birat ribon

भिडियो एक्स–रे किन गरिन्छ ? धेरै गराउँदा हानि हुन्छ ?

Neuro
भिडियो एक्स–रे किन गरिन्छ ? धेरै गराउँदा हानि हुन्छ ?
डा. आशुमान श्रेष्ठ
रेडियोलोजिस्ट
कोसी अस्पताल, विराटनगर

गर्भावस्थामा बच्चाको स्थिति थाहा पाउनका लागि भिडियो एक्स–रे गर्न चिकित्सकहरूले सल्लाह दिने गर्छन् । यतिमात्र नभएर पेट दुख्ने, कम्मर दुख्ने, सङ्क्रमण, प्रोस्टेट, थाइरोइड ग्रन्थीमा समस्या आएमा पनि भिडियो एक्स–रे गर्न सल्लाह दिइन्छ । अल्ट्रासाउन्ड स्क्यान टेस्ट (युएसजी) वा सरल भाषामा भिडियो एक्स–रे एक मेडिकल टेस्ट हो जसले उच्च फ्रेक्वेन्सीको साउन्ड वेभ प्रयोग गरेर शरीरको भित्री अङ्गको प्रत्यक्ष तस्बिर निकाल्छ ।

अल्ट्रासाउन्डले शल्यक्रिया नगरी वा शरीरको कुनै भाग नचिरीकन भित्री अङ्ग, रगत नली तथा टिश्युमा हुने समस्या देखाउन सक्छ । मेडिकल क्षेत्रमा भिडियो एक्स–रेको प्रयोग हुन थालेको धेरै भइसकेको छ । नेपालमा पनि यसको प्रयोग प्रायः सबैजसो अस्पताल वा क्लिनिकमा हुने गर्छ । यसलाई सोनोग्राफी पनि भनिने गरिन्छ ।

cura insider

भिडियो एक्स–रे छिटो, दुखाइरहित र सुरक्षित हुन्छ । उक्त प्रविधि सैन्य विमान र जहाजहरू पत्ता लगाउन प्रयोग गरिने प्रविधिजस्तै हो ।

भित्री अङ्गहरूको जाँच गर्न भिडियो एक्स–रे

भिडियो एक्स–रेबाट शरीरका विभिन्न भित्री अङ्गहरूको जाँच गर्न मिल्छ । यसलाई रोग पत्ता लगाउने महत्वपूर्ण प्रविधिको रूपमा हेरिन्छ । यसको सबैभन्दा बढी प्रयोग पेटका लागि गरिन्छ । भिडियो एक्स–रे धेरैजसो गर्भावस्थामा, मृगौलामा वा पित्तथैलीमा पत्थरी पत्ता लगाउन, कलेजोमा बोसो जमेको छ वा छैन पत्ता लगाउन प्रयोग गरिन्छ ।

पेटको भिडियो एक्स–रेबाट कलेजो, पित्तथैली, फियो, प्यानक्रियाज, मृगौला, पिसाब थैली, पाठेघर, डिम्ब, प्रोस्टेट, अन्डकोष आदिको जाँच गर्न सकिन्छ । त्यस्तै, कलेजोको समस्या, किड्नीको समस्या, रगत नली, मांशपेसी, नशा, नवजात शिशुको मस्तिष्क आदि पनि भिडियो एक्स–रेबाट जाँच गरिन्छ । केही कुराले घोच्दा, वा लामो समयसम्म शरीरका केहीले बिझाएजस्तो महसुस भइरहँदा वा कुनै सङ्क्रमण (सेलुलाइटिस) हुँदासमेत भिडियो एक्स–रेको विधि प्रयोग गरिन्छ ।

गर्भावस्थामा विशेष प्रयोग

एक्स–रे गर्भावस्थामा विशेष प्रयोग हुनेगर्छ । पहिलो ट्राइमेस्टर (गर्भ बसेको दिनदेखि १२ हप्तासम्मको अवधि)मा पाठेघरभित्र बच्चा बसेको वा नबसेको हेर्न, गर्भमा कतिवटा बच्चा छ पत्ता लगाउन, बच्चाको मुटु, मृगौलालगायतका अङ्ग राम्रोसँग विकास भइरहेको वा नभएको हेर्न, बच्चाको मुटुको घड्कन चलेको छ वा छैन, बच्चामा हुने जन्मजात समस्या पत्ता लगाउन, बच्चाको दिमागको अवस्था, बच्चा बसेको अवस्था हेर्न (उल्टो बसेको वा सुल्टो), बच्चाको सम्पूर्ण शारीरिक अवस्था, सालनाल (प्लासेन्टा) र आमाको शरीरमा हुने एम्निओटिक फ्ल्युड (बच्चा हुर्किन चाहिने तरल पदार्थ)को मात्रा हेर्नका लागि भिडियो एक्स–रे गरिन्छ ।

योबाहेक भिडियो एक्स–रेलाई बायोप्सी (मासु जाँच गर्न), पेट तथा फोक्सोमा पानी जमेको छ वा छैन जाँच गर्नका लागि पानी निकाल्न, थाइराइड जाँच गर्न, स्तनमा गाँठो भए–नभएको पत्ता लगाउन पनि प्रयोग गरिन्छ । हाल नयाँ आएको भिडियो एक्स–रे प्रविधि (थ्रिडी र फोरडी)बाट गर्भावस्थामा बच्चाको स्पस्ट आकृतिसमेत हेर्न सकिन्छ ।

पेटको भिडियो एक्स–रेबाट कलेजो, पित्तथैली, फियो, प्यानक्रियाज, मृगौला, पिसाब थैली, पाठेघर, डिम्ब, प्रोस्टेट, अन्डकोष आदिको जाँच गर्न सकिन्छ । त्यस्तै, कलेजोको समस्या, किड्नीको समस्या, रगत नली, मांशपेसी, नशा, नवजात शिशुको मस्तिष्क आदि पनि भिडियो एक्स–रेबाट जाँच गरिन्छ ।

भिडियो एक्स–रे गर्नुअघि

अल्ट्रासाउन्ड गर्न एक बिरामी तयार हुनका लागि परीक्षण गरिने क्षेत्र वा अङ्गमा निर्भर हुन्छ । सामान्यतः पेटको युएसजी गर्दा विशेषगरी पित्तथैलीको जाँच गर्न ६ देखि १२ घन्टा (वा रातभरि) सम्म पेट खाली भएको हुन आवश्यक छ । खाना खाएको अवस्थामा पित्तथैली खुम्चने हुँदा बिरामीमा भएको समस्या पत्ता लगाउन गाह्रो हुन्छ । अन्य भागको भिडियो एक्स–रे गर्नका लागि पेटलाई खाली राख्न जरुरी पर्दैन ।

पुरुषमा प्रोस्टेट र महिलामा पाठेघर र पहिलो ट्राइमेस्टरको गर्भ जाँच गर्दा धेरै पानी पिउन र पिसाब लागेको वा पिसाब रोक्नुपर्ने हुन्छ । केटामा प्रोस्टेट र केटीमा पाठेघर हेर्नका लागि मूत्राशय (युरिनेरी ब्लाडर) पूर्ण रुपमा भरिएको हुनुपर्छ । तर, दोस्रो र तेस्रो ट्राइमेस्टरको गर्भ जाँच गर्दा पिसाब लागेको वा पिसाब रोक्नुपर्ने हुँदैन ।

हात, खुट्टा, नशा वा अन्य कुनै सुन्निएको भागको भिडियो एक्स–रे गर्नु परेमा कुनै विशेष तयारीको आवश्यक भने पर्दैन । भिडियो एक्स–रे गर्न १० देखि ३० मिनेटसम्म लाग्न सक्छ, जुन शरिरको कुन भाग जाँच गर्ने हो त्यसमा भर पर्ने हुन्छ । जाँच गर्नुअगाडि सजिलोसँग बेडमा पल्टिएपछि जाँच गर्ने भागमा एक प्रकारको जेल लगाउने गरिन्छ ।

भिडियो एक्स–रे गर्दा प्रयोग गरिने जेल (चिप्लो पदार्थ)ले छालाबीचको हावा विस्थापित गरी अल्ट्रासाउन्ड प्रोब (साउन्ड वेभ पठाउने र प्राप्त गर्ने उपकरण) को प्रयोगलाई सहज बनाउन मद्दत गर्छ । जाँच सकिएपछि सफा कपडाले उक्त जेल पुछेर आफ्नो नियमित काममा फर्कन सकिन्छ ।

परीक्षणपछि, रिपोर्टको आधारमा डाकटरले बिरामीको तत्काल उपचार सुरुसमेत गर्नसक्छ । तर, अल्ट्रासाउन्डमा कुनै पनि असामान्य कुरा देखा परे सीटी स्क्यान, एमआरआई वा जाँच गरिएको क्षेत्रको आधारमा बायोप्सी नमूनाको परीक्षण गर्नुपर्ने हुनसक्छ ।

भिडियो एक्स–रेले हानी गर्दैन

सामान्यतया भिडियो एक्स–रेले मानव शरीरलाई खासै हानी पुर्‍याउने गरेको पाइएको छैन । अन्य इमेजिङ टेक्निकको विपरित, अल्ट्रासाउन्डले विकिरणको प्रयोग गर्दैन । त्यसैले यसलाई एकदम सुरक्षित मानिन्छ । अल्ट्रासाउन्डले गर्भवती महिला तथा गर्भमा रहेको भ्रुणमा कुनै प्रतिकूल प्रभाव नपार्ने कारणले यो गर्भावस्थाको समयमा भ्रुणको अवस्था हेर्नका लागि समेत रुचाइएको विधि हो ।

अहिलेसम्म यसको कुनै पनि साइडइफेक्ट देखिएको छैन । यो बच्चादेखि वृद्धवृद्धासम्मलाई प्रयोग गर्न सकिन्छ । रोगको आधारमा विशेषज्ञ चिकित्सकको सल्लाह लिएर जतिपटकसम्म पनि भिडियो एक्स–रेको प्रयोग गर्न सकिन्छ । तर, कतिपय अवस्थामा यसको कानुनविरुद्ध दुरुपयोग पनि भएको पाइन्छ ।

विशेषगरी गर्भवती महिलाको अल्ट्रासाउन्ड गर्दा गर्भमा बच्चाको लिङ्ग (छोरा वा छोरी) पत्ता लाग्ने भएकोले भ्रुण हत्यासमेतको खतरा हुनसक्छ । तर, अहिले अल्ट्रासाउण्ड गर्दा बच्चाको लिङ्गको बारेमा नभई बच्चाको शारीरिक अवस्थाका बारेमा मात्रै जानकारी दिइने गरिन्छ ।

jackson ribon