birat ribon

उत्पादन बढे पनि उचित मूल्य नपाउँदा गोलभेँडा किसान निराश

Neuro
उत्पादन बढे पनि उचित मूल्य नपाउँदा गोलभेँडा किसान निराश

सर्लाही / सर्लाहीका किसानले बर्सेनि गोलभेँडा उत्पादन बढाए पनि उचित मूल्य नपाउँदा उनीहरु निरास बन्नुपरेको छ ।

महत्वपूर्ण नगदेबालीको रुपमा कुनै समयमा राम्रो मूल्यमा बिक्री हुने गरेको गोलभेँडा खेतीमा किसानले लगानी बढाएका थिए । सर्लाहीको उत्तरी भेगका किसानले गोलभेँडा उत्पादन वृद्धि गर्न थाले पनि अहिले भनेजस्तो उचित मूल्य पाउन नसक्दा उनीहरुले निराश बन्न थालेका हुन् । विगतका वर्षमा प्रतिक्रेट एक हजारदेखि एक हजार पाँच सय मूल्यमा बिक्री हुने गरेको गोलभेँडा अहिले चार सय ५० देखि पाँच सय रुपैयाँसम्ममा मात्र बिक्री भएपछि यहाँका गोलभेँडा उत्पादक किसान अन्य कृषि बालीतर्फ आकर्षित हुने सम्भावना बढेको छ ।

cura insider

जिल्लाको लालबन्दी, ईश्वरपुर, हरिवन र वाग्मती नगरपालिकालगायत महोत्तरीको गौशाला, सम्सी, खयरमारलगायत क्षेत्रका किसानले उत्पादन गर्दै आएको गोलभेँडाको यसवर्ष उचित मूल्य पाउन नसकेको किसानहरु बताउँछन् । उत्पादन बढिरहेकाले गोलभेँडाको मूल्य अझ पनि घट्न सक्ने उनीहरूको गुनासो छ ।

उत्पादनको सुरुवात र अन्तिम समयमा गोलभेँडा कम निस्कने भएकाले यसले राम्रो मूल्य पाउने तर हरेक वर्ष यो समयमा उत्पादन बढी हुने भएकाले मूल्य घट्ने गरेको लालबन्दीका किसान भोला रायले बताए । ‘आफूले केही वर्षयता आएर उत्पादन गरेको गोलभेँडाको लागतअनुसारको उचित मूल्य पाउन सकेका छैनौं,’ उनले भने, ‘विगतका वर्षमा गोलभेँडाको मूल्य राम्रो भएका कारण आर्थिक आम्दानीको मुख्य स्रोत गोलभेँडाखेतीमा लागियो, हिउँद, बर्खा दुःख ऋणपान गरेर गोलभेँडा उत्पादन गर्न सुरु गर्‍यौँ, तर लागतअनुसारको उचित मूल्य पाउन नसक्दा आफूहरु निरास हुनुबाहेक अरु केही रहेन ।’

अहिलेको मूल्यमा गोलभेँडा बिक्री गर्दा आफूहरुको आर्थिक लगानी र श्रम पनि नउठ्ने तथा गोलभेँडा खेतीमा काम गर्ने मजदूरको ज्यालासमेत तिर्न नपुग्ने गुनासो किसानको छ । ‘मङ्सिर/पुससम्म एक हजारदेखि एक हजार पाँच सय प्रतिक्रेट मूल्य रहेको थियो, अहिले त झनै गोलभेँडा व्यापारीले चार सय ५० देखि पाँच सय प्रतिक्रेट मूल्य झारे, अब गोलभेँडा बिक्री गर्नुभन्दा बाटोमा फाल्नुबाहेक आफूहरुसँग अरु विकल्प छैन,’ किसानको गुनासो छ ।

स्थानीय गोलभेँडा खरिदकर्ताले काठमाडौँ, पोखरा र विराटनगर बजारमा यसको मूल्य घटेको भन्दै व्यापारीले गोलभेँडाको मूल्य घटाएका हुन् । सर्लाहीको लालबन्दी, ईश्वरपुर, हरिवन र वाग्मती नगरपालिकालगायत महोत्तरीको गौशाला, सम्सी, खयरमारलगायतका स्थानमा किसानले सैयौं बिघा जमीनमा व्यावसायिक रुपमा गोलभेँडाखेती गर्दै आएका छन् ।

बजारमा गोलभेँडा धेरै मात्रामा भित्रिएको भन्दै व्यापारीले हरेक वर्ष यो समयमा मूल्य घटाउने गरेका कारण किसान मारमा पर्ने गरेका तरकारी बजार व्यवस्थापन समिति लालबन्दीका व्यवस्थापक शम्भु घिमिरेले बताए । तर व्यापारीले भने उत्पादनअनुसार बाहिर निकासी नहुँदा मूल्य घटेको बताए । अहिले बजारमा भारतीय गोलभेँडा पनि भित्रिएकाले स्थानीयस्तरमा उत्पादन भएको गोलभेँडाको मूल्य घटेको व्यापारीको भनाइ छ ।

यस क्षेत्रका किसानले स्थानीयस्तरमा उत्पादन गरेको गोलभेँडा जिल्लाको सदरमुकाम मलङ्गवा, बयलबास लालबन्दी, नवलपुर, हरिपुर र हरिवन बजारमा ल्याएर बिक्री गर्ने गरेका छन् भने देशका विभिन्न ठूला शहरमासमेत यहाँ उत्पादन भएको गोलभेँडा जाने गरेको छ । जिल्ला बाहिर काठमाडौँ, हेटौँडा, पोखरा, बुटवल, नारायणगढ, विराटनगर, धरानलगायत देशका ठूला शहरमासमेत यस क्षेत्रमा उत्पादन भएको गोलभेँडा जाने गरेको व्यापारी तथा तरकारी बजार व्यवस्थापन समितिले जनाएका छन् ।

सर्लाहीमा मङ्सिरदेखि चैतसम्म गोलभेँडाको उत्पादन हुने गरेको छ । अहिले लालबन्दी बजारबाट मात्रै दैनिक तीनदेखि चार सय क्विन्टल गोलभेँडा जिल्ला बाहिर निकासी भइरहेको लालबन्दी तरकारी बजार व्यवस्थापन समितिले जनाएको छ । गोलभेँडाको उत्पादन घटेको समयमा व्यापारीले राम्रो मूल्य दिएर खरिद गर्ने गरेका भए पनि किसानको उत्पादन बढेको समयमा व्यापारीले गोलभेँडालगायत तरकारीको मूल्य घटाउने गरेका छन् । रासस

jackson ribon