birat ribon

फेरि कुतर्कको निसानामा अभिव्यक्ति स्वतन्त्रता

Neuro
फेरि कुतर्कको निसानामा अभिव्यक्ति स्वतन्त्रता

अक्लमन्दों की कमी नही गालिब, एक ढुंढो हजार मिलते हैं ।

उर्दूका चर्चित सायर मिर्जा गालिबको प्रसिद्ध शेर हो यो । यसको अर्थ हो, यस जगमा बुद्धिमानको कमी छैन, एउटा खोज हजार पाइन्छन् ।

cura insider

नेपालको वर्तमान अवस्थालाई दृष्टिगत गर्‍यो भने गालिबको यो शेर अत्यन्तै सही छ जस्तो लाग्छ । कन्टिर–बाबूलाई व्यङ्ग्य–भावको यो शेर निकै महत्त्वपूर्ण लाग्छ । जनकपुरतिर कसै–कसैले यसैलाई बेबकुफों की कमी नही गालिब पनि भन्छन् ।

नेपालमा उपबुज्रुकहरूको कमी छैन । वाहियात तर्क गर्ने एक से एक महारथिहरू निस्किन्छन् । कन्टिर–बाबूका अनुसार सरकारमा बसेका व्यक्ति र तिनका आसेपासेहरूमा यो मानसिकता अझै बढी छ ।

उनीहरू आलोचनालाई आफूहरूको व्यक्तिगत स्वतन्त्रता हनन्, व्यक्तित्वमा प्रहार भएको सम्झिन्छन् । सञ्चारमाध्यमको तिमीलाई तपाई बनाउन दबाब दिनु सरकारको दायित्व ठान्छन् ।

सरकारले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिने, त्यस्ता अभिव्यक्तिलाई प्रकाशन, प्रसारण गर्ने माध्यमलाई समेत कारबाही गर्ने सोचबाट नियन्त्रणमुखी नीति लागू गर्न चाहेको कुरा व्यापक चर्चामा छ । चर्चामा कति सत्यता छ वा छैन, कन्टिर–बाबू यसै भन्न सक्ने अवस्थामा छैनन् । तर कन्टिर–बाबू आगो नभई धुवाँ उड्दैन भन्ने नेपाली भनाइ सम्झिरहेछन् ।

उनी कामना गर्छन्, सरकारको यो सोच सत्य नहोस् । एक पटक व्यापक विरोधपछि फिर्ता भइसकेको सामाजिक सञ्जाल नियमन विधेयक सरकारले अध्यादेशमार्फत लागू गर्न चाहेको सत्य भएछ भने कन्टिर–बाबूले यसको ठाडै प्रतिवाद गर्नेछन् । भन्छन्– अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउने हरेक कुत्सित प्रयासको भद्र अवज्ञा गरिन्छ, मानिन्न ।

सरकारनजिक रहेका बुद्धिजीवीहरूको बुद्धिका बारेमा कन्टिर–बाबूको. मनमा त्यति सकारात्मक धारणा छैन । तिनले सरकारविरोधी अभिव्यक्तिहरूलाई रोक्ने क्रममा जस्तो पनि सल्लाह दिन सक्छन् सरकारलाई । आममानिसको मुख थुने टन्टै साफ, न रहेगा बाँस न बजेगा बाँसुरीवाला भाव हुन सक्ने सम्भावनालाई कन्टिर–बाबू अस्वीकार गर्न सक्दैनन् ।

तर यार यस्तो पनि हुन्छ ? २१औँ शताब्दीवाला जमाना, त्यसमा पनि लोकतान्त्रिक भनिएको शासन शैली भएको देशमा यस्तो कुकृत्य होला भनेर कसरी पत्याउनु ? कन्टिर–बाबूलाई भरोसा त छैन तर कथित दुईतिहाइ बहुमतको कमनिस्ट हालीमुहाली भएको ठाउँमा लोकतन्त्रका नाममा जे सुकै पनि हुन सक्छ ।

अरे यार ! तिनलाई समस्या हुन्छ भनेर आम व्यक्तिले बोल्नै छोड्ने ? ए बुद्धिमा खोया लागेकाहरू समय रहँदै ढक्कल खोल अरूका विचारलाई निषेध गर्ने राजनीतिको अन्त्य गर ।

कन्टिर–बाबू भन्छन्– अलिकति भए पनि आफूलाई सच्याऊ यार ! खुला समाजमा अभिव्यक्ति र विचार प्रवाहका एक होइन हजार माध्यम छन्, तिनलाई रोक्न सक्दै–सक्दैनौ । बेकारमा सामाजिक सञ्चाल र सञ्चारमाध्यममा कुतर्कको जरो किन गाड्छौ ?

jackson ribon