birat ribon

अघोषित दास

Neuro
अघोषित दास
माधव काफ्ले
नभनिकन गरिने काम भनेर गरिनेभन्दा निकै घातक, मर्मस्पर्शी र हृदयविदारक हुँदोरहेछ । मन दुखाउने र मुटु टुक्र्याउने हुँदोरहेछ । मानसिकता कुँड्याउने र चेतना धमिल्याउनेखालको हुँदोरहेछ । शङ्कास्पद र त्रासदयुक्त पनि हुँदोरहेछ । पर्दा पछाडिबाट गरिने कामले केवल कुण्ठाका काला औंशा उमारेर क्लेस जन्माउँदो रहेछ, असन्तोष र इष्र्या जन्माउँदो रहेछ । अनि विश्वासका क्रियाशील धमनीहरूलाई दम्भले फुकालेर फत्तलफाँडो बनाउन पुग्दोरहेछ ।

आदिम युग असभ्य र असंस्कृत भए पनि विश्वासमा बाँचेको थियो र मान्छे सबैसँग भरोसा गर्दथे । आपसी मेल–मिलाप र सदाचारमा बाँचेको थियो र आत्मीय सम्बन्ध अनि सौहार्दपूर्ण व्यवहार गाढारूपमा विकसित भएको देखिन्थ्यो । सह–अस्तित्व थियो । सहानुभूति र संवेदना पनि तीव्र थियो । व्यक्ति–व्यक्तिका लागि मात्र नभएर समूहका लागि, समाजका लागि, संस्कारका लागि काम गथ्र्यो । आर्जन र उपलब्धिका तमाम स्रोत साधन र दृष्टिकोण व्यक्तिविशेषका लागि मात्र नभएर समूहका लागि हुन्थ्यो, समाजका लागि हुन्थ्यो । त्यसैले मीठो,पीठो जेजस्तो मिल्यो दामाशाहीको हिसाबले बाँडेर खाने परम्परा विकसित गरेका थिए ।

मौलिक कानुन नभए पनि, अड्डा–अदालत नभए पनि, पुलिस–प्रशासन नभए पनि स्थिर राज्यसत्ता र शक्ति नभए पनि अपहरण, बलात्कार र फिरौतीका घटनाजस्ता जघन्य अपराधमाथि पूर्ण नियन्त्रण राखेर समाजलाई यहाँसम्म ल्याइपुर्‍याउन उल्लेखनीय योगदान गरेको थियो ।

सुनेको कुराले भन्दा पनि भोगेको यथार्थले मन धेरै चिमोट्तो रहेछ । पढेका कुराले भन्दा पनि देखेका घटनाले आँखा धेरै पोल्दोरहेछ । सुनेका कुराले भन्दा पनि अनुभूत गरिएका घटनाहरूले मुटु धेरै नै कोतर्न खोज्दोरहेछ ।

सात साल आयो मैले त देखिन । भोग्नेहरू जीवितै छन् तर पनि प्रजातन्त्र स्थापनाका लागि सडक तात्यो, सहर तात्यो, गाउँ तात्यो । भन्न जे–जे भनिए पनि ज्यान जोगाउन राजा पुच्छर लुकाउँदै कुलेलम ठोकेका हुन् । राणाहरूलाई पनि हुत्याउन पाए यसो केही छलछाम गरी परान धान्न सकिन्थ्यो कि भन्ने लिखे दाउमा राजा पनि थिए र गाउँ–गाउँबाट टाठा–बाठा सहरतिर पसेका हुन् । आन्दोलन भयो । तर, बलिदानको ओजश्वी निधारमा सम्झौताको ल्याप्चे ठोक्तै राष्ट्रपिताको पीताम्बर ओढी सिँहासनारुढ हुन आइपुगे तिनै भगुवा राजा । उनीजस्ता हुतिहारा महत्त्वकाङ्क्षी मनुष्यलाई कटौती गरिएको भनिएको राणाहरूको अधिकारसमेत पोल्टामा हालिदिएर निसङ्कोच राजा बनाउने महापुरुषहरू भन्दा त लाज लाग्छ प्रजातन्त्रकै हिमायतीहरू थिए ।

चोक, गल्लीमा चर्को नारा लगाएर माथि–माथि उफ्रिनेहरू जति मन्त्री, विधायक बने । बस, सकियो !

सातसाले जनक्रान्तिको बलियो उपलब्धि भनेको यति नै हो जस्तो लाग्दछ, मलाई ।

सत्ता हस्तान्तरण र प्रजातन्त्र आए के–के न पाउँछौँ भनेर मुख मिठ्याउँदै हिँड्ने सेनानीहरूलाई उल्टोसुल्टो पारेर खुवाइएको लोप्वाको एउटा राजसी प्रक्रिया ।

अझ भनौँ व्याघ्रमुखी राणा शासन हटे पनि मक्करमुखी शाह शासन हटेको थिएन, प्रजातन्त्र आए पनि निरङ्कुशता सकिएको थिएन । वहुदलीय व्यवस्था आए पनि नागरिकहरूका अधिकार प्र्रत्याभूत गर्न सक्ने निर्वाचित सरकार आएको थिएन । स्वतन्त्रता आए पनि स्वेच्छाचारी व्यवस्थाको अन्त्य भएको थिएन । जतिखेर मन लाग्यो कात्तिके कुकुरले श्रीमती फेरेझैँ राजा प्रधानमन्त्री फेर्दै जान्थे । प्रतिकार गर्न कसैमा साहस देखिएन । एउटा कालो थुतुनो लगाएर अँध्यारो कुना पस्थ्यो । अर्को जुँगा मुसार्दै पदबहालीको ताजा पुर्जी थाप्न पुग्दथ्यो ।

अझ भनौँ केही पेसेवर दलाल र चाटुकारहरूले धोती फेरे पनि निरीह नागरिकहरूका निम्ति भने सातसाले जनक्रान्तिको प्राप्ति हात्ती आयो हात्ती आयो फुस्सासरह नै हुन पुग्यो ।

पन्ध्र्र सालमा पनि त्यस्तै भयो । घोषणा पत्रमा गरिबी उन्मूलनका लम्वेतान खाका र आकर्षक विशेषण प्रयोग गरिए पनि सुकिला धोती फेर्नेहरूले नै गगनचुम्बी महल ठड्याउन सके । निमुखाहरूको भने टोपी छेडेर टुप्पी ठडिन थाल्यो ।

सत्र साल पनि साँढेको जुधाइ बाछाको मिचाइ हुन पुग्यो ।

छत्तीस साल आयो, छ्यालीस साल आयो, अन्ठाउन्न, बैसठ्ठी–त्रिसठ्ठी आयो । आन्दोलनका नाउँमा, परिवर्तनका नाउँमा जे जति रगत रोपियो ती सबै चाटुकारहरूको नभएर निश्छल नेपालीहरूको स्वाभिमानी रगत थियो । समृद्ध राष्ट्रको सुकिलो परिकल्पनाका लागि गरिएको महान त्याग र समर्पणको अजम्बरी बाली थियो । तर त्यसको प्राप्ति र फल भने ती अभागीहरूका सन्तान दरसन्तानहरूले चाख्न त परै जाओस् सुँघ्न पनि पाएनन् ।

उपलब्धि र योगदानको नाउँमा  दुई÷चार सय ट्यास्स टीको लगाएर कसैको अभागी निधारमा टाँसिदिएको भए वेग्लै कुरा हो नत्र भने आजसम्म पनि कति आन्दोलनका साहसी योद्धाहरू फुटेको पुर्पुरो, भाँचिएका करङ, खुस्किएका छेपारी र टुक्रिएका खुट्टाहरू घिसारेर अपाहिज जीवन बिताउन विवश बनिरहेका छन् । सङ्घर्ष र बलिदानको अर्थ जे जस्तो लगाएर परिभाषित गरे पनि यो केवल सत्ता परिवर्तनको छेसाहा पद्धति मात्र हुन पुग्यो । सत्ता साझेदारीका लागि मात्रै सीमित गरिएको यस प्रक्रियाले शक्ति सन्तुलनमा मात्रै आफ्नो क्षमता केन्द्रित गर्न पुग्यो । एकतन्त्रीय शासन व्यवस्थामा नागरिकहकका मौलिक अधिकारहरूलाई बलिको बोको बनाइयो ।

त्यसका ठाउँमा उदारवादी वहुदलीय व्यवस्था पनि भित्र्याइयो र त्यसले त झन् नागरिकहरूलाई नाङ्गेझार बनाउने पुरुषार्थ गरेर उग्राउन थाल्यो । प्रजातान्त्रिक व्यवस्था पनि आयो । नयाँ संविधान र त्यसको परिभाषा पनि आयो । रूप फेरिए, रङ्ग फेरिए, कमानी फेरिए, अनुहार फेरिए, अर्थ फेरिए, परिभाषा फेरिए तर व्यवहार फेरिएन, कार्यशैली फेरिएन, स्वेच्छाचारी बानी र व्यहोरा पनि फेरिएन । महासामन्तका रूपमा सांसदहरूको उदय र भूमिका हुन थाल्यो । संवैधानिक मूल्य, मान्यता र प्रजातान्त्रिक आचरण निरीह नागरिक हकार्ने, तर्साउने, लछार्ने, पछार्ने र सकेसम्म चिथोर्ने साधन बने, हतियार बने, आधार बने । विधिको शासन शासकहरूको खल्तीमा खुम्चिन पुग्यो र हुती औकातअनुसार परिभाषित हुन थाल्यो ।

तथाकथित विश्वकै उत्कृष्ट ठानिएको परिवर्तित संविधानका विभिन्न धारा र कुवालाई जङ्गी बुटले कुल्चिएर कालान्तरमा किचिपिची पारिदियो । पार्टीका विभिन्नखाले खोचे थपाइ र लिँडे ढिपीले नागरिक स्वतन्त्रताका वैधानिक आधारहरूलाई पैशाचिक पारामा घिसारेर हुर्मत लिन थालेपछि कानुन भनाउँदो बबुरो धोबीको गधा जस्तै घरको न घाटको हुन पुग्यो ।

अहिले त्यही खोक्रो आडम्बरको अहम्जन्य राप तताएर भत्केका मनहरू सेक्ने काम गरिरहेका छन् ।

संसार निकै ठूलो छ भन्दछन् देख्नेहरू । सुनेको मात्र हुँ । देख्न पाएको छैन, घुम्न सकेको छैन । जुन भूगोल माथि उभिएको छु पहुँचको क्षेत्र पनि त्यही हो, परिचयको रुमानी आधार पनि त्यही हो, परिभाषाको पार्कोटे सिमाना पनि त्यही हो । जुन विसङ्गति व्यथिति र व्यभिचारको भुङ्ग्रोमाथि टेकेर भविष्य खोज्दै हिँडिरहेको छु त्यही पीडा, त्यही वेदना, त्यही विडम्बना बोकेर मेची उर्लेको हुनुपर्दछ, महाकाली उठेको हुनुपर्दछ, कर्णाली सुसाएको हुनुपर्दछ, उत्तर उचालिएको हुनुपर्दछ, दक्षिण तातेको हुनुपर्दछ । सत्ता र राजनीति पहुँचदेखि अलग्गै बसेको स्वाभिमानी नेपालीले भोगेको मर्मान्तक पीडा र विषादको अनुभूति त्यति फरक किसिमको होओइन भन्ने लख काट्तै छु ।

प्रजातन्त्रको उल्लेखनीय उपलब्धिका रूपमा देखा पर्दैछ नजराना र यसले छोटै समयमा भने पनि आप्mनो राक्षसी सञ्जाल सर्वत्र व्याप्त गराउन सफल भएको छ । र अहिले पानीबिना यो देश चल्न सक्ने भएको छ, हावाबिना यो देश चल्न सक्ने भएको छ, विकासबिना पनि यो देश चल्न सक्ने भएको छ तर नजरानाबिना मिनेट भर पनि चल्न खोजे कमानी खुस्काएर थला पर्न खोज्दछ । फिराद गर्नूस् नजराना, मिलापत्र गनूस् नजराना, सरुवा, बढुवा, पद बहाली एवम् योग्यताको कसी नजरानाद्वारा नै निर्धारित हुँदै छन् । प्रशासन त यसैमा निष्णात छ । सेवामुखी कार्यहरू पनि नजरानामुखी हुँदै जान थालिरहेका छन् । विद्युतमा होस, खाने पानीमा होस, दूरसञ्चारमा होस्, रेडक्रसमा होस, परोपकारमा होस जहाँतहीँ यसैको सकुनी सञ्जाल व्याप्त छ ।

विश्वमा आजसम्म जे जति राजनीति सिद्धान्त, विचार र दर्शन प्रतिपादन भए, गरिएका छन् ती सबैको जगमा सुकिलो आवरण र सङ्लो लोककल्याणकारी भावना देखिएता पनि प्रयोगमा भने यस हिमाली उपमहाद्वीपले भने परपीडालाई गुरूमन्त्र मानी हिँडिरहेको छ । राजतन्त्रात्मक शासन प्रणालीमा आपसी कलह, द्वेष, सत्ता सङ्घर्ष, बन्धुहत्या र विश्वासघात सदैव मडारिइरह्यो भनेर नै लोकले जननिर्वाचित र लोकतान्त्रिक शासन पद्धतिको मार्ग अवलम्बन गरेपश्चात छाडा संस्कृतिलाई पृष्ठपोषण गरेर साख जोगाउनमा नै तल्लीन रह्यो । राजतन्त्रको बदलामा जनतान्त्रिक शासन पद्धति सुरुवात भएता पनि राजनीतिज्ञहरूको दरो दृष्टिकोण, विशुद्ध चारित्रिक आचरण, आम नागरिकप्रति विश्वासको सङ्लो भावनाको नितान्त कमीले गर्दा हिटलर, मुसेलिनी, इदि अमिन, बोकासा, मार्कोस, पिनासे, सनी अबाचा, सुहार्तोजस्ता अनेकौं दृष्टिहीन पाषाण हृदयी नरभक्षीहरूको उदय हुन पुग्यो ।

द्रव्यको पिशाचले फनफनी घुमाएर बेहाल बनाउँदै लगेको हुनाले पनि नागरिकहरूको हक हित संरक्षणार्थ शान्ति सुरक्षा र अमन चयन कायम गर्ने किरिया काष्टा खाएर सत्तारुढ हुन पुगे पनि भोलिपल्टदेखि नै शासकहरू जनमुखी हुनुभन्दा पनि द्रव्यमुखी, सुविधामुखी हुँदै जान थाल्ने हुनाले हिंशामुखी हुँदै गएका देखिँदै छन् । राज्य सञ्चालन गर्ने बलियो आधार जनमतलाई ठनक्क भाँचेर गुण्डगर्दीको बल र तुजुकमा देश हाँक्न अग्रसर हुने प्रथा यस देशमा निकै फस्टाउन थालेको छ । राजनीति आस्था, सिद्धान्त र विश्वासले भन्दा पनि प्रतिशोधात्मक कार्य प्रणाली र अन्तर्राष्ट्रिय जासुुस गिरोह भनौँ बहुराष्ट्रिय कम्पनीको इशारामा पुच्छर हल्लाउँदै चल्न थालिरहेको छ । शासन सञ्चालन गर्न अग्रसर हुनेहरू दरो नीतिको आधारमा राष्ट्र हाँक्नुभन्दा पनि ट्वाक थापेर राष्ट्र हाँक्न खोजिरहेका छन् । आर्थिक चुहावटलाई रोक्नुको साटो त्यसमा यामानको भ्वाङ पारेर र राष्ट्रलाई टेकाउन सक्ने ठूला उद्योगहरूलाई उदारवादको नाउँमा बलि चढाउँदै भनौँ निजीकरणको पासोमा हालेर पछार्दैं मगन्ते संस्कृतिलाई अझ फलिभूत पार्न कछाड कसेर लागिरहेका छन् । देशलाई समृद्ध तुल्याउने नाउँमा नागरिकहरूलाई हरिकङ्गाल पार्ने कार्य दिनानुदिन बढिरहेको देखिँदै छ ।

चरित्र नसुधारी गरिएको राजनीतिले पिठ्युँमा जतिसुकै कोर्रा हानेर हिँडे पनि ऐइया समेत भन्न नपाइने रहेछ । जेल, नेल खप्न सके, सिके पनि असल राजनीतिमा हुनुपर्ने गुणलाई आत्मसात् गर्न नसिक्ता हुने मर्मान्त पीडा र छट्पटिको कालो त्रास कस्तो किसिमको हुँदोरहेछ भोगिँदै छ । दुःख–कष्ट खप्न सिके पनि गहिरो अध्ययन गरेर सिद्धान्तको आधारमा विचारलाई अगाडि बढाउने ज्ञान नसिक्नुको असली कारणले गर्दा झुम्रोमा रूपान्तरित हुँदै जान थालेको यथार्थ भोग्दै छु । स्वतन्त्रताका लागि लडे पनि प्रजातान्त्रिक मूल्य र मान्यतालाई अक्षुण राख्न नसक्ता लाग्छ त्यो पनि लहडको धङधङी भन्दा बेसी महत्त्वको नभएको महसुस गर्दै छु । समानुपातिक राजनीतिको कुरा उठाउन खोजिए पनि अन्तर लिप्साका कारण इष्र्याको र आवेगको विकारलाई खुर्केर प्mयाँक्न नसक्ता भनौँ नखोज्दा हुने प्रपञ्चका अनुष्ठानहरूका साक्षी भएर तमासा हेरिरहेछु ।

यसले गर्दा पनि यस मुलुकका प्रजातन्त्रका उपाशकहरूले अवलम्बन गरेको उदारवादी विकासे राजनीति उन्नति र प्रगतिको पर्याय नभएर राक्षसी कहरको रूपमा रूपान्तरित हुन खोजेको यथार्थ सदाकाल आङमाथि चडेको माउसुलीजस्तै बनेर रग्रगाइरहेछ ।

cura insider
jackson ribon