birat ribon

जोगवनी नाका बन्दले सास्ती मात्रै, आवत-जावत छैन, पर्यटन प्रभावित

Neuro
जोगवनी नाका बन्दले सास्ती मात्रै, आवत-जावत छैन, पर्यटन प्रभावित

विराटनगर / कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्नभन्दै नेपाल सरकारले २०७६ साल फागुन ११ गतेबाट अन्तर्राष्ट्रिय सीमा नाका सिल गर्यो ।

नाकाबाट हुने आवतजावतमा पूर्ण रुपमा रोक लगाउँदै बन्द गरिएको नाका झन्डै ११ महिना पुग्न लाग्दा पनि सहज हिसाबले खुला गरिएको छैन । त्यतिबेला अन्तर्राष्ट्रिय हवाई उडान पनि बन्द गरिए । शैक्षिक संस्था, बजार, पसल, यातायात, उद्योग, कलकारखाना सबै बन्द गरिए । विशेष गरेर नाका बन्द गरिएपछि खुला सीमा रहेको नेपाल–भारत आवतजावतमा ठूलो असर पर्यो ।

cura insider

पछिल्लो समय दुवै देशमा कोरोना सङ्क्रमण मत्थर हुँदै गइरहेको छ । ठप्प रहेका सबै क्षेत्र खुला भएर अवस्था सामान्य बनिसक्दा पनि सरकारले नाकामा आवतजावत भने खुला गरेको छैन । नाका बन्दले सास्ती मात्रै दिइरहेको छ । सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा परेको छ । प्राय भारतीय पर्यटकले भरिभराउ हुने होटलहरु सुनसान छन् । कोरोनाका कारण भारतीय पर्यटक आउन नचाहेका हैनन् ।

तर सरकारले सहज रुपमा नाका सञ्चालनमा नल्याउँदा उनीहरु नेपालमा विभिन्न काम र घुमफिरका लागि आउन पाएका छैनन् । कोरोना सङ्क्रमण नियन्त्रणउन्मुख भइरहेका बेला भारतीय पर्यटकले नेपाली व्यवसायीलाई नाका खुला गर्न पहल थाल्न र आफूहरुलाई नेपाल आउने वातावरण बनाइदिन आग्रह गरिरहेका छन् ।

विराटनगरका होटल एवं पर्यटन व्यवसायी पुण्य भट्टराईले प्रदेश १ को राजधानी विराटनगर प्रवेशको मुख्य नाका जोगवनी खुल्ला भन्ने आश पालेर बसेको लामै समय भयो । नाका खुलेपछि नेपालमा घुमफिर र विभिन्न कामका सिलसिलामा आउने भारतीय पर्यटकको चहलपहल बढ्ने र महामारीले थलिएको पर्यटन व्यवसाय विस्तारै बौरिँदै जाने अपेक्षा थियो । विभिन्न सर्तसहित नाका खुुल्ला गर्ने निर्णय गरेर सरकारले जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेपछि गरिसकेको छ ।

तर अहिलेसम्म नाकाका सम्बन्धमा स्पष्ट ढंगले निर्णय सरकारबाट नभएको गुनासो पोख्दै भट्टराईले भने, ‘नाका खुल्ने आश गरेर बस्दाबस्दै हैरान भइसकियो । संक्रमण कम हुँदै गइरहँदा पनि नाका बन्द नै रहँदा भारतीय पर्यटकमा निर्भर रहेको प्रदेश १ को पर्यटन क्षेत्र झन् धरासायी बनेर गएको छ ।’ उनले झन्डै ११ महिनादेखि बन्द रहेको नाका सञ्चालनमा नआउँदा सबैभन्दा बढी मार भने पर्यटन क्षेत्रले खेप्नु परिरहेको बताए ।

‘कोरोनाका कारण बन्द गरिएका सबै क्षेत्र खुलेर अवस्था सामान्य बनिसक्यो,’ उनले भने, ‘तर नाका ठप्प हुँदा पर्यटन क्षेत्र भने झन् धरासायी बनिरहेको छ ।’ कोरोनाका कारण ओरालो लाग्दै गएको पर्यटन क्षेत्र जुर्मुराउन र चलायमान बन्न नाका खोल्नुको विकल्प नरहेको भट्टराईको निस्कर्ष छ । सरकारले बेलैमा उचित निर्णय लिननसक्दा पर्यटन क्षेत्रमा भएको अर्बौ रुपैयाँ लगानी डुब्ने अवस्थामा पुगेको छ ।

आन्तरिक पर्यटक पुर्नउत्थान समिति प्रदेश १ का संयोजक भविषकुमार श्रेष्ठ प्रदेशको पर्यटन प्रवद्धनमा ५० प्रतिशत योगदान भारतीय पर्यटकको रहेको बताउँछन् । भारतीय पर्यटकले पर्यटन क्षेत्र धानिएको भए पनि झन्डै ११ महिनादेखि उनीहरुले नेपालमा खुट्टा राख्न नपाएको उनको भनाइ छ ।

पर्यटनमा ५० प्रतिशत योगदान पु¥याइरहेको मुलुकबाटै लामो समयदेखि पर्यटक आउन नपाउनु र उनीहरुलाई ल्याउन सरकारले पनि उचित पहल गर्न नसक्नु पर्यटन क्षेत्रका लागि ठूलै दुर्भाग्य रहेको श्रेष्ठको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को पर्यटन तथा हवाई यातायात संयोजकसमेत रहेका श्रेष्ठले नाका खुला नहुँदा सवारी साधनसहित भारतीय पर्यटक आउन नपाएको बताए । भने, ‘घुम्न आउने मान्छे हिँडेर र दुःख गरेर आउँदैनन् । थलिएका व्यवसायलाई माथि उकास्ने नीति ल्याउनुपर्ने हो । तर खै त सरकारले बुझेको ?’ हजारौँ कार्यकर्ता सडकमा उतारेर राजनैतिक कार्यक्रम तथा सभा र सम्मेलन भइरहँदा जोखिम नहुनु र घुमफिरका लागि पर्यटक आउँदा कोरोना फैलन्छ भन्नु दुःखद् भएको उनको भनाइ छ ।

पर्यटन क्षेत्रको ठूलो हिस्सा भारतसँग निर्भर छ भन्ने कुराको हेक्का राख्न पनि सरकारलाई उनले आग्रह गरे । सबै क्षेत्र सामान्य अवस्थामा फर्कदा पनि ‘बोर्डर’मा आवतजावत गर्न नदिइनुले पर्यटन क्षेत्रलाई थप चिन्तित तुल्याएको श्रेष्ठको भनाइ छ । ‘भारतीय व्यवसायीले हाम्रा मान्छे नेपाल घुम्न आउन खोजिरहेकाले हामी पठाउन तयार छौँं र कसरी पठाउन सकिन्छ भन्ने सल्लाह मागिरहेका छन्,’ श्रेष्ठ भन्छन् , ‘तर सरकारले उचित निर्णय लिननसक्दा हामी नाजवाफ भएर बस्नु परिररहेको छ ।’ उनले नाका सरकारले खोलेपछि खवर गर्छौँ भन्नुभन्दा आफूहरुसँग उनीहरुलाई दिने केही जवाफ नभएको सुनाए । ‘पर्यटकका लागि हामीसँग घुम्ने ठाउँ पर्याप्त छ,’ उनले भने, ‘ति ठाउँमा घुम्न आउँछौंभन्दा पनि ल्याउन नसक्नु र आउनू भनेर भन्न नपाउनु ठूलो दुर्भाग्य हो ।’

सरकारले बिनासर्त तुरुन्त नाका खुल्ला गरेर कोरोनाभन्दा अगाडिकै अवस्थामा पर्यटन व्यवसायलाई फर्काउने कोशिष गर्नुपर्ने माग पर्यटन व्यवसायीले राखेका छन् । नभए ठूलो लगानी डुबेर व्यवसायी पलायन हुनपर्ने अवस्था आउनसक्ने श्रेष्ठले बताए । सरकारको भर नपरिकन व्यवसायीले व्यवसाय खोलेर पर्यटनलाई टिकाइरहेको अवस्थामा सामान्य सहयोग पनि नपाउँदा धेरै दुःख लाग्ने गरेको उनको भनाइ छ ।

नाका बन्द भएकै कारण आफूहरुले पर्यटन क्षेत्रको प्रवद्र्धन र प्रचारप्रसारका लागि भारत पनि जान नपाएको गुनासो श्रेष्ठको छ । ‘हामी हाम्रो व्यवसायको ‘मार्केटिङ’मा निस्कन पाएनौँ,’ उनी भन्छन्, ‘कोरोना संक्रमण नेपाल र भारत दुवै देशमा लगभग नियन्त्रणमा आइसकेका कारण चाँडोभन्दा चाँडो नाका खुला राख्ने उचित निर्णय सरकारबाट हुनुपर्छ ।’

क्षेत्रीय होटल व्यवासायी संघ प्रदेश १ का अध्यक्ष तथा होटल एसोसिएसन नेपालका केन्द्रीय सदस्य राजन श्रेष्ठ नेपालमा भारतबाट धार्मिक, सांस्कृति, प्राकृतिक, स्वास्थ्य तथा शैक्षिक क्षेत्रका पर्यटक आउने गरेको बताउँछन् । ‘यहाँका धार्मिक तीर्थस्थल घुम्न र दर्शन गर्न भारतबाट धार्मिक पर्यटक सबैभन्दा बढी नेपालमा आउँछन्,’ उनले भने, ‘खोला, हिमाल, लालीगुराँस, वन्यजुन्तु, नदीनाला, जंगल, पहाड लगायतका प्राकृतिक सम्पदाको अवलोकनका लागि प्राकृतिक पर्यटन आउने गरेका छन् ।’ भारतमा बढी गर्मी हुने भएकाले पर्यटकीय र रमणीय स्थलको अवलोकन गर्न तथा चिसो मौसममा रमाउन भारतीय पर्यटकको पहिलो रोजाइमा नेपाल पर्ने गरेको श्रेष्ठको भनाइ छ ।

उनका अनुसार रोटीबेटीको सम्बन्ध, नेपालसँग मिल्ने भाषा, रहनसहन र भेषभुषा तथा सहज आर्थिक कारोबार भारतको नेपालसँग हुने भएकाले सांस्कृतिक हरोहर एवं संस्कार र संकृतिको अवलोकन एवं भ्रमण गर्न भारतीय नेपाल आउँछन् । ‘सीमावर्ती भारतीय सहरमा राम्रा अस्पताल छैनन् । भारतमा सस्तोमा उपचार पनि हुँदैन,’ श्रेष्ठले भने, ‘त्यही भएर भारतीयहरु उपचार गर्न नेपालमा रहेका स्वास्थ्य संस्थामा आउँछन् । तर नाका बन्द हुँदा उपचार गर्न पनि आउन पाएनन् ।’

नेपालका धेरै विद्यालयमा भारतीय विद्यार्थीहरु पढ्न आउने भएकाले उनीहरुलाई भेट्न अभिभावक र आफन्त आउँदा पनि पर्यटन प्रवद्र्धनमा मद्धत मिल्ने गरेको उनको कथन छ । ‘नाका बन्द भएकाले सीमा क्षेत्रबाट लुकिछिपी नेपाल आउनेको कमी छैन । तर लुकिछिपी आउनेहरुबाट पर्यटन प्रवद्र्धनमा केही फाइदा छैन,’ श्रेष्ठले भने, ‘सहज रुपमा नाका खुला भए गाडी लिएर घुम्न उनीहरु आउने थिएन । पर्यटनमात्रै नभएर अरु व्यवसायमा पनि भारततिरै निर्भर हुनपर्ने अवस्था छ ।’

इलामाको पशुपति नगर, झापाको काँकडभिट्टा, मोरङको विराटनगरस्थित जोगवनी र सुनसरीको वीरपुर नाका भारतबाट प्रदेश १ प्रवेश गर्ने ठूला नाका हुन् । प्रदेशमा भारतसँग आउतजावत गर्ने २३ वटा साना तथा ठूला नाका रहेको व्यवसायीको भनाइ छ ।

आन्तरिक पर्यटक पुर्नउत्थान समितिका संयोजक श्रेष्ठका अनुसार सामान्य अवस्थामा विभिन्न नाका हुँदै दैनिक पाँच सय भारतीय गाडी नेपाल छिर्ने गरेका थिए । ति गाडीमा पाँच हजार बढी भारतीय नागरिक घुमफिर र कामका सिलसिलामा नेपाल आउने गरेको उनको भनाइ छ ।

श्रेष्ठले गाडीबाहेक पैदल र मोटरसाइकल लगायतका अन्य सवारी साधनमा पनि ठूलो संख्यामा भारतीय नेपालतर्फ आउने गरेका कारण नाका बन्द जारी राखेर सरकारले गलत गरिरहेको बताए । ‘भारतबाट आउनेहरु सबै होटलहरुमा बस्छन्,’ उनले भने, ‘यहाँका सबैजसो होटलहरु भारतीय पर्यटकमै निर्भर थिए ।’

प्रदेश १ मा पाँचतारेसम्मका र पर्यटकीय स्तरका चार हजार होटल सञ्चालनमा रहेको श्रेष्ठले बताए । उनका अनुसार पर्यटक अभाव हुँदा अर्बौँ लगानी गरिएका होटल धरासायी बनेका छन् भने कतिपय बन्द भइसकेका छन् । कतिपय बन्द हुने अवस्थामा रहेको उनको गुनासो छ । नाका बन्द यथावत राखेर टुलुटुलु हेरिरहेको सरकारले नाका खुला गरिदिए होटल बन्द गर्नुपर्ने र लगानी डुब्ने अवस्थाको जोखिम भने टरेर जाने श्रेष्ठले बताए । विदेशी पर्यटकलाई ठाउँ दिननसक्नु नेपालकै कमजोरी रहेको उनको भनाइ छ ।

घुमफिरबाहेक नेपालीहरु भारततिर र भारतीयहरु नेपालतिर विभिन्न सामान किनमेलका लागिसमेत आउने गरेका छन् । कतिपयले किनमेलकै लागि लुकिछिपी आउतजावत गर्ने गरेका छन् । कोरोना कम हुँदै गइरहे पनि लामो समयदेखि बन्द गरिएको नाका नखुल्दा आफूहरु मारमा परेको गुनासो सीमा क्षेत्रका बासिन्दाको छ ।

सीमा नाका बन्द हुँदा पछिल्लो समय घरायसी किनमेल, औषधि उपचार, आफन्त भेटघाट, घुमफिर लगायतका कार्यहरु प्रभावित भएको विराटनगरस्थित सीमा क्षेत्रका बासिन्दा अब्दुल हमिदको भनाइ छ । उनले कोरोनाबाट बच्नका लागि आवश्यक सुरक्षा मापदण्डको पालना गर्दै व्यवस्थित रुपमा आवतजावत गर्ने वातावरण बनाउँदै नाका सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरे ।

मन्त्रिपरिषद् बैठकपछि सरकारले माघ १६ देखि आवश्यक सर्तसहित नाका खुुल्ला गर्ने निर्णय गरेको थियो । अति आवश्यक भएर नेपाल फर्कन चाहने भारत र चीनमा रहेका नेपाली नागरिकको हकमा मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को वेबसाइटमा राखिएको अनलाइन फारम भरेपछि प्राप्त हुने बारकोडसहितको प्रवेशआज्ञा पत्र देखाएर सम्बन्धित भन्सार वा नाकाबाट प्रवेश पाउने व्यवस्थासहित नाका खुला गरिएको हो ।

सीमा नाका हुँदै आउने नेपाली नागरिकहरुको हकमा भने आवश्यक रेकर्ड राखेर स्वास्थ्य परीक्षणपछि मात्र नेपाल भित्रिन दिने व्यवस्था मिलाइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । भारतीय नागरिकहरुको हकमा गृह मन्त्रालयसँग स्वीकृति लिएर मात्रै नेपाल प्रवेश दिने व्यवस्था मिलाइएको छ । त्यस्तै नयाँ स्वरुपको भाइरस देखिएको ठाउँबाट आउने नागरिकहरुले ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट पनि साथमा लिएर आउनुपर्ने नियम रहेको प्रजिअ निरौलाले बताए ।

‘भारतले सीमामा कुनै कडाई नगरिकन अजावजावत गर्न दिइरहेको छ । नाकामा कडाई नेपालतिर मात्रै हो,’ उनले भने, ‘नेपालमा जानआउन नपाइने भन्ने हैन । त्यसका लागि सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्छ ।’ सर्वसाधारणको आवश्यकता र जटिलता हेरेर निश्चित र तोकिएको मापदण्ड पूरा गर्दै यातायातका साधन प्रयोग नगरिकन आवतजावत गर्नलाई प्रशासनले सहजीकरण गरिररहेको जानकारी निरौलाले दिए । तर सामान्य अवस्थामाजस्तो किनमेल र घुमफिरकै लागि नेपाल–भारत आवतजावत गर्न नपाइने उनको भनाइ छ ।

निरौलाले सरकारले नाका पूर्ण रुपमा खुला नगरेको बताए । उनकाअनुसार आवश्यक मापदण्ड पूरा गर्ने नेपाली नागरिकले आवतजावत गर्न पाए पनि दुई देशबीच पूर्ण रुपमा आवतजावत र सवारी साधन सञ्चालन गर्न पाइने छैन । निरौलाले भारत जान चाहने नागरिकको हकमा कुनै रोकटोक नभए पनि उताबाट फर्कदा भने नियमको पालना गर्नै पर्ने अवस्था रहेको जानकारी दिए । उनकाअनुसार नाका खुला भएकोभन्दा पनि आवतजावतमा धेरै खाले सर्त र नियम पूरा गर्नुपर्ने भएकाले सीमामा थप कडाई गर्दै लगिएको रुपमा बुझ्नुपर्छ ।

jackson ribon