birat ribon

औषधिमा बारम्बार बद्मासी, म्याद सकिएकामा नयाँ ‘लेबल’, रेम्डेसिभिरका नाममा नक्कली औषधि

Neuro
औषधिमा बारम्बार बद्मासी, म्याद सकिएकामा नयाँ ‘लेबल’, रेम्डेसिभिरका नाममा नक्कली औषधि

विराटनगर / विराटनगर महानगरपालिका–१० स्थित न्युरो अस्पतालनजिक रहेको ‘हाम्रो फ्रेन्डसिप फार्मेसी’का सञ्चालक २६ वर्षीय विक्रम मण्डलले औषधि भण्डारण गरेको गोदामबाट ‘भेषोप्रेसिन इन्जेक्सन’ बरामद भयो ।

प्रसूति ब्यथा लागेकालाई बच्चा जन्माउन सहज बनाउन दिइने यो औषधि उल्लेख भएको म्याद अनुसार सन् २०१९ सेप्टेम्बरसम्म मात्रै प्रयोग गर्न मिल्थ्यो । तर अनुसन्धान थाल्दा प्रयोग गर्ने समय सकिएको इन्जेक्सनको पुरानो ‘लेबल’ (स्टिकर) हटाउँदै विक्रमले नयाँ मितिसहितको ‘लेबल’ राखेर बिक्री गरिरहेको पत्ता लाग्यो । उनले ‘रि–लेबल’ गरेको नयाँ मितिले सन् २०२३ सम्म औषधि प्रयोग गर्न सकिने देखिन्छ । तर भारतमा बन्ने उक्त औषधि भने म्याद सकिएर बिरामीले प्रयोग नै गर्न नमिल्ने भइसकेकाले उत्पादक कम्पनीलाई फिर्ता दिनुपर्ने वा नष्ट गर्नुपर्ने अवस्थाको थियो ।

cura insider

त्यस्तै गोदाममा उच्च रक्तचापका बिरामीले प्रयोग गर्ने ‘लेबीटालोल इन्जेक्सन’ पनि भेटियो । औषधि व्यवस्था विभागका अनुसार सन् २०२० सेप्टेम्बरसम्म मात्रै म्याद रहेको उक्त औषधिलाई पनि ‘रि–लेबल’ गरेर सन् २०२२ सम्म प्रयोग गर्न सकिने देखाइएको छ । क्यान्सरका बिरामीलाई दुखाई कम गर्न दिइने ‘ट्रामाडोल इन्जेक्सन’ र उच्च रक्तचापका बिरामीले प्रयोग गर्ने ‘भेरापामिल इन्जेक्सन’ पनि त्यही अवस्थामा भेटिएको विभागले जनाएको छ । यी दुवै औषधिको प्रयोग गर्ने समयसीमा कटिसकेको छ । तर दुवैमा उत्पादकले कहिलेसम्म प्रयोग गर्न सकिन्छ भनेर मिति उल्लेख गरी लगाएको पुरानो ‘लेबल’ हटाउँदै ‘रि–लेबल’ गरी नक्कली स्टिकर लगाएर आगामी दुई वर्षसम्म प्रयोग गर्न सकिने देखाएको पाइएको छ ।

यसबाट विक्रमले औषधि पसल (फार्मेसी) सञ्चालन गरेर धेरै प्रकारका औषधि बिक्रीमा ठूलो बद्मासी गरिरहेको पुष्टि हुन्छ । प्रयोग गर्ने समय सकिएका औषधिलाई मेसिनबाट आफैले नयाँ स्टिकर तयार गर्दै ‘रि–लेबल’ गरी प्रयोग गर्न सकिने मिति दुईदेखि चार वर्षसम्म बढाएर बिरामीलाई बिक्री गरिरहेको पाइएको छ । विराटनगर–५ का विक्रम र उनका दाजु २९ वर्षीय विकास मण्डल मिलेर फार्मेसी चलाएका हुन् । म्याद सकिएका औषधि नयाँ ‘लेबल’ राखेर बिक्री गरिरहेको सूचनाका आधारमा मण्डल दाजु–भाइले रामप्रसाद साहको घरमा सञ्चालन गरेको औषधि भण्डारण स्थलमा गत सोमबार राति प्रहरीले छापा हान्यो ।

पक्राउ परेका विक्रम मण्डल ।

फार्मेसी सञ्चालनका नाममा चरम बद्मासी गरिरहेको पाइएपछि विक्रमलाई म्याद सकिएको र नेपालमा प्रयोग गर्न प्रतिबन्ध लगाइएका अरु विभिन्न औषधिसहित पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । उनका अनुसार विक्रम पक्राउ परेपछि उनका दाजु विकास फरार बनेकाले खोजी तीव्र पारिएको छ । एसपी खड्काले बरामद भएका विभिन्न अवैध औषधिसहित पक्राउ परेका मण्डललाई आवश्यक कारबाहीका लागि विभागको जिम्मा लगाइएको जानकारी दिए ।

पक्राउ परेका विक्रम मण्डलको गोदामबाट बरामद भएका अवैध औषधि ।

प्रहरीले भण्डारण गरिएको गोदामबाट १० लाख तीन हजार एक सय ८० रुपैयाँ बराबरको विभिन्न ७९ प्रकारका औषधि बरामद गरेको छ । जसमा म्याद सकिएका, नेपालमा प्रयोग गर्न प्रतिबन्ध लगाइएका र खाद्य पूरक औषधि छन् । त्यस्तै दर्ता नभएका र केही लागुऔषधजन्य औषधि पनि प्रहरीले नियन्त्रणमा लिएर विभागमा बुझाएको छ । नयाँ लेबल बनाउन प्रयोग गरिने एचपी कम्पनीको ‘लेबल प्रिन्टर्स मेसिन’समेत बरामद भएको एसपी खड्काले बताए । जुन मेसिनबाट औषधि उत्पादक कम्पनीले बनाएकोजस्तै हुबहु ‘लेबल’ (स्टिकर) आफैले बनाउने र म्याद सकिएका औषधिमा राखेर बिक्रीका लैजाने गरेको पाइएको जानकारी उनले दिए ।

विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलले प्रहरीले बरामद गरेर बुझाएका औषधिमा ‘इन्जेक्सन आइटम’ धेरै र केही ट्याब्लेट तथा झोलजन्य औषधि रहेको जानकारी दिए । उनका अनुसार ‘लेबल प्रिन्सर्ट मेसिन’मार्फत नयाँ ‘लेबल’ बनाएर म्याद सकिएका औषधिमा टाँस्दै बिक्री गर्ने गरिएको पुष्टि प्रारम्भिक अनुसन्धानबाट भएको छ । ‘औषधिको बट्टालाई विशेष प्रकारको केमिकलमा डुबाएपछि उत्पादक कम्पनीले लगाएको ‘लेबल’ उप्किन्छ,’ कट्टेलले भने, ‘त्यसरी पुरानो ‘लेबल’ हटाई मेसिनमार्फत नयाँ छापेर टाँस्दै म्याद सकिएका औषधि बिक्री गरिरहेको पाइयो ।’

प्रायले ‘लेबल’ हेरेर चुस्तदुरुस्त रहेको पाइएपछि औषधि खरिद गर्ने गरेको बताउँदै उनले भने, ‘ कम्पनीकैजस्तो देखिने नयाँ स्टिकर बनाएर टाँस्दै म्याद सकिएका औषधि झुक्याएर धमाधम सर्वसाधारणलाई बिक्री गरिरहेको भेटिएको छ । प्रयोग नै गर्न नमिल्ने यस्ता औषधिले निको हुनुको साटो झन् अवस्था गम्भीर बनेर बिरामीको ज्यान जान्छ । औषधिमा नक्कली स्टिकर लगाएर प्रयोग गर्न मिल्ने देखाइएको कुरा खरिदकर्ताले थाहै पाउँदैनन् ।’ कट्टेलले पैसा कमाउने ध्याउन्नमा फार्मेसी सञ्चालक लाग्दा कैयौं बिरामीको ज्यान जोखिममा परिरहेको पुष्टि भएकाले यस विषयमा थप गम्भीर ढंगले अनुसन्धान थालिएको बताए ।

उनका अनुसार कुनै पनि औषधिको म्याद सकिएमा बिरामीका लागि बेच्न मिल्दैन । औषधि उत्पादक कम्पनीलाई फिर्ता दिनुपर्ने अर्थात सबै नष्ट गर्नुपर्ने उनले बताए । बिराम निको हुनुको साटो स्वास्थ्यमा अरु समस्या निम्तिएर त्यस्ता औषधिको प्रयोगले बिरामीको ज्यान नै जाने कट्टेलले बताए । उनका अनुसार अरु फार्मेसीबाट पनि म्याद सकिएका औषधि झिकाएर ‘रि–लेबल’ गर्दै बिक्रीका लागि बजारमा लग्ने गरेको पाइएको छ ।

पक्राउ परेका मण्डलले कोरोना भाइरस सङ्क्रमितको उपचारमा प्रयोग गरिँदै आएको कोबिफोर (रेम्डेसिभिर) नाम दिएर नक्कली औषधि बेच्ने गरेको खुलेको उनले बताए । कट्टेलले अरु नै औषधिमा रेम्डेसिभिरको ‘लेबल’ राखेर सङ्क्रमितलाई बेच्ने गरेको पुष्टि भएपछि थप प्रमाण जुटाउन नमुना संकलन गर्दै परीक्षणका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको जानकारी दिए । परीक्षण रिपोर्ट आइसकेपछि मात्रै रेम्डेसिभिर नाम दिएर बिरामीलाई झुक्याउँदै कुन औषधि बिक्री भइरहेको थियो भन्ने खुल्ने उनको भनाइ छ । तर रेम्डेसिभिर नाम दिएर बेचिरहेको औषधि भने त्यो नभएर अरु नै रहेको जानकारी उनले दिए ।

रेम्डेसिभिरभन्दै कोरोना सङ्क्रमितलाई बिक्री गर्ने गरिएको नक्कली औषधि ।

रेम्डेसिभिरमा उत्पादकले लगाउने गरेको र बरामद भएको औषधिमा एउटै ‘लेबल’को प्रयोग भएको पाइएको छ । उक्त नक्कली रेम्डेसिभिर प्रयोगको म्याद सन् २०२० बाट २०२२ सम्म रहेको देखाइएको कट्टेलले बताए । उनले रेम्डेसिभिरको ‘लेबल’ लगाएर अर्कै औषधि बिक्री गरिएका कारण कतिपय कोरोना सङ्क्रमितको ज्यान नै गएको हुनसक्ने भएकाले त्यसतर्फ पनि अनुसन्धान केन्द्रीत गरिएको बताए ।

कट्टेलका अनुसार विभिन्न रोग अनुसारको औषधि कम्पनीहरुले उत्पादन गरेका हुन्छन् । तर ‘रि–लेबल’ जथभावी रुपमा गरेको पाइएको छ । ‘एउटा रोगको औषधिलाई अर्कै रोगको ‘रि–लेबल’ पनि गरेर बिक्री गरिरहेको पाइयो,’ उनले भने, ‘उच्च रक्तचापको बिरामीलाई क्यान्सरको औषधि दियो भने अवस्था के हुन्छ होला ?’ यस सम्बन्धमा केही प्रमाण फेला परेकोभन्दै कट्टेलले पैसा कमाएर चाँडै धनी बन्नलाई अरु कुनकुन ठाउँमा यस्ता गलत औषधि बिक्रीका लागि पठाएको थियो भन्ने कुरा विस्तृत अनुसन्धानपछि खुल्ने बताए ।

‘कतिपय बिरामीलाई तत्कालै इन्जेक्सन लगायत अन्य औषधि दिनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यो बेला गलत औषधि पर्दा स्वास्थ्यमा नकारात्मक असर देखिएर बिरामीको ज्यान गइहाल्छ ।’ कट्टेलले म्याद सकिएकोमा नयाँ र एउटा औषधिमा अर्कैको ‘लेबल’ लगाएर बिक्री गर्दा बिरामी ठूलो जोखिममा रहेको बताए ।

कट्टेलका अनुसार ‘लेबल’मा कुन रोगका लागि प्रयोग गर्ने, कस्तो खालको औषधि हो र औषधि कति मात्रामा छ लगायतका कुरा उल्लेख हुन्छ । त्यस्तै उत्पादकको नाम, ठेगाना र लोगो तथा उत्पादन अनुमतिका लागि लिएको लाइसेन्स नम्बर पनि त्यसमा हुन्छ । ‘लेबल’मा प्रयोग गर्न मिल्ने हदम्याद, भण्डारण आदिका बारेमा उल्लेख हुन्छ र सावधानी सम्बन्धी अन्य विवरण खुलाइएको हुन्छ । ‘बिरामीका लागि औषधिमा प्रयोग भएको ‘लेबल’का आधारमा खरिदकर्ताले औषधि किनेका हुन्छन्,’ विभागका प्रमुख कट्टेलले भने, ‘तर मानिसको जीवनसँग जोडिएको औषधिजस्तो अति आवश्यकीय वस्तुको ‘लेबल’मै गडबडी गर्ने गरेको पुष्टि भयो ।’

‘पहिलो कुरा त म्याद सकिएको औषधि अति नै घातक हुने भएकाले बिरामीलाई दिन मिल्दैन । बिराम निको नभएर यसले बिरामीको मृत्यु हुन्छ,’ कट्टेल भन्छन्, ‘दोस्रो कुरा एउटा रोगको औषधिमा अर्कैको ‘लेबल’ लगाउनु झन् ठूलो अपराध हो । जुन रोग हो त्यसकै औषधि दिँदा मात्रै बिरामी निको हुने र अर्कै औषधि परेमा ज्याननै जाने हुन्छ ।’ उनले रोग अनुसार नपाएर गलत औषधि परेमा बिरामी बाँच्ने सम्भावना नरहने पनि उल्लेख गरे ।

यसअघि पनि २०७६ फागुन १८ गते म्याद सकिएको औषधि बेच्ने गरेको पाइएपछि विकासलाई विभागको टोलीले नियन्त्रणमा लिएको थियो । त्यतिबेला उनले चलाएको ‘हाम्रो फ्रेन्डसिप फार्मेसी’बाट म्याद सकिएका विभिन्न १५ प्रकारका औषधि बरामद भएका थिए । औषधि बिक्रीका नाममा मानव स्वास्थ्यमाथि गम्भीर खेलवाड गरिरहेको पुष्टि भएपछि पाँच वर्ष जेल र ५० हजार रुपैयाँसम्म जरिवानाको माग दावी गरेर उनीविरुद्ध विभागले जिल्ला अदालत मोरङमा औषधि ऐन २०३५ को दफा ३४ को २ (घ) अन्तर्गत मुद्दा दर्ता गरेको थियो । विभागले औषधिको बेचबिखनमा रोक लगाउँदै फार्मेसीलाई पनि छ महिनासम्म निलम्बन गर्यो ।

विकासलाई २०७७ असार २५ गते न्यायाधीश तेजबहादुर खड्काको इजलासले तीन लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दियो । धरौटी रकम बुझाएर छुटेपछि विकासले भाइ विक्रमसँग मिलेर पुनः पुरानै र गलत धन्दालाई थप विस्तार गरेर लगेको पाइएको छ । ‘आफूविरुद्ध मुद्दा चलेपछि उनले औषधि व्यवसायलाई स्वच्छ र मर्यादित रुपमा सञ्चालन गर्ने अपेक्षा लिइएको थियो,’ विभागका एक कर्मचारीले भने, ‘तर उनले झन् ठूलो बद्मासी पो गर्न थालेको पुष्टि भयो ।’ उनले मण्डल दाजुभाइले भारतबाट अवैध रुपमा ल्याएर औषधिको गलत धन्दा चलाइरहेको हुनसक्ने बताए ।

‘अहिले तत्काल हेर्दा यस धन्दामा दाजु–भाइको मात्रै संलग्नता देखिन्छ । तर यसका पछाडि ठूलो गिरोह संलग्न छ,’ ति कर्मचारीले भने, ‘पहिले माग दावी अनुसार कारबाही नहुँदा मनोवल बढेर अवैध धन्दालाई विस्तार गरेर लगेको पाइयो । जसका कारण कैयौं बिरामीको जीवन नै जोखिममा परिरहेको छ ।’ उनले पछिल्लो समय बरामद भएका औषधिका बारेमा थप अध्ययन एवं अनुसन्धान गरेर पक्राउ परेका र फरार रहेका दाजु–भाइविरुद्ध औषधि ऐन अनुसार मुद्दा चलाइने जानकारी दिए । औषधिमा बारम्बार बद्मासी दोहो¥याइरहेको पाइएपछि पटकेमा कारबाही अघि बढाइने उनको भनाइ छ ।

‘म्याद सकिएको औषधि सस्तो ल्याएर नयाँ ‘लेबल’ लगाउँदै महँगोमा बिक्री गर्ने गरेको पाइयो,’ उनले भने, ‘भारतमा सस्तो मूल्य पर्ने भएकाले दाजु–भाइले विभागमा दर्ता नै नभएको र नेपालमा बिक्रीका लागि प्रतिबन्ध लगाएको औषधि नेपाल ल्याएर कारोबार गरिरहेको फेला परेको छ ।’ उनका अनुसार अवैध औषधि अरु पनि फार्मेसीमार्फत बिक्री गरिएको हुनसक्ने आशंकामा अनुसन्धानको दायरा थप फराकिलो पारिएको छ ।

jackson ribon