birat ribon

दुई–अर्थी संवादमा राजनीतिक स्टन्टबाजी

Neuro
दुई–अर्थी संवादमा राजनीतिक स्टन्टबाजी

सानोमा कन्टिर–बाबू दुई–अर्थी संवाद सुनेर खुब हाँस्थे । चर्चित निर्देशक/कलाकार दादा कोडकेका हिन्दी सिनेमा खुब हेर्थे । नेपाली कलाकार चङ्खेले नक्कलीसँग बोलेका दुई–अर्थी संवाद सुन्दा पनि उनी धेरै पटक हाँसेर लोटपोट भएका छन् ।

तर पछिल्लो पटक सडक–घरहरूमा भिडका साथ चलिरहेको नेपाली हास्यप्रधान कथानक सिनेमा ‘शक्ति–प्रदर्शन’की एक अभिनेत्रीले बोलेको दुई–अर्थी संवाद सुनेर भने कन्टिर–बाबू हाँस्न सकेनन् । त्यसो त उनी त्यो संवादको मर्म नबुझेर नहाँसेका होइनन्, के बुझ्ने भनेर गम्भीर भएका हुन् ।

cura insider

सानी झाँक्री नाम गरेकी ती अभिनेत्रीले जम्माजम्मी प्रयोग गरेको संवाद हो– बालकोट गए पनि हुन्छ । सानी झाँक्रीले प्रयोग गरेको यो संवाद दुई–अर्थी मात्र होइन, अनेकार्थी संवाद हो, जसमा हास्यभन्दा पनि व्यङ्ग्यको मात्रा बढी भएकाले कन्टिर–बाबू गम्भीर भएका हुन् ।

कन्टिर–बाबू नाकको डाँडीमा हात राखेर सोचिरहेका छन्– बालकोट गए पनि हुन्छ भन्नुको अभिधा, लक्षणा र व्यञ्जना अर्थ के–के छन् ? जस्तै कि भक्तपुरको बालकोटमा डेरा बस्नलायक सुविधासम्पन्न फ्ल्याटहरू सस्तोमा पाइन्छन्, लैनचौरतिरको कोही मान्छे बालकोट बसाइ सर्दा सस्तो पर्छ, राम्रो पनि हुन्छ । वातावरणीय दृष्टिकोणले पनि, राजनीतिक दृष्टिकोणले पनि ।

राजनीतिक दृष्टिकोणले यसकारण कि हाम्रा ओल्बाको बसाइ त्यतातिरै छ । कम से कम अरू केही भएन भने पनि ‘म ओल्बाको छिमेकी हुँ,’ भनेर दुनियाँसामु फुर्ती लगाउन त पाइन्छ ।

फेरि बालकोटमा ओल्बाको मात्रै घर छैन । त्यस अवस्थामा ‘बालकोट गए पनि हुन्छ’ भन्नुको अर्थ सरासर ओल्बाकै घरमा जान भनेको हो भनी कसरी लगाउने ? मानौँ भनेकै हो भने पनि प्रायः पछुवाहरू ओल्बालाई ‘बा’ भन्ने गर्छन् । यस अर्थमा बाको घर जानू, माइती जानू भनेको पनि हुन सक्छ । यसमा आपत्ति के छ ? कन्टिर–बाबूले नबुझेको कुरो !

कुरो सिरियस छ । ओल्बा नेतृत्वले तिललाई ताड बनाउनुका पछाडि पक्कै पनि कुनै न कुनै रहस्य लुकेको छ । कन्टिर–बाबूलाई लाग्छ– यहाँ शक्ति प्रदर्शन गर्ने हिसाबले मात्र होइन, बदला प्रदर्शन गर्ने हिसाबले पनि काम भइहरेको छ ।

यस्तो अस्पष्ट संवादलाई ओल्बा नेतृत्वको टिमले कसरी स्पष्ट बुझ्यो ? ओल्बासँग रहेको भनिएको सम्बन्धसँग जोडेर किन किटानी जाहेरी पर्‍यो ? कन्टिर–बाबू विस्मित बनेका छन् । कतै यो चोरको दाह्रीमा सिन्का भन्दा चोरले हत्तपत्त दाह्री छामे जस्तो पारा त होइन ?

पारा जे भए पनि ओल्बा नेतृत्वले राजनीतिमा के निहुँ पाउँ कनिका बुक्याउँ भने जस्तो चाहिँ गर्न नहुने । अनेकार्थी संवाद बोलेकै भरमा सानी झाँक्रीलाई हनुमानढोका खोरमा पाँच घण्टा ठिङ्ग्याउनु राम्रो भएन । आफू असंवैधानिक काम गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई खोरमा राखेर तर्साउन खोज्ने ? यस प्रकारको गलत रबैया र राजनीतिक स्टन्टबाजी कन्टिर–बाबूलाई एक सुता मन परेको छैन ।

कन्टिर–बाबू प्रश्न गर्छन्– यदि बोलेको कुरा अपराध हो भने समातिसकेकी झाँक्रीलाई चिन्ता नबसाई किन छोड्नु ? यदि अपराध होइन भने अपराधीजस्तो प्रचार किन गर्नु ? किन समात्नु ?

जे होस् राजनीतिमा जानी नजानी सानी झाँक्रीलाई एक फुली थपेर ठुली झाँक्री बनाइदिए ओल्बाले । योचाहिँ एक प्रकारले राम्रै काम गरे ।

jackson ribon