birat ribon

आज सोनाम ल्होसार मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा

Neuro
आज सोनाम ल्होसार मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा

विराटनगर / सोनाम एवं ग्याल्बो ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज (शक्रबार) विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

तामाङ समुदायले माघशुक्ल प्रतिपदाका दिन प्रत्येक वर्ष यो पर्व मनाउने गरेका छन् । पर्वमा तामाङ समुदायले कूल पूजा, प्रकृति पूजा र बुद्ध शिक्षाको स्मरण गर्नाका साथै आफन्तजन भेला भई भोजन एवं मनोरञ्जन गर्दै आपसमा खुशी आदानप्रदान गर्ने प्रचलन रहिआएको छ । यस पर्व तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशलगायत देशका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले आ–आफ्नै शैली र परम्पराअनुसार मनाउँदै आएको पाइन्छ ।

cura insider

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७ औँ वर्ष सुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघशुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको मानिन्छ । यस वर्ष पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । कोरोना महामारीका कारण यस वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर ल्होसार मनाउने तयारी छ ।

राष्ट्रपतिले दिइन शुभकामना

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नाम ल्होसार, २०७७ का अवसरमा शुभकामना दिएकी छन् । शुभकामना दिँदै उनले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताएकी छन् । उनले विविधतामा एकतामाथि गर्व गर्ने आधार हामीलाई यी चाडपर्वले दिएको स्पष्ट पारिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी ।

शुभकामना सन्देशमा राष्ट्रपतिले यस्ता पर्वले हाम्रा मौलिक संस्कृति प्रवद्र्धन गर्न, सामुदायिक ऐक्यबद्धता एवं सामाजिक सद्भाव अभिवृद्धि गर्न र बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेकी छन् । राष्ट्रपतिले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम गरी आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।

त्यस्तै, पर्वको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले सोनाम ल्होसार र ग्याल्बो ल्होसारबाट संविधानको रक्षा र पालन गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले सोनाम र ग्याल्बो ल्होसारका अवसरमा आज शुभकामना सन्देश दिँदै पर्व मनाउने क्रममा कोभिड–१९ को सङ्क्रमणप्रति ध्यान पुर्याउन आग्रह गरेका छन् ।

jackson ribon