birat ribon

आन्तरिक पर्यटकको रोजाइमा शान्तिवन

Neuro
आन्तरिक पर्यटकको रोजाइमा शान्तिवन

मोहन ढकाल

विराटनगर / सुनसरीको बर्जु गाउँपालिका–५ एभरेस्ट साइन्स सेन्टर (शान्तिवन) मा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । कोरोना महामारीका कारण लामो समय सुनसान रहेको शान्तिवन आजभोलि आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।

cura insider

विराटनगरबाट नजिकैको दुरीमा रहेको शान्तिवनमा विराटनगरलगायतका ठाउँबाट आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् । पछिल्लो समय विराटनगरबाट शान्तिवन जाने सडक पिच भएसँगै आन्तरिक पर्यटकको रोजाइमा शान्तिवन पर्न थालेको छ ।

शान्तिवनमा शनिबार वनभोजका कार्यक्रममले भरिभराउ भएको देख्न सकिन्छ । पछिल्लो समय वनभोज आउनेको सङ्ख्या उच्च रहेको शान्तिवनका एजुकेसन अफिसर सुदीपविक्रम अधिकारीले बताए । उनले भने, ‘१६ वटा पिकिनक स्पोट सबै भरिभराउ हुन्छ, अझ जाडोको समयमा त पिकिनक स्पोटदेखि बाहिरको ठाउँ पनि भरिभराउ हुने गरेको थियो ।’

कोरोना महामारीका कारण लामो समय बन्द भएको शान्तिवन मङ्सिरदेखि सञ्चालनमा आएको अधिकारीले बताए । ‘अहिले कुनै नयाँ संरचना निर्माण भएका छैनन्,’ अधिकारीले भने, ‘पुरानै संरचनालाई व्यवस्थित गर्दै सञ्चालन गरिदैँ छ ।’

विशेष गरेर शान्तिवनमा चन्द्रमाको चट्टान, डाइनोसरको जिवाश्मा, अन्तरारिक्षमा पुगेको नेपालको झण्डा, विभिन्न जीवहरुको जिवाश्मालगायत अवलोकन गर्नकै लागि भए पनि मानिसहरु पुग्ने गरेका छन् । त्यहाँ थ्रिडी सिनेमा पनि सञ्चालनमा छ । तर पछिल्लो समय कोरोनाका कारण बन्द रहेको शान्तिवन स्रोतको भनाइ छ ।

विराटनगरबाट नजिँकै र सडक पनि पिच भएका कारण सिटीसफारी, साइकलबाट समेत पुग्न सकिने भएकाले साइन्स सेन्टरको अवलोकनकै लागि भए पनि विद्यार्थीहरु पुग्ने गरेका छन् ।

धनुषाका राज दाहाल विराटनगरमा वसेर अध्ययन गर्छन् । उनले धेरै पहिला नै शान्तिवन साइन्स सेन्टरको बारेमा सुनेका थिए । शनिबार साथीहरुसँगै शान्तिवन पुगेका उनले भने, ‘पहिलादेखि नै यहाँ आउने योजना थियो, तर अवसर जुरेको थिएन ।’ दाहाल साइन्स सेन्टरमा पुगेर चन्द्रमाको चट्टानसँगै अन्य कुराको अवलोकन गर्न पाउँदा खुसी लागेको बताउँछन् । उनले भने, ‘अझै साइन्स सेन्टरलाई व्यवस्थित बनाउन सके आन्तरिक पर्यटकको सङ्ख्या बढ्ने देखिन्छ ।’

विराटनगरका कृष्ण माझीले पनि साइन्स सेन्टरमा पहिलो पटक पुगेको प्रतिक्रिया दिए । उनले भने, ‘यहीँको बासिन्दा भएर पनि आजसम्म आउन सकेको थिइनँ तर आज अवलोकन गर्न पाउँदा खुसी लागेको छ ।’

निजी क्षेत्रबाट सञ्चालनमा रहेको नेपालकै पहिलो विज्ञान केन्द्रमा सरकारी पक्षबाट अहिलेसम्म कुनै सहयोग नभएको भन्दै साइन्स सेन्टरका एजुकेसन अफिसर सुदीपविक्रम अधिकारी भन्छन्, ‘विभिन्न समयमा सरकारी पक्षबाट विभिन्न आश्वासन नआएका चाहिँ हैनन्, तर सहयोग भने अहिलेसम्म पाउन सकिएन ।’

सन् २००१ बाट सञ्चालनमा रहेको साइन्स सेन्टरमा विद्यार्थीका लागि होस्टेल बनिसकेको अधिकारीले बताए । तारा मण्डल निर्माणको कार्य सुरु भएको लामो समय भए पनि अझै अलपत्र अवस्थामा नै रहेको उनको भनाइ छ । सरकारी पक्षबाट कुनै सहयोग प्राप्त नहुँदा आर्थिक समस्याका कारण समयमा सम्पन्न गर्न नसकेको उनको भनाई छ । उक्त स्थानमा घुम्न जाने व्यक्तिबाट प्रतिव्यक्ति ५० रुपैयाँ लिइँदै आएको छ । उक्त रकमको भरमा नै विभिन्न कार्य भइरहेको उनले बताए ।

jackson ribon