विराटनगर / असंवैधानिक रूपमा संसद् विघटनको आरोप खेपिरहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र वर्तमान सरकारको बचाउमा लागेका महेश बस्नेतको नेतृत्वमा रहेको भनिएको ‘साइबर सेना’ जनतामाझ भ्रमको खेती गर्न लागिपरेको छ ।

त्यसैको पछिल्लो कडीका रूपमा बुधबार दिउँसो काठमाडौँमा नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले गरेको सडक प्रदर्शनको एउटा तस्बिर बिगारेर भाइरल बनाउन गरिएको प्रयत्नलाई लिन सकिन्छ । २०२० डिसेम्बर २९ मा क. प्रचण्ड नामक फेसबुक पेजमा अपलोड भएको सो तस्बिरमा इडिट गरेर ‘साइबर सेना’ले सरकार समर्थक कार्यकर्तामार्फत भाइरल बनाउन खोजिरहेको छ ।
फेसबुक तथा ट्विटरमा नाना टिप्पणीसहित भाइरल बनाउन खोजिएको उक्त तस्बिरमा फोटोसप टुल्स गरी भारतीय तथा अमेरिकी झन्डा राखिएको छ, जसलाई सरकार समर्थक कार्यकर्ताहरूले प्रचण्ड–माधव समूहको प्रदर्शनमा भारतीय तथा अमेरिकी घुसपैठ भन्दै भ्रम छरिरहेका छन् ।

टुँडिखेल भद्रकालीनजिकैको आकोस पुलबाट खिचिएको सो तस्बिरमा इडिट गरेर भारतीय तथा अमेरिकी झन्डा राखेको प्रष्ट बुझिन्छ । ‘साइवर सेना’ले केही दिनअघिको प्रचण्ड–नेपाल समूहद्वारा घोषित बन्दका क्रममा जनआन्दोलन २०६२/०६३ को तस्बिर प्रयोग गरी मान्छे उत्तेजित बनाउने प्रयास गरेका थिए । उनीहरूले केही महिनाअघि विदेशको एउटा तस्बिर नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेलले प्रहरीलाई हान्न बोकेको ढुङ्गा भन्दै भ्रमको खेती गर्न खोजेका थिए ।
