विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले बुख्याचाजस्तो तर्साउने कुराको केही अर्थ नहुने बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं वार्षिक उत्सवको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै ओलीले ‘टाउकोको माया छ कि छैन भनेर धम्की दिने, धाक लगाउने र तर्साउने काम भइरहेको’ बताए ।
‘भ्रष्टाचार नियन्त्रण हाम्रो साझा अभियान हो । हामीले भ्रष्टाचारमुक्त देश बनाउनु छ,’ त्यसका लागि प्रभावकारी कदम चाल्दै आएका बताउँदै प्रधामन्त्री ओलीले भने, ‘यसका लागि नेपाल सरकारका तर्फबाट सबै प्रकारको सहयोग प्रदान गरिने छ ।’
आयोगलाई स्वतन्त्र रुपमा काम गर्न नदिएको भन्ने विषयतर्फ इशारा गर्दै ओलीले भने, ‘आयोग लाचार छाया पनि होइन, अहिलेको सरकार कुनै पनि निकायलाई स्वतन्त्र ढङ्गले काम गर्न दिन चाहन्छ ।’ सरकारका तर्फबाट कुनै पनि बाधा अवरोध नहुने बताउँदै ओलीले देश र जनतालाई शीरमा राखेर सरकार अगाडि बढेको बताए ।
उनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न लोकतान्त्रिक समाज निर्माणको आवश्यकता रहेको बताए ।
‘भ्रष्टाचार गरेर कारवाही गर्नुभन्दा भ्रष्टाचार नै हुन नदिनु राम्रो हो,’ प्रम ओलीले भने, ‘त्यसका लागि राज्यका निकाय तुुन्दुरुस्त, प्रभावकारी बनाउन जरुरी छ ।’ त्यसका लागि कानुन संशोधनका लागि प्रक्रियामा गइसकेको बताउँदै ओलीले त्यो निर्वाचनपछि अझ प्रभावकारी भएर आउने बताए ।
आयोगले विगत ३० वर्षमा भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा सकारात्मक योगदान गरेको ओलीको धारणा राख्दै ओलीले भने, ‘कहिले–कहिले आयोग भ्रष्टाचार नियन्त्रण गर्नेभन्दा पनि अलि फरक ढङ्गले, अनुचित ढङ्गले प्रस्तुत हुनेजस्ता प्रयासहरु पनि देखिए, त्यस्तो हुनु हुँदैन ।’
भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य कार्य भएको बताउँदै उनले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्नु भनेको समाज स्वच्छ बनाउनका लागि हो, समाजको प्रवृत्ति स्वस्थ बनाउनका लागि हो ।’
आयोगमा ‘फरक’ पर्ने गरी मुद्दा दायर गर्न नहुने भन्दै ओलीले भने, ‘त्यसले समाज र व्यक्तिको परिवारमा फरक पार्दछ । निर्दोष मान्छेहरु फस्ने गरी मुद्दा दर्ता गरियो भने यसले त्रास र अविश्वासको वातावरण बनाउँछ ।’ त्यसैले मुद्दा दायर गर्नुअघि तथ्यहरु यकिन भएपछि मात्र मुद्दा दर्ता गर्न ओलीले सुझाव दिए ।
निर्दोष मानिसले सजायको भागिदार हुन नहुने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘अख्तियार निर्दोष मानिसहरुलाई संरक्षण गर्ने थलो पनि हो भन्ने कुरा भुल्नु हुँदैन । मैले त्यहाँ पुगेपछि सफाइ पाउँछु, न्याय पाउँछु भन्ने मानिसमा विश्वास जगाउनु ठूलो कुरा हो ।’