात्र मात्रै हुन् ।

यो समस्या आमसर्वसाधारण भोग्न बाध्य छन् । तर महानगरले सडकको धुलो सफा गर्न खरिद गरेको ब्रुमर कहिले सञ्चालन हुन्छ भन्ने यकिन छैन ।

केही समय अघिसम्म कोरोनाको कारण देखाएर पन्छिने महानगर पछिल्लो समय मर्मत गर्न समय लागेको भन्दै पन्छिने गरेको छ । तीन महिनादेखि ब्रुमर फोहोर पानी प्रशोधन केन्द्र जतुवामा लगेर राखिएको छ ।

त्यहाँ राखेर ब्रुमर मर्मत भइरहेको महानगरको फोहोर पानी प्रशोधन केन्द्रका प्रमुख अनिल सिंहले बताए । सिंहले दुई महिनाअघि माघबाट ब्रुमर सञ्चालनमा आउने बताएका थिए । तर अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । मर्मतका लागि आवश्यक सामग्री आइसकेका कारण मर्मत सकेर माघबाट सञ्चालन हुने भनिएको ब्रुमर अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।

‘अहिले हाइड्रोलिक पम्पहरू मर्मत भइरहेको छ,’ सिंहले भने, ‘यो महिना पक्कै सञ्चालनमा आउँछ ।’ मर्मत गर्न समय लागेका कारण समयमा सञ्चालन गर्न नसकेको भन्दै उनले महानगरको बचाउ गरे । महानगरको छाँटकाँट हेर्दा ब्रुमर सञ्चालन हुने–नहुनेमा अझै अन्योल छ ।

jackson ribon