birat ribon

प्रदेश १ सरकारको तेस्रो वार्षिक उत्सव, दाहाल–नेपाल समूहद्वारा बहिष्कार

Neuro
प्रदेश १ सरकारको तेस्रो वार्षिक उत्सव, दाहाल–नेपाल समूहद्वारा बहिष्कार

विराटनगर / प्रदेश १ सरकारले आज (सोमबार) मनाएको आफ्नो तेस्रो वार्षिक उत्सव आन्दोलनरत पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले अघोषित रुपमा बहिष्कार गरेको छ ।

सरकारले प्रदेश राजधानी विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आफ्नो तेस्रो वार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा दाहाल–नेपाल समूह सहभागी बनेन ।

cura insider

दाहाल–नेपाल समूहका नेता एवं प्रदेश १ का पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले वैधता सकिएको सरकारको कार्यक्रममा सहभागी नभएको बताए । ‘यो सरकारको वैधता सकिएको छ । त्यही भएर उसले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुको कुनै अर्थ छैन,’ उनले भने, ‘सबैसँग सल्लाह गरेरै सहभागी हुन आवश्यक नठानिएको हो ।’

कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि सहभागी भएन । सरकारले कांग्रेसलाई कार्यक्रममा सहभागी हुनका लागि निम्तो दिएको थियो ।

कांग्रेस प्रमुख सचेतक केदार कार्कीले संसद (प्रतिनिधिसभा) विघटनविरुद्ध पार्टीले कार्यक्रम आयोजना गरेका कारण व्यस्तताले सहभागी हुन नपाएको बताए । सरकारले संसद् छल्दै हिँडेका कारण पार्टीको तर्फबाट सहभागिता नभएको उनले बताए । तर कांग्रेसबाट प्रदेशसभा सदस्य विन्दिया कार्की भने सहभागी भएकी छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वमा प्रदेश १ सरकार गठन भएको फागुन ३ गते तीन वर्ष पूरा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेसँगै सत्तारुढ दलमा विभाजन आएको छ । विभाजनपछि एउटा समूहको नेतृत्व ओलीले गरिरहेका छन् भने अर्को समूहको नेतृत्व दाहाल–नेपालले गरिरहेका छन् ।

प्रदेश १ सरकारको नेतृत्व ओली पक्षीय मुख्यमन्त्री शेरधन राईले गरिरहेका छन् । उनकाविरुद्ध दाहाल–नेपाल समूहका प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव संसदमा दर्ता गराएका छन् । दाहाल–नेपाल संसद पुर्नस्थापनाको माग राखेर सडक आन्दोलनमा छ ।

jackson ribon