birat ribon

कोरोना खोप लगाएका फ्रन्टलाइनरमा साइड इफेक्ट, भन्छन्- ‘खोप लगाउन डराउनु पर्दैन’

Neuro
कोरोना खोप लगाएका फ्रन्टलाइनरमा साइड इफेक्ट, भन्छन्- ‘खोप लगाउन डराउनु पर्दैन’

विराटनगर / न्युरो कार्डियो एण्ड मल्टी स्पेसालिटी हस्पिटलको सिसियू विभागमा कार्यरत नर्स खुश्बु ढकाललाई खोप लगाएको दिन हात एकदम भारी भएको महसुस भइरह्यो । सोही रात ज्वरो र शरीरमा दुखाइ भएको पनि अनुभव भयो । यी सबै खोप लगाएका साइड इफेक्ट थिए जुन दुई दिनपछि निको भएर गएको उनले बताएकी छन् ।

खुश्बु ढकाल

धेरै मानिसहरू खोप लगाएपछि केही असर हुन्छ कि भनेर खोप लगाउन डराइरहेका छन् । कोभिडको खोप नयाँ भएको र खोपबारे पर्याप्त चेतना र आत्मविश्वास बढाउन नसकिएका कारण नै खोप लगाउन मानिसमा डर भएको देखिन्छ । ‘तर, खोप हामीमा परीक्षण भएको हुने भए सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले लगाउँदैनथे होला,’ उनले भनिन् ।

cura insider

बच्चाहरूलाई लगाइने खोपमा पनि ज्वरो, टाउको तथा शरीर दुखाइजस्ता लक्षण देखिन्छन् नै जुन खोप लगाएकै कारण देखिने साइड इफेक्ट हुन् । खोप लगाएपछि साइड इफेक्ट देखिनुलाई सामान्य मानिन्छ, त्यसैले डराउनुभन्दा पनि खोप सुरक्षित छ भनेर सोची सङ्क्रमणको जोखिम कम गर्न खोप लगाउन उनले सबैलाई सुझावसमेत दिइरहेकी छन् ।

सञ्जीवनी अस्पताल प्रालिको एनआइसियू विभागमा कार्यरत नर्स रेशिका चौधरीलाई खोप लगाएपछि कमजोरी, टाउको दुखाइ, शरीरमा दुखाइ, थकान र कामजोरो आएको थियो । जुन २४ घण्टापछि बिस्तारै हराउँदै गएको थियो । हरेक मानिसको शरीरको प्रतिरक्षा प्रणाली फरक हुन्छ, जसकारण सबैमा विभिन्न प्रकारको साइड इफेक्ट देखिने हुन्छ ।

रेशिका चौधरी

कोभिडको खोप लगाएपछि मात्र नभएर अन्य खोप वा औषधिले पनि यसै प्रकारको सामान्य असर देखाउने उनी बताउँछिन् । ‘खोप लगाउन एकदम डर लागेको थियो । तर, अन्यले लगाएको देखेर र बुझेर हेर्दा यसका सकारात्मक पक्ष धेरै हरेछन्,’ उनले भनिन्, ‘कोभिडको खोप छिटो बनेको भएर सबैले यसमा शङ्का गरेका छन् वा लगाउन डराइरहेका छन् । खोपहरू जाँच भएरै आएको हुनाले खोपविरुद्धको हल्लापछि लाग्नुभन्दा पनि यसलाई अन्य खोप जस्तै सोचेर लगाउन सकिन्छ ।’

आफू र आफ्नालाई कोभिडको जोखिमबाट बचाउनका लागि खोप आवश्यक छ, त्यसैले खोपबाट डराउनुभन्दा पनि यसका बारेमा बुझेर खोप लगाउन उनले सुझाव दिइरहेकी छन् । साथै, उनले आफ्नो तर्फबाट आफ्ना साथी, परिवार र आफन्तलाई खोपको विषयमा बुझाइरहेको बताइन् ।
विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको आइसियू विभागकी नर्स ज्योति पोखरेललाई खोप लगाएको १० घण्टापछि जिउ तातिएको, दुखेजस्तो महसुस भएको थियो । सोही रात उनलाई कामजोरो आएको, हात खुट्टा, जोर्नी तथा शरीरमा दुखाइ बढेको, इन्जेक्सन लगाएको ठाउँ सुन्निएको जस्तो समस्या देखियो ।

ज्योति पोखरेल

‘बिहान आँखा र टाउको पछाडिको भागमा अत्यधिक दुखाइ भयो,’ उनले भनिन्, ‘दुई दिनसम्म यिनै लक्षण दोहोरिएका थिए । अर्को दुई दिनसम्म टाउको भारी भएको महसुस भए पनि बिस्तारै अवस्था सामान्य हँुदै गएको उनको भनाइ छ । अन्य मानिसलाई जस्तै खोप लगाउनुअघि एकदम डर लागेको अनुभव सुनाउँदै, उनि भन्छिन्, ‘डर अवश्य लागेको थियो तर सबै कुरा बुझेर हेर्दा खोप लगाउनुपर्छ जस्तो लाग्यो । नेपालमा कोभिडका बारेमा धेरै प्रकारको भ्रम छ र धेरैका कुरा सुनेर अनावश्यक हल्ला पनि फैलिएको जस्तो लाग्छ ।’

बिनापरीक्षण खोपलाई अनुमति नदिइने उनले बताइन् । ‘जुनै खोपको पनि केही न केही सामान्य साइड इफेक्ट हुन्छ नै,’ उनले भनिन् । त्यसैले हल्लाको पछि लाग्नुभन्दा यसका बारेमा बुझेर खोप लगाउन डराउनु नपर्ने उनको भनाइ छ ।

रुबि चौधरी

नोबेल शिक्षण अस्पतालमा कार्यरत अपरेसन थिएटरकी नर्स रुबि चौधरीलाई खोप लगाएपछि सामान्य ज्वरो, शरीर काँपेको जस्तो महसुस भएको, अत्यधिक टाउको दुखाइजस्ता साइड इफेक्ट देखिएको थियो । खोप लगाएको इन्जेक्सन साइटमा करिब दुईदेखि तीन दिनसम्म लगातार दुखाइ महसुस भएको उनले बताइन् ।

सुरुमा खोप लगाउन एकदम डर लागेको उनको अनुभव छ । त्यसैले आफूभन्दा सिनियरले खोप लगाएपछि के कस्तो साइड इफेक्ट देखिन्छ हेरेर, बुझेर मात्र खोप लगाएको उनको भनाइ छ । ‘जुनै खोप लगाउँदा पनि सामान्य साइड इफेक्ट देखिन्छ नै,’ उनले भनिन्, ‘तर, खोप लगाएका सबैमा एकै प्रकारको साइड इफेक्ट भने नदेखिने रहेछ । कोहीलाई खोप लगाए पनि केही असर देखिँदैन ।’

अक्सफोर्डले विकास गरेको तथा इन्डियन ल्याबमा बनाइएको कोभिसिल्ड संसारका अन्य देशमा पनि प्रयोग भइरहेको छ । अवश्य पनि जाँच राम्रै भएर यसलाई अनुमति दिइएको हो । यसले बेलायतमा देखिएको नयाँ प्रकारको भाइरसविरुद्ध लड्नसमेत प्रतिरक्षा प्रदान गर्ने बताइएको छ । उनका अनुसार खोप लगाएपछि आफू सुरक्षित र आफ्नालाई पनि जोखिममा नपारेको महसुस भइरहेको छ । त्यसैले, खोप लगाउन डराउनु नपर्ने बताउँदै सबैलाई खोप लगाउन उनले सुझाब दिइन् ।

भारतले सहयोगमा दिएको कोभिसिल्ड खोप १४ माघदेखि स्वास्थ्यकर्मीहरूलाई लगाएर पहिलो चरणको खोप अभियान सुरु गरिएको थियो । हाल दोस्रो चरणमा पत्रकार तथा धेरै मानिसको सम्पर्कमा रहेर काम गर्नुपर्ने कर्मचारीलाई खोप दिने क्रम जारी छ । नेपालमा खोप लगाएका धेरैजसोमा सामान्य साइड इफेक्ट देखापरेको छ । कुनै पनि खोप लिएपछि हल्का प्रकारका साइड इफेक्ट देखिनुलाई सामान्य मानिन्छ ।

खोप लगाएका अधिकांशमा साइड इफेक्ट हल्का वा मध्यम हुन्छन्, जुन दुईदेखि तीन दिनसम्म रहन्छ र सजिलै व्यवस्थित गर्न सकिन्छ । कोसी अस्पतालका सिनियर फिजिसियन डा. दीपक सिग्देलका अनुसार खोप लगाएपछि सामान्य ज्वरो आउने, कसैमा छोटो समयका लागि अत्यधिक ज्वरो आउने, काँपेको जस्तो महसुस हुने, शरीर गलेको महसुस हुने, थकान, शरीरमा दुखाइ, वाकवाकी लाग्नेजस्ता साइड इफेक्ट देखिन सक्छ जुन केही समय वा दिनपछि आफँै हराएर जाने हुन्छ । ज्वरो वा शरीर दुखाइका लागि सामान्य प्यारासिटामोलको प्रयोग गर्न सकिने उनको भनाइ छ ।

कोभिडवरुद्धको खोप लगाउँदा मात्र नभएर अन्य खोप लगाएपछि पनि केही न केही साइड इफेक्ट देखिने हुन्छ । खोपका बारेमा भएको डर हटाउनका लागि आफैँ अगाडि सरेर पहिलो खोप लगाएका डा. सिग्देल पनि सबैलाई खोप लगाउन प्रेरित गरिरहेका छन् ।

jackson ribon