birat ribon

चतराको कोसी पुल हेर्न आउनेको सङ्ख्या बढ्दै

Neuro
चतराको कोसी पुल हेर्न आउनेको सङ्ख्या बढ्दै

धरान / चतराको कोसी पुलमा यतिबेला आन्तरिक पर्यटकहरूको चहलपहल बढ्न थालेको छ । पूर्वी नेपालसँग सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गका रूपमा आधुनिक पुल निर्माण भएपछि यो क्षेत्र आकर्षक पर्यटकीय गन्तव्यस्थल बनेको हो ।

Padelux insider
cura insider

यतिबेला पुल आसपासमा वनभोज खान र डुङ्गा (बोट) चढ्न आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । एसियाली विकास बैङ्कको सहयोगमा पाँच वर्षअघि पुल निर्माण भएपछि यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको हो । पुल हेर्नकै लागि पनि धरान, विराटनगर, इटहरी, गाईघाट, बेलटार, फत्तेपुरलगायत स्थानबाट आन्तरिक पर्यटक आउने गरेका छन् । कोसी पुलदेखि वरपर आधा दर्जन स्तरीय होटल सञ्चालनमा रहेका छन् भने अरू आवश्यक पूर्वाधार निर्माणका लागि स्थानीय नागरिकले यहाँका स्थानीय सरकारलाई आग्रह गरिरहेका छन् ।

दैनिक करिब ५०÷६० जना पर्यटक पुल हेर्नकै लागि यहाँ आउने गरेको स्थानीय व्यापारी शरद कोइरालाले बताए । आफ्ना कामले पूर्व–पश्चिम यात्रा गर्ने यात्रु पनि केही समय सवारी रोकेर तस्बिर खिच्ने र रमाउने गरेको देखिन्छ । पुलनजिक कोसीकिनारमा वनभोज खानेको भीड लाग्न थालेको कोइरालाले बताए । पुलमुनिबाट केही वर्षदेखि जेटबोट पनि सञ्चालन भएको छ । यो बोट बराहक्षेत्र, सिम्लेसम्म पुग्ने गरेको छ । उदयपुर, सप्तरी, भोजपुर, धनकुटा, सुनसरी, मोरङ, सप्तरीबाट जेट बोट चढ्न र वनभोज खान आउने गरेको कोइराला बताउँछन् ।

सामाजिक सङ्घसंस्था, विद्यालय र साथीभाइ समूह बनाएर कोसी पुलमा वनभोज खान आउनेको सङ्ख्या पछिल्लो समय निकै बढेको बेलका नगरपालिका–८ का वडाध्यक्ष जयकुमार राईले बताए । वनभोज खानेको सङ्ख्या बढेपछि बेलका नगरपालिकाले उक्त क्षेत्रमा शौचालय तथा अन्य आवश्यक न्यूनतम पूर्वाधार निर्माण गरिदिएको छ ।

स्थानीय मोहन खड्काका अनुसार शनिबार एक सयभन्दा बढी समूह वनभोज खान आउने गरेका छन् भने अन्य दिन दैनिक पाँचदेखि सात वटासम्म समूह वनभोज खान आउने गरेका छन् । वनभोज खान आउनेहरु यसैमा मात्र सीमित नभएर बोट चढ्ने, कोसी नदीमा पौडी खेल्ने र नाचगानमा रमाउने गरेको खड्काले बताए ।

धरानबाट पारिवारिक वनभोजमा गएकी इन्दु खड्काले कोसी पुल वनभोजका लागि उत्तम गन्तव्य भएको बताइन् । ‘बोटिङ, फिसिङ, स्वीमिङमा यहाँ रमाउन सकिनेरहेछ । अझ प्याराग्लाइडिङ गर्नेहरूका लागि पनि सुविधा रहेकाले धेरै मजा आउँछ,’ गत शनिबार वनभोजस्थलमा भेटिएकी खड्काले भनिन् ।

दैनिक आन्तरिक पर्यटक वनभोज खान आउने गरे पनि वनभोज क्षेत्रमा खानेपानीको अभाव छ । खोलाको बगर भएका कारण बसेर खानेकुरा पकाउने, खानका लागि असुविधा हुने गरेको वनभोज आउनेहरूले बताए । यसमा स्थानीय पालिकाको ध्यान पुग्नुपर्ने उनीहरूको भनाइ छ । वनभोजस्थल वरपर खाली पानीको बोतल, मदिराका बोतल, खानेकुराको फोहरको डङ्गुर हुन थालेको छ । ती फोहरको उचित व्यवस्थापन हुनसकेको छैन । भिरालो जग्गा भएका कारण फराकिलो ठाउँको अभाव छ । बिजुलीको समेत व्यवस्थापन नहुँदा वनभोज आउनेहरूले वैकल्पिक व्यवस्था गर्नुपरेको छ ।

बराहक्षेत्र गाउँपालिका–८ का वडाध्यक्ष जयकुमार राईले प्रदेश सरकारको सहयोगमा कोसी पुलदेखि केहीमाथि सप्तकोशी किनारमा सुविधा सम्पन्न वनभोजस्थलको डिपिआर तयार गरिएको बताए । करिब ५० सवारी अटाउने पार्किङ क्षेत्र, एक सय वनभोजस्थल (पिक्निक स्पर्ट), सेल्फी स्टेशन, फिसिङ क्षेत्र, बोट चढ्न जाने बाटो, खानेपानीको व्यवस्थापनसहितको डिपिआर बनाएर प्रदेश सरकारलाई पठाइएको छ । आगामी वर्षको पर्यटन शीर्षकको बजेटबाट सबै निर्माण गरिने अध्यक्ष राईले जानकारी दिए । ‘तत्काल व्यवस्थापनका लागि वनभोजस्थल व्यवस्थापन समिति बनाउने तयारी भइरहेको छ । तत्काल खानेपानी र फोहर व्यवस्थापन गर्न लागिएको छ,’ अध्यक्ष राईले भने ।

बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालि, वरुण वाटरवेज, बराहक्षेत्र मरिन एण्ड रिसोर्ट र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि गरी चार कम्पनीले साना ठूला गरेर सातवटा जेट बोटबाट कोसी पुलदेखि बराह क्षेत्र हुँदै भोजपुर, धनकुटाको त्रिवेणीघाट र सिम्लेसम्म सेवा दिँदै आएका हुन् । करिब १८ देखि ६० जनासम्म अट्ने बोट सप्तकोसीमा सञ्चालन हुँदै आएका छन् ।

कोसी पुलबाट करिब तीन किमी पश्चिम बोपताङ डाँडाबाट प्याराग्लाइडिङ उडान हँुदै आएको छ । नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङ ग्लाइडिङ सङ्घले राष्ट्रिय खेलकुद विकास समितिको सहयोगमा एक वर्षअघि प्याराग्लाइडिङको सफल परीक्षण उडानपछि सङ्घको सहयोग र बूढासुब्बा प्याराग्लाइडिङ धरानको समन्वयमा नेपाली सेनालाई प्रशिक्षण दिएर यसको उडानका लागि तालिम प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको छ ।

नेपालका चार ठूला धाममध्येको बराहक्षेत्र धामको दर्शन गर्ने अवसर पर्यटकले पाउनेछन् । कोसी पुलबाट उत्तर करिब दुई किमी जेटबोटबाट पाँच मिनेटमा पुग्न सकिन्छ । सडक मार्गबाट चार किमी बाटो १५ मिनेटमा पुग्न सकिन्छ । त्यहाँ बराह भगवानको दर्शन गरेर नजिकको क्षेत्र घुमघाम गरेर फर्कन सकिन्छ ।

धार्मिक पर्यटन र जलस्रोतको अपार सम्भाव्यता भएको यो क्षेत्र साहसिक र मनोरञ्जनात्मक खेल प्रवद्र्धनका दृष्टिले पनि प्रचुर छ । बराह क्षेत्रलगायत कुम्भ नगरी प्राचीन हरिद्वार, औलिया मठ, रामधुनी, छिन्नमस्तालगायत धार्मिक तीर्थ, सुनसरी मोरङ सिँचाइ आयोजना, चतरा हाइड्रोपावर, पूर्वपश्चिम वैकल्पिक लोकमार्गका कारण पनि यो क्षेत्र आकर्षक बन्दै गएको छ । रासस

jackson ribon