birat ribon

प्रदेश सरकारको विरोध जनविरोधी हर्कत : मुख्यमन्त्री

Neuro
प्रदेश सरकारको विरोध जनविरोधी हर्कत : मुख्यमन्त्री

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारको विरोध जनविरोधी हर्कत भएको बताएका छन् । प्रदेश सरकारको तेस्रो वार्षिक उत्सवमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको विरोध जनविरोधी हर्कत भएको बताएका हुन् ।

मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेश १ को प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रचण्ड– माधव समूहले मुख्यमन्त्रीलाई संसद् छल्न खोजेको आरोप लगाइरहेको छ । मुख्यमन्त्री राईले अविश्वासको प्रस्तावलाई जनविरोधी हर्कत भएको संज्ञा दिएका छन् ।

cura insider

राईले जनविरोधी अनेक हर्कतविरुद्ध सबै प्रदेशवासीलाई एक हुन आग्रह पनि गरेका छन् । उनले दुईतिहाई सरकार चलिरहेको र सरकारले एकाएक उपलब्धी हासिल गर्दै गइरहेका बेला अचानक अविश्वासको प्रस्तावको सामान गर्नुपर्ने अवस्था आएकोभन्दै त्यसकाविरुद्ध एक हुन सबैमा अपिल गरेका हुन् ।

संसदीय व्यवस्था र प्रचलित मूल्य मान्तता विपरित अविश्वासको प्रस्ताव आएको भन्दै त्यसमा उठेका कानुनी र वैधानिकता सम्बन्धी प्रश्नको चाँडै निरुपण गरेर समस्याको समाधान खोजिने पनि बताए । मुख्यमन्त्री राईले जनताको विकास र समृद्धको चाहनामा, तुसारापात भएको दोहोर्याउँदै प्रदेश सरकारकाविरुद्धमा चालिएको कदम गलत भएको बताए ।

अविश्वास प्रस्तावमार्फत संसदीय व्यवस्था र दलीय प्रणाली अन्तर्गत प्रचलित मूूल्य र मान्यता एवं विधिविधान विपरीत गलत अभ्यास तथा नजिर स्थापित गर्न खोजिएको राईको भनाइ छ । उनले यस्ता विषयको हेक्का राखेर उत्पन्न कानुनी जटिलता एवं वैधानिकता सम्बन्धी समस्याको चाँडै समाधान खोजिने जानकारी पनि दिए ।

प्रदेशको राजधानी सर्वसम्मत रुपमा तोकिएको उल्लेख गर्दै मुख्यमन्त्री राईले सरकारले प्रदेशको नामाकरण गर्न सकेन भनेर भन्नुको कुनै तुक नभएको स्पष्ट पारे । उनले सबै दलको सहमतिमै नामाकरणको विषयलाई तत्कालका लागि थाँती राखिएको जानकारी पनि दिए । विभिन्न समस्याका कारण नामाकरणको विषयमा प्रवेश गर्न नपाएको बताउँदै राईले अब यस विषयको टुंगो चाँडै लगाउने प्रतिवद्धता पनि जनाए ।

स्थिर सरकार ढालेर मुलुकमा अस्थिरता निम्त्याउने तत्व सक्रिय बनेको उनको आरोप छ । सरकारले महत्वपूर्ण कामहरु गरिरहेका बेला समृद्ध नेपाल र सुखी नेपालीको नारा तथा जनताका सबै आकांक्षामा तुसारापात गर्दै एक्कासि सत्तारुढ दलबाटै दुईतिहाईको सरकार ढाल्ने खेल सुरु भएको राईको भनाइ छ ।

प्रदेश र सिंगो मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने काम भएकोभन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

सत्तारुढ दलबाटै बहुमतको सरकार ढालेर राष्ट्रपति, प्रधानमन्त्री, प्रदेश प्रमुख र प्रदेशका मुख्यमन्त्रीलाई अपदस्थ गर्ने योजना अनुरुप राजनीतिका नाममा विगतजस्तै फोहोरी खेल सुरु गरिएको राईको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओली गरेको संसद विघटनको विषयमा उनले राजनीतिका नाममा फोहोरी खेल खेलेर स्थिर सरकार ढाल्दै मुलुकमा अस्थिरता निम्त्याउन खोजिएपछि र विगतजस्तै अस्थिर सरकार निर्माण गर्ने योजना बन्न थालेपछि मुलुक ताजा जनादेशका लागि निर्वाचनमा जानु परेको दाबी गरे ।

नेपाली जनता सामु फेरि एक पटक निर्वाचनमार्फत बलियो र स्थिर सरकार बनाउनुपर्ने अभिभारा एवं जिम्मेवारी आएको उनको भनाइ छ । राईले विशेष समय र परिस्थितका कारण मुलुक निर्वाचनमा जानु परेको उल्लेख गर्दै शान्ति, सुशासन, विकास र समृद्धिका लागि जनताले उत्कृष्ट ढंगबाट फैसला सुनाउने बेला आएको बताए ।

आफ्नाविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावका सम्बन्धमा उनले प्रदेशमा पनि अस्थिरता सिर्जना गर्ने, अराजकता पैदा गर्ने, जनताको विश्वास र उत्साहमा तातो पानी खन्याउने काम भएको बताए ।

उनले तीन वर्षको अवधिमा सरकारले महत्वपूर्ण उपलब्धी हासिल गरेको बताएका छन् । तेस्रो वार्षिक उत्सवका अवसरमा मुख्यमन्त्री राईले सरकारले धेरै जनपक्षीय कामहरु गरेको फेहरिस्त प्रस्तुत गरे ।

शून्यबाट सुरु भएको प्रदेश सरकारले आवश्यक संरचना निर्माण गरेर विभिन्न कामहरु गरिरहेको जानकारी उनले दिए ।

सुखी नेपाली, समृद्ध नेपाल नारा दिएर संघीय सरकार अघि बढे जसरी प्रदेश सरकारले पनि स्वच्छ, सुखी र समुन्नत प्रदेशको नारा तय गर्दै त्यसलाई अघि सारेर काम गरिरहेको राईको भनाइ छ ।

प्रदेश सरकार यो नारालाई दीर्घकालीन रुपमा स्थापित गरेर अघि बढ्ने प्रतिवद्धता पनि राईले जनाए । उनले तीन वर्षको अवधिमा प्रदेशमा भएका विकास निर्माणदेखि लिएर सुशासनको कामलाई सरकारले छोटो अवधिमै प्राप्त गरेको महत्वपूर्ण उपलब्धीका रुपमा अर्थ लगाएका छन् ।

संरचनादेखि लिएर अन्य विकास निर्माण तथा भौतिक पूर्वाधारका क्षेत्रमा सरकारले महत्वपूर्ण उपलब्धी हासिल गरेको उनले बताए । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणमा पनि सरकार सफल भएको राईले बताए ।

सक्रियताका साथ काम गरेर स्वास्थ्य संरचना, पूर्वाधार निर्माण, सिँचाई लगायतका क्षेत्रमा उल्लेख्य काम गर्दै सुखी नेपाली र समृद्ध नेपाल निर्माणको अभियानलाई टेवा पुग्ने गरी प्रदेश सरकार अघि बढिरहेको बताए ।

प्रदेश सरकार मातहतका कार्यालयले राम्रो काम गरिरहेको उनको भनाइ छ । तीन वर्षको अवधिमा प्रदेश १ सरकारले एक सय १३ वटा विभिन्न कानुन पनि बनाएको छ ।

आफ्नो वार्षिक उत्सवका अवसरमा प्रदेश सरकारले तीन वर्षमा गरेका महत्वपूर्ण दुई सय ३२ वटा काम र अन्य प्रगति विवरणलाई समावेश गरेर प्रकासित गरेको गोजी पुस्तिका पनि सार्वजनिक गरेको छ ।

jackson ribon