birat ribon

जनयुद्ध दिवस : गोली बोकेर जङ्गलको बास, चल्दैन कम्मरमुनिको भाग

Neuro
जनयुद्ध दिवस : गोली बोकेर जङ्गलको बास, चल्दैन कम्मरमुनिको भाग

२०५८ साल माघ १ गते । माओवादी नेताको टाउकोको मूल्य तोकेर सङ्कटकाल लगाएको सरकार र तत्कालीन विद्रोही माओवादीबीच द्वन्द्व चर्किएको थियो । सरकारले माओवादी कार्यकर्तालाई जहाँ भेट्यो त्यहीँ गोली प्रहार गथ्र्याे । राज्यव्यवस्था परिवर्तन गर्न माओवादीले पनि सेना प्रहरीलाई आक्रमण गर्ने नीति लिएको थियो । सरकार र माओवादीबीच एक दशक द्वन्द्व चर्कियो । अन्ततः बलिदानीपूर्ण सङ्घर्षको बलमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आयो ।

घोडेटार ब्यारेक आक्रमणमा घाइते

cura insider

वि.सं. २०५८ मंसिर ८ गते सङ्कटकाल लागेपछि माओवादीले पूर्व क्षेत्रमा उपस्थिति जनाउन पाँचथरको घोडेटार ब्यारेक आक्रमणको तयारी गर्‍यो । आक्रमणको मिति माघ १० गते तोकिएको थियो । सोहीअनुसार तयारी थियो । युद्ध लड्ने माओवादी सेना अग्रिम तयारी गरिरहेका थिए । तर एकाएक केन्द्रबाट माघ १ गते आक्रमण गर्ने निर्देशन आयो । घोडेटार आग्रमणका लागि पूर्वी जिल्लाबाट सेनाको टोली बोलाइयो । मोरङ–सुनसरीबाट माओवादी सेना लिएर घोडेटार पुग्ने कमाण्डर थिए ‘रामकार्की र ‘बिमल’ ।

२०५६ सालदेखि माओवादी आन्दोलनमा लागेका उनी घोडेटार आक्रमणका लागि पार्टीको आन्तरिक बढुवामा परे । उनको बढुवामा दुईवटा संयोग छ । पहिलो प्लाटुन कमाण्डर दिप लिम्बु सांस्कृतिक विचलनमा परे, दोस्रो भिसीले जनसेनाको नेतृत्व गर्दै घोडेटार जान अस्वीकार गरे । पार्टीले उनलाई थप जिम्मेवारीसहित पठायो । माघ १ गते राति १२ बजे घोडेटारमा माओवादीले फायरिङ खोल्यो । माघको चिसो धेरै थियो । २ वटा एसल्टको जिम्मेवारीसहित रिजर्भ फोर्समा बसेका थिए बिमल । एउटा एसल्टमा पाँच जना सेना थिए । ब्यारेक घेर्न अन्य एसल्ट पनि थिए । उनको एसल्ट ब्यारेकको तलपट्टि थियो । अँध्यारो रातमा ब्यारेकमा हानेको बम आफैंतिर फर्कियो ।

उकालो भाग भएका कारण बम झरेर जनसेना घाइते भए । एकैपटक चार जना घाइते भएपछि हतियार लिएर एसल्टमा उनी आफैँ पुगे । राति १२ बजेबाट सुरु भएको दोहोरो बमबारी बिहान ४ बजेसम्म चल्यो । माओवादीले युद्ध जितेको अनुभूति कार्कीले गरे । फाट्टफुट्ट गोली चलिरहेको थियो । ब्यारेक वरिपरि काँडेतार थिए । काँडेतारबाट बङकरभित्र पस्ने निधो गरे । कमाण्डर भएका कारण उनी आफैं अगाडि बढे । तर माओवादी सेनाको टोली रिटर्न (फिर्ता) हुँदै थियो । कारण थप सेनाको फोर्स घोडेटारतर्फ बढ्दै थियो । काँडेतार छिचोलेर ब्यारेक छिर्दा पहिले अगाडि थिए उनी तर फर्कँदा अन्तिममा परे । गोलीबारी चलिरहेको थियो । ब्यारेकबाट रिटर्न हुँदैगर्दा गोलीबारी चल्ने क्रम एक्कासि बढ्यो । रामले सोचे आफ्नै साथीहरूले हान्दै छन् । कोर्ड भाषा प्रयोग गरेर उनले म यता छु बम नहान भने । तर बमबारी रोकिएन । उनले बल्ल बुझे आफ्ना साथीले होइन, सेनाले बमबारी गर्दै रहेछ ।

सेनाको निशाना परेको पत्तो पाएपछि बारीको कान्लाबाट लुक्दै–लुक्दै उनी भाग्दै थिए । तर एउटा कान्लाबाट झर्ने बेला बम पड्किएको ठूलो आवाज आयो । उनी उछिट्टिएर कान्लामुनि झरे । बम उनकै कम्मरमा पड्किएको थियो । बोल्न खोजे सकेनन् । आँखा पनि धमिलो देखियो । उठ्न सकेनन् बेहोस भए, बमकै आवाजले । ४–५ मिनेटपछि होस खुल्यो । होस खुल्दा उनका लागि आफ्नै शरीर भारी भइसकेको थियो । भाग्नलाई खुट्टा चलाउन खोजे चलेन, हात चल्यो तर बोली आएन । घिस्रिएर हिँड्न खोजे तर सकेनन् । साथीहरू निकै पर पुगिसकेका थिए । उनी घाइते भएको कमरेड बिमलले देखेका थिए । उनले घटना सुनाएपछि थमस मगरसहित अन्य उनलाई लिन आए । दोस्रोपटक युद्धमा कमाण्डर भएर गएका उनलाई मरिन्छ या मारिन्छ भन्ने थियो । घाइते हुइन्छ भन्ने थाहा पाएको भए आवश्यक सामाग्री लिएर जाने थिए ।

घाइते कार्कीलाई बोक्ने सामग्री थिएन । कान्लामा छेलिँदै जाँदा सुनुवार घुम्तीनजिकै नेपाली सेनाको गाडी आयो । ‘मैले साथीहरूलाई भाग्नु भनेँ,’ राम सम्झन्छन्, ‘मृत्युको खबर घर पुर्‍याइदिनू’ भन्दै डायरी जिम्मा दिए । भाग्नुअघि साथीहरूले कान्लामुनि फालिदिए । सेनाको गाडी कट्यो र फेरि झुण्ड्याउँदै बोकेर लगे । बजारमा तन्ना मागेर उनलाई बोकियो । उज्यालो हुने बेला भएकाले गाउँको एक घरको सिलिङमा रामलाई लुकाएर साथीहरू भागे ।

बिहानपख घाइते शरीर बोकेर धेरै टाढा भाग्न सक्ने अवस्था थिएन । सेनाले उपस्थिति बढाएको थियो । दिनभरि राम कार्कीलाई राख्न पूर्ण मुखियाको घर पुगे । उनीसँग वृद्धा आमा बस्थिन् । आमाले सुरुमा राख्न मानिनन् तर साँझ लिन आउने आश्वासन दिएपछि सिलिङमा साँझसम्म आश्रय दिन तयार भइन् । रामलाई केही खान दिनु भनेर माओवादी कार्यकर्ताले १००० रुपैयाँ दिए, जुन पैसा रामले मर्छु भन्ने लागेपछि साथीलाई जिम्मा लगाएका थिए । विपन्न परिवारका मुखियाको घरमा न जाडोमा लगाउने लुगा थिए न ओड्ने सिरक नै । माघको चिसोमा मुखिया परिवारको दैनिकी कष्टकर रूपमा चल्दै थियो । आमा छोराको कष्टकर दैनिकीलाई घाइते अवस्थामा पुगेका रामको प्रवेशले केही दिन झन् कष्टकर बनाएको थियो ।

घाम झुल्किन नपाउँदै आकाशमा सेनाका हेलिकोप्टर घुमिरहेका थिए । माओवादी खोजेर छानामाथि हेलिकोप्टर घुम्दा मुखिया आमा–छोराको सातो उडेको थियो । उनीहरूलाई डर थियो, ‘माथिबाट दुरबिनले हेर्दा सबैथोक देखिन्छ ।’ तर बिचरा उनीहरूलाई ‘सानो पातले छेक्दा केही पनि देखिँदैन’ भनेर सम्झाउन रामलाई लामै सङ्घर्ष गर्नुपर्‍यो ।

रामले माओवादी कम्ब्याट लगाएका थिए । तर रक्ताम्य थियो । आमा छोरा डराएपछि उनले कम्ब्याट खोलेर गाडिदिन भने । कम्ब्याट खोलेपछि पूर्णको पेन्ट दिइयो । सेनाको डरले बारी खनेर कम्ब्याट पुरियो । माघको चिसो ठिही थियो । घाइते अवस्थाका कार्कीको पीडा व्याख्या गर्न सक्ने शब्द छैन । दिसा–पिसाब गएको थाहा हुन्थ्यो तर रोक्न सक्दैन थिए । अचानक दिउँसो पिसाब रोकियो, पिसाब रोकिएपछि पीडामाथि पीडा थपियो ।

बिहानको झिसमिसेमा छाडेर गएका साथी साँझमा लिन आउँछन् र उपचार हुन्छ भन्ने विश्वासमा थिए राम । बमको घाउले कम्मरमुनिको भाग चल्दैनथ्यो । पहिलो १२ घण्टा सिलिङमा सुतेर बिताएका कार्कीलाई लिन कोही माओवादी आएनन् । आज, भोलि भन्दै एक हप्ता बित्यो । मुर्दाझैँ सिलिङमा लडेको ज्यान साथीको प्रतीक्षामा थियो ।

सुरुमा मर्छु भनेका राममा बाँच्छु भन्ने झिनो आशा थियो । तर आएनन् । घोडेटार घटनामा १०–११ जना माओवादी कार्यकर्ता घाइते भएका थिए । उनीहरूको उपचारका लागि मध्यजंगलमा माओवादीको टोली परिचालित थियो । सामान्य घाइते भएका साथी आफूलाई लिन नआएपछि पीडा सहन नसकी कार्कीले प्रहरीलाई बुझाइदिन भने तर प्रहरीलाई बुझाउँदा माओवादीले दुःख दिन्छन् भन्ने ठानेर पूर्ण मुखिया ओछ्यान परेका कार्कीलाई बचाउन लागे । शरीरको पीडा थाम्ने साहस थिएन । घरदेखि केही पर ब्यारेक थियो ।

घरबेटीलाई उपचार गर्न लैजाऊ भने तर घरबाट निस्कन सक्ने अवस्था थिएन । तिहारको टीका लाउन तयारी अवस्थामा रहेकी चेलीलाई छाडेर भाइटीकाको अघिल्लो दिन मुक्ति आन्दोलनमा हिँडेका कार्की पार्टीका सदस्यले छाडेपछि परिवारको आशामा थिए । घरमा खबर पुगे आएर लैजान्छन् भन्ने थियो । सिलिङमा ओछ्यान परेका उनलाई भेट्न आएका गाउँलेलाई घरसम्म पुर्‍याइदिन भने तर सङ्कटकालका कारण उनलाई लिन हिँडेका मान्छे बाटोबाटै फर्किए ।
पीडा सहन नसकेर सेना बोलाएर जिम्मा लगाइदेऊ भन्दा घरबेटीले पाप गर्न चाहेनन् । ‘औधी पीडा भएपछि सेना बोलाइदेऊ मार्छ भने मारोस् होइन भने उपचार गरोस् भनेँ,’ कार्की भन्छन्, ‘घरमा बस्दा गनगन गरिरहने आमा छोराले प्रहरीको जिम्मा लगाउन सकेनन् । तँलाई बचाउँछु भन्दै राखे ।’

साथीको प्रतीक्षामा एउटै सिलिङमा सुतेर ३० दिन बिते । यो बीचमा शरीरको बाहिरी घाउ निको हुनथालेको थियो । तर भित्री चोटको सीमा थिएन । कम्मरमुनिको भाग नचल्दा मुर्दाझैँ लडिरहे । एक महिना बस्दा एक कान दुई कान हुँदै घाइते माओवादी बसेको हल्ला ब्यारेकसम्म पुगेको थियो । दिनभरी घरमा बसे पनि साँझ परेपछि भने घरबेटी बास बस्न अर्कै घर जान्थे । ‘मेरो कारणले तपाईंको ज्यान जोखिममा हुनुहुँदैन भनेर राति अन्तै गएर सुत्नुस भनेको थिएँ,’ कार्की सम्झन्छन्, ‘बचाउन भन्दै गाउँमा चार÷पाँच जना साथी लागेका थिए ।’ उनलाई बचाउन चाहनेहरू भने दिनभरि सेनाको सुराक गर्थे र साँझ रामलाई सुनाउँथे । आजभोलि गर्दै स्थानीय युवा घनिष्ठ भइसकेका थिए । घरमा बसेको २३–२४ दिनपछि सेना सर्च गर्न आउने योजना अगाडि नै रामलाई सुनाए । अघिल्लो दिन राति गाउँका युवा भेला भएर कतै लुकाउने योजना थियो । झिसमिसेमा साथी जुटेनन् । उज्यालो भएपछि लाने सम्भावना थिएन । घाइते भएको पछिल्लो दौरानमा बाँच्छु भन्ने सानो आशा थियो । तर सेना आउने भएपछि उनको बाँच्ने आशा म¥यो । कापी कलम मागेर परिवार र पार्टीलाई दुईवटा चिठी लेखे । पूर्णलाई घर छाडेर जान लगाए तर एउटा सर्तमा । उनले चिठी पुर्‍याउने जिम्मा पूर्णलाई दिए । उनले भनेका थिए, ‘म चिठी लेखेर छानामा सिउरिन्छु तपाईंले जसरी हुन्छ पठाइदिनुहोला ।’ गाउँलेले चन्दा उठाएर घाइते ज्यानलाई तङ्ग्रयाउन घिउ किनिदिएका थिए । मर्ने निश्चित भएपछि उनले घिउ खाए, मुख चलाइरहन साथमा भएको भिक्स चकलेट पनि सबै खाए । जोगाएको भए २–४ दिनलाई पुग्थ्यो ।

पुरानो झुप्रो घरमा रहेका घरबेटीलाई बिहानै ‘तपाईंहरू अन्तै जानू’ भन्दै पठाए । दिउँसो सेनाको टोली गाउँमा सर्च गर्न आयो । गाउँका सबै घरमा खरको मुठासम्म पल्टाएको सेना उनी बसेको घरसम्म आएन । उनको बाँच्ने भाग्य बलियो । गाउँमा घाइते माओवादी रहेको सेनालाई पक्का खबर थियो । सेनाले घरघरमा खोजी गर्दा गाउँलेको सातो उडेको थियो । तर पूर्णको घर नआई फर्किएपछि थोरै भए पनि सुखको सास फेरे ।

सुरुमा नभेटेपछि फेरि सेना खोजी गर्दै आउने आयो । अब भने टार्गेट उनी बसेकै घर थियो । तर अगाडि नै थाहा पाएका साथीहरूले राति नै कार्कीलाई जङ्गलमा लगेर छोड्ने निधो गरे ।

चिसो मध्यरातमा चार जनाले डेढ घण्टाको पैदल दरीमा पर्ने जङ्गलमा राखिदिए । दिउँसो सेनाले घर हेर्दा केही भेटेन । जङ्ंगल पुर्‍याएर छाडिदिँदा चन्दा उठाएर हरलिक्स किनिदिएका थिए । सेनाको डरले जङ्गलमा छाडेर सहयोगीहरू हिँडे । माओवादी युद्धमा लागेकोमा अघिल्दो दिनसम्म गौरव गर्ने उनी जङ्गलमा घाइते ज्यान लिएर एक्लै बस्दा गल्ती गरिएछ कि भन्ने महसुस गर्थे । उनलाई छेउमा राखिदिएको हरलिक्स र खानेकुरा सोही दिन साँझ सकियो । चिसो ढुंगामाथि जाडोमा उनी बसिरहे ।

उनलाई जङ्गलमा पुर्‍याउनेमध्येका एक थिए लालबहादुर कार्की । जसको घर जङ्गल छेउमा थियो । मध्यरातमा बाघ लाग्ने भोटेगढी जङ्गलमा पुगेका कार्कीले पाँच दिन पाँच रात दर्दनाक जीवन बिताए । अघिल्लो एक महिना जसोतसो घरको ओत लागेका उनले थोरै भए पनि खान पाएका थिए । तर यहाँ खान पाउने अवस्था थिएन । र मनकारी कार्की दिनको एक छाक भुटेको मकै लिएर जङ्गल जान्थे । उनले नै मकै खुवाएर सास जोगाइदिए ।

लालबहादुर देउता बनेर प्रकट भए

बसेको ठाउँबाट जिउ यताउता सर्न सक्ने अवस्था थिएन । ठूलो ढुङ्गाामा बस्दा फागुन पहिलो साता पानी पर्‍यो । लेक लाग्ने ठाउँमा चिसो पानी पर्दा जाडो कस्तो भयो भनेर बयान गर्ने शब्द नै छैन । जङ्गलमा कार्की भोकै मर्नुपर्ने अवस्था थियो । तर लालबहादुरले श्रीमती र बुबाको आँखा छलेर उनको शरीरमा सास अड्याउने काम गरे । सधैँ घरमा मकै भट्मास खाजा र चिया पाक्थ्यो । खाजा खाएर मात्र घाँस दाउरा गर्न जङ्गल जाने चलन । तर जङ्गलमा रामलाई छोडेदेखि लालबहादुरले घरमा खाजा खान छाडे । भुटेको मकै र प्लास्टिकको बोतलमा चिया हालेर उनी जङ्गलतर्फ जान्थे । घरमा भन्न सक्ने अवस्था थिएन । चिया पकाएकी श्रीमतीलाई जङ्गलमै खान्छु भन्दै लिएर आउँथे र कार्कीलाई खुवाएर घाँस लिएर फर्कन्थे । यो प्रक्रिया ३–४ दिनसम्म चलिरह्यो । लालबहादुर र उनकी श्रीमतीबीच नै खटपट हुने अवस्था आयो । श्रीमतीलाई शङ्का थियो कि आफ्नो श्रीमान् कोही मान्छेसँग सल्किएको छ र सधैँ जङ्गल जान्छ । चौथो दिन लालबहादुर घरबाट निस्किएपछि उनले देखुञ्जेल घरबाट हेरिन् ।

त्यसपछि श्रीमान्को पछि लागिन् । उनको शङ्का श्रीमान् परस्त्रीसँग लागेको छ कि भन्ने थियो । तर जङ्गलमा मान्छे देख्दा उनको सात्तो गयो । शङ्का गरेका श्रीमान्ले कसैको ज्यान बचाइरहेको थियो । उनलाई देखेपछि कार्कीले सबै कुरा सुनाए । ढुङ्गामा बसेका उनलाई अलैँचीको दुई भारी स्याउला ल्याएर सोत्तर बनाइदिइन् र पानी परे ओड्ने प्लास्टिक पनि दिइन् । अब भने बल्ल मान्छेका लागि जेनतेन बस्नलायक भएको थियो । उनले दिनमा एकपटक खाना खाने अवसर पाए ।

२००७ सालको क्रान्ति लडेका उनका बुबाको स्वभाव कडा

जङ्गलमा सधैँ बस्ने कुरा भएन । कार्कीले घर लैजाने निधो गरे । तर आफ्नो परिचय लुकाउनुपर्ने थियो । २००७ सालको क्रान्ति लडेका उनका बुबाको स्वभाव कडा थियो । माओवादीलाई मन पराउँदैन थिए । साँझपख घरमा जङ्गलमा मान्छे घाइते छ भन्ने सुनाउँदा छोरालाई ‘जिउँदै छ भने ल्याउनू’ भने । श्रीमान्–श्रीमती पुगेर बोकेर घरसम्म ल्याए । घरमा आएपछि बुबाले सबै विषय सोधे । किन आको ? घर कहाँ हो ? कहाँ हिँडेको ? कार्कीले पहाडमा पैसा उठाउन हिँडेको बताए । तर बूढाले यहाँ कसरी पुगेँभन्दा पत्याएनन् । पैसाको लोभले कुटेर फाले भन्दा बल्ल पत्याए र रातमा सुत्न दिए । कार्की नै भएका कारण उनले बन्धुको साइनो लगाएका थिए । तर माओवादी भन्ने शङ्का लागेपछि उनी प्रहरी बोलाउन जान तयार भए ।

६ दिन घरमा जसोतसो बसे । बीचमा घाइते माओवादी खोज्दै दुई जना मान्छे आए । जतिबेला उनी बाहिर घाम तापिरहेका थिए । तर छेउको ढुङ्गाले छेल्यो । ती मान्छेलाई बाले नै छैन भन्दै फिर्ता पठाइदिए । ती मान्छे को थिए केही खुलेन । पाँचौँ दिनसम्म राम माओवादी भन्ने कुरामा प्रष्ट भए ती बूढा । कार्की बा प्रहरीलाई खबर गर्न भोलिपल्ट बिहान जान तयार थिए । घरमा भैँसी पालेका थिए । जसको रेखदेख बाले गर्थे । भैँसीलाई खोले खुवाएर जाने योजना थियो उनको । प्रहरी चौकी टाढा थियो । बुबा प्रहरी चौकी जाँदा रामलाई फेरि जङ्गलमै लगेर छाड्ने छोराबुहारीको सल्लाह भयो । तर सोही दिन घाइते मान्छे खोज्दै दुई जना मान्छे पुगे । आवाज सुन्दै उनले चिनी हाले । आँगनमा उभिएका अरू कोही नभएर उनका बुबा र साथी भक्तशेर लिम्बू थिए । रामको अवस्था देखेर बुबा रुन थाले । घरबाट ठमठमी माओवादीमा हिँडेको छोरो आज हलचल गर्न सक्ने अवस्थामा थिएन । बुबा रुँदा घरबेटी गोठमा थिए ।

तर घरबेटीले माओवादीको कुरा नगरेकाले बुबालाई नरुन आग्रह गरे । आफूले ढाँटेको विषय पनि सुनाए । छोराको अवस्था देखेपछि बुबाको मन भित्रभित्रै भतभती पोल्यो । डेढ महिनाअघि हराएको सूचना पाएपछि छोरा खोज्दै आएका बुबाले पाँच दिनपछि मात्र छोरा फेला पारे । तर छोराका लागि बाहिर आँशु देखाएनन् । राति बूढाले केरकार गरे । मध्यरातमा माओवादी होइन भन्ने कुरामा विश्वस्त भए । भोलिपल्ट बिहान बोकेर लैजाने कुरा भयो । तर रामले मानेनन् बोकेर जाँदा उनीसँगै बा र साथीको ज्यान पनि खतरामा पर्ने थियो । जाने भए गाडी मै जाउँ भने । गाडीमा जान घरबेटी पनि तयार भए । भोलिपल्ट बिर्तामोडका लागि गाडी चढे । बाटोमा सेनाले अवरोध गर्न खोज्यो । तर एउटी युवती आएका कारण उनी जोगिए । इलामबाट कटेपछि चारआली हुँदै विराटचोक आएर बुबा घर गए ।

उनलाई उपचारका लागि विराटनगर कोसी अञ्चल अस्पताल ल्याइयो । अस्पतालले ढिलो भएकाले उपचार गर्न सकिँदैन भन्यो । त्यसपछि डाक्टर चाङको खोजीमा भारतको सिलगुडीतर्फ लगियो । सात दिनको उपचारपछि फेरि फर्काएर घर ल्याइयो । ढिलो भएका कारण उनीहरूले सामान्य उपचार गरे । गुमेको कम्मरमुनिको भाग सक्रिय बनाउन गाह्रो भयो र अपाङ्ग भए ।

सेना प्रहरीबाट जोगिन फेरि भारत

उपचारपछि फर्किएको ६ दिन घरमा बस्दा सेनाले सुराक पायो । बसेको घरबाट बुबाआमाले मध्यरातमा अर्कै घरमा सारे । भोलिपल्ट सेना आयो । रामलाई भेटेन । बहिनी प्रमिलालाई लगेर सात दिनसम्म थुनेर राख्यो । छोरो जोगाउन बुबाले सबैतर्फका मान्छेसँग हारगुहार गरे । तर सबैले आत्मसर्मपण गरेमात्र बचाउन सक्ने बताए । तर कार्की आत्मसर्मपण गर्ने पक्षमा थिएनन् ।

सेना प्रहरीबाट जोगिन उनलाई फेरि भारत नै लगियो । घरबाट एम्बुलेन्समा बिहानको सबेरै सिलिगुडीतर्फ जाँदा बाहुनी क्षेत्रमा सेना र माओवादीबीच दोहोरो भिडन्त चलिरहेको थियो । मन अमिलो पार्दै उनी काँकडभिट्टाबाट पानीटंकी प्रवेश गरे र एम्बुलेन्सलाई फर्काएर अटोमा चढेर सरकारी अस्पताल पुगे ।

पछि एम्बुलेन्समा गएको थाहा पाएपछि प्रहरीले चालकलाई कहाँ लगिस् भन्दै सोध्यो । आधा बाटोबाट छोडेर आएका कारण उसले केही बताउन सकेन । अपाङ्गता भएका कारण उनले पार्टीका जनसेनाको रूपमा काम गर्न सक्ने अवस्था थिएन । बीचमा पार्टीलाई बाहिरै बसेर सहयोग गरे । २०६२/६३ को जनअन्दोलनपछि उनीखुलेर हिँड्न सके ।

घाइते र अपाङ्गहरूको नेता

पछिल्लो समय उनी जनयुद्धमा घाइते भएकाहरू र अपाङ्गहरूका लागि काम गरिरहेका छन् । अपाङ्ग महासङ्घ प्रदेश १ को दुई कार्यकाल अध्यक्ष भएका उनी निरन्तर सामाजिक कार्यमा लागिरहेका छन् । त्यसबाहेक उनी गाउँमा कृषि उद्यमतर्फ पनि सक्रिय छन् । उनले जनयुद्धमा घाइते भएकाहरूको संरक्षणका लागि मोरङको केराबारी गाउँपालिका–९ मा केन्द्रीय कार्यालय रहनेगरी ‘घाइते योद्धा प्रतिष्ठान’ स्थापना पनि गरेका छन् ।

(घाइते योद्धा प्रतिष्ठानले प्रकाशन गरेको जनयुद्धका घाइते योद्धाहरूको सङ्घर्ष गाथा पुस्तक, ‘नमेटिने घाउ’बाट साभार, सम्पादित)

jackson ribon