birat ribon

प्रदेशसभा : काङ्ग्रेससँग लिखित प्रतिबद्धता खोज्दै ओली समूह

Neuro
प्रदेशसभा : काङ्ग्रेससँग लिखित प्रतिबद्धता खोज्दै ओली समूह

विराटनगर / अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकार अल्पमतमा छ । नेकपाको प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गराएपछि अल्पमतमा परेको ओली समूह संसद् छल्ने पक्षमा देखिएको छ ।

२५ माघको बैठक सरकारकै अवरोधका कारण स्थगित भएको थियो । ९ फागुनका लागि बोलाइएको बैठक पनि अवरुद्ध गर्ने ओली समूहको तयारी छ । प्रदेशसभामा नेपाली काङ्ग्रेसले समर्थन नगर्ने अवस्था आएपछि ओली समूह संसद्ले अवरुद्ध गरेको प्रचण्ड–माधव समूहका नेताहरु बताउँछन् ।

cura insider

नेपाली काङ्ग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइराला काङ्ग्रेसले लेखेर दिएपछि मात्रै ओली समूहले बैठक चल्न दिने मनसाय प्रकट गरिरहेको बताउँछन् ।

‘हामीले कसलाई समर्थन गर्ने भन्ने विषयमा विचारविमर्श हुन्छ । संसदीय दलको बैठक बस्छ अनिमात्रै थाहा हुन्छ,’ उनले भने, ‘पहिले नै लेखेर उहाँहरुलाई कसैले दिन्छ ? काङ्ग्रेसले लेखेर दिन्छ अनिमात्रै बैठक चलाउने ? यस्तो कुरा हुँदैन ।’

सरकारमा काङ्ग्रेसले कसलाई समर्थन गर्ने भन्ने विषयमा अहिले नै टुङ्गोमा नपुगेको उनले बताए । अविश्वासको प्रस्ताव दर्ता भएपछि थप छलफल गर्ने उनको भनाइ छ । ओली समूहले काङ्ग्रेसले समर्थन गर्ने लिखित सहमति गरेमात्रै संसद्मा छलफल अघि बढ्न दिने तर्क गरेको बताउँदै उनले काङ्ग्रेस तत्कालै कुनै समूहसँग लिखित सहमति गर्न पक्षमा नरहेको बताए ।

ओली समूह सत्ता लम्ब्याउने अभियानमा लागेको उनको आरोप छ । ‘सोझो औँलाले घिउ आएन भने औँला बङ्ग्याउन जानेका छौँ,’ उनले अघि भने, ‘अस्ती कहीँ नभएको जात्रा सत्ता पक्षले देखायो । अब बैठक रोक्न दिँदैनौँ ।’

सत्तारुढ नेकपाको ओली समूह पार्टी विभाजनले आधिकारिकता नपाएसम्म बैठक सञ्चालन गर्न नदिने पक्षमा छ । प्रदेशसभाको बैठक सञ्चालन गर्ने हुँदा संसदीय दलका नेताले कारवाही गरेका प्रचण्ड–माधव समूहका १६ जना सांसदलाई बैठकमा प्रवेश गर्न नदिने रणनीति बनाएको छ ।

‘९ गतेको मात्र होइन्, दल विभक्त नभएसम्म बैठक अवरुद्ध हुन्छ,’ नेकपा प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले भने, ‘संसदीय दलले १६ जनालाई कारवाही गरेको छ । कारवाहीमा परेका सांसदलाई प्रदेशसभामा प्रवेश गर्ने भए दल विभाजनले आधिकारिता पाउनुपर्छ ।’

प्रदेश १ मा गत पुस १२ गते मुख्यमन्त्रीविरुद्ध नेकपाको प्रचण्ड–माधव समूहका ३७ जना सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वासको प्रस्ताव दर्ता गराएकामध्ये पाँच जनाले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।

jackson ribon