birat ribon

आज श्रीपञ्चमी अर्थात सरस्वती पूजा, विद्याकी देवीको आराधना गरेर मनाइँदै

Neuro
आज श्रीपञ्चमी अर्थात सरस्वती पूजा, विद्याकी देवीको आराधना गरेर मनाइँदै

विराटनगर / यस वर्षको सरस्वती पूजा अर्थात वसन्त पञ्चमी आज (मङ्गलबार) परेको छ । विद्याकी अधिष्ठात्री देवी माता सरस्वतीको विशेष पूजा–आराधना गरेर यो पञ्चमी मुलुकभर मनाउने गरिन्छ ।

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ भन्ने गरिएको हो । सबै कामको थालनी गर्दा आजको दिनलाई उत्तम मानिन्छ । यस दिनलाई श्रीपञ्चमी पनि भन्ने गरिन्छ ।

cura insider

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व पर्ने गरेको छ । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी भन्ने गरिएको कथन छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले हनुमानढोका दरबारमा गई वसन्त श्रवण गर्ने परम्परा छ। वसन्त श्रवणको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराउँदै आएको छ ।

एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठआठ दिनसम्म भेट गरेका थिए। पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदाभन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको हो । यसै समयदेखि वसन्तराग गाउन थालियो।

संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ। विशेषगरी शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीले महत्वका साथ यो पर्व मनाउँछन् । विद्यार्थीले घरमा वा शैक्षिक संस्थामा पुगेर विशेष धुमधाम एवं तामझामका साथ माता सरस्वतीको पूजापाठ गर्ने गरेका छन् ।

आजकै दिन विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ। बालबालिकालाई अक्षर लेख्न सुरुआत गराउँदा आजको दिनलाई उत्तम मानिन्छ । र बालबालिकालाई आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने तथा उनीहरुको ध्यान पढाईतिर जाने जनविश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गर्नुका साथै नाक, कान छेडिदिने गरिन्छ ।

विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पनि पुकार्छन् । श्वेत वस्त्र धारण गरेकी, चन्द्रमाजस्तो गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, चतुर्भुजा भएकी जसमध्ये पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी राजहंसमा सवार भएकी देवी सरस्वती हुन् भनी शास्त्रमा बताइएको छ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिक तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्दछन् । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजागरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र बुद्धि स्फूरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

यस दिन उपत्यकाका पशुपति जयवागेश्वरी, स्वयम्भूको सरस्वतीस्थान, लाजिम्पाटको नील सरस्वती, चाँगु, फर्पिङ, बल्खु, हाँडीगाउँ, लेलेको सरस्वती मन्दिरमा पूजा एवंं दर्शन गर्नेको भीड लाग्ने गरेको थियो। भक्तपुरको हनुमन्ते खोलाको पूर्वपट्टि चौरमा सरस्वती बस्ने विश्वास गरिन्छ। ल्हासाबाट मूर्ति ल्याइएको यी सरस्वतीलाई नीलसरस्वती भनिन्छ । यस ठाउँमा श्रीपञ्चमीको अघिल्लो दिन सरस्वतीलाई तेल घस्न विद्यार्थीको भीड लाग्दछ।

बौद्ध धर्मावलम्बीले पनि सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीका रुपमा ज्ञानको प्रतीक मानेर पूजाआजा गर्छन् । यस दिन बिहानै भक्तिपूर्वक कलश स्थापना गरी पञ्चोपचारले गणेश, सूर्य, अग्नि, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ ।

सरस्वतीलाई नैवेद्यका रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ । सरस्वतीलाई सेतो रङ्ग, फूल, चन्दन, शङ्ख आदि प्रिय लाग्ने भएकाले आजका दिन पूजामा यी सामग्री चढाउने गरिन्छ। पूजापछि सरस्वतीको ध्यान र ‘श्रीं ह्रीं सरस्वत्यै स्वाहा’ मन्त्र जप गरिन्छ । यो मन्त्रलाई विद्या, बुद्धि र सौभाग्य प्रदायक मानिन्छ । यसपछि सरस्वती कवच पाठ गरिन्छ ।

विगतमा देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्ने श्रद्धालुको भीडभाड हुने गरेको थियो । तर यस वर्ष कोरोना महामारी जारी नै रहेका कारण भीडभाडका साथ पूजापाठ गर्दा त्यसले सङ्क्रमण फैलने जोखिम हुने हुँदा विशेष सावधानी अपनाउन सबैमा आग्रह गरिएको छ ।

jackson ribon