birat ribon

प्रधानमन्त्रीकै गृहजिल्लाका पत्रकार प्रधानमन्त्रीविरुद्ध सडकमा

Neuro
प्रधानमन्त्रीकै गृहजिल्लाका पत्रकार प्रधानमन्त्रीविरुद्ध सडकमा

विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने निर्णयविरुद्ध मुलुकमै पहिलोपटक झापाली सञ्चारकर्मी सडकमा ओर्लिएका छन् । प्रधानमन्त्रीको गृहजिल्ला झापाबाटै सञ्चारकर्मीहरूले प्रतिगमनविरुद्ध आन्दोलन छेडेका हुन् ।

नेपाल प्रेस युनियन झापा र प्रेस सङ्गठनको ब्यानरमा झापाली सञ्चारकर्मीले प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै त्यसको चर्को विरोध गरे ।

cura insider

टाउकोमा कालो पट्टि बाँधेर सडकमा ओर्लिएका सञ्चारकर्मीहरूले लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, असंवैधानिक कदम तुरुन्त सच्याऊ, प्रतिगमन मुर्दावादलगायत नारा लगाएका थिए ।
प्रधानमन्त्री ओलीले आफूलाई तानाशाहको रूपमा विकास गर्दै लगेको भन्दै यस्तो सपना नदेख्न सचेत गराएका थिए । नेपाली सञ्चारकर्मीले हरेक राजनीतिक परिवर्तनमा ऐतिहासिक योगदान पुर्‍याएको स्मरण गर्दै पत्रकारले झापाबाट थालिएको आन्दोलन देशव्यापी हुने विश्वास व्यक्त गरे ।

केही व्यक्ति अझै पनि प्रधानमन्त्रीको कदमप्रति भ्रममा रहेको भन्दै सञ्चारकर्मीहरूले उनीहरूलाई भ्रम तोडेर प्रेस स्वतन्त्रता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आन्दोलनमा उत्रन आग्रह गरे ।

दुर्गामन्दिर परिसरबाट सुरु भएको र्‍याली विर्तामोड बजार परिक्रमापछि मुक्ति चोक पुगेर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापाका पूर्वसभापति कृष्ण हुमागाईले प्रधानमन्त्री ओलीलाई तानाशाह नबन्न सुझाव दिए । लोकतन्त्रिक विधिबाट सत्तामा पुगेका शासक पनि निरङ्कुशतन्त्रका शासकजस्तै हुनसक्ने भन्दै उनले यस्ता शासकप्रति सबै सचेत हुनुपर्ने बताए । ‘प्रधानमन्त्री ओली त्यही बाटोमा हिँडेका छन्,’ उनले भने, ‘लोकतन्त्रमा त्यस्ता शासकलाई जनताले साथ दिँदैनन् ।’

नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटाले आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आफ्नै गृह जिल्लाका प्रधानमन्त्री भएर पनि गर्व गर्न नसकिने काम गरेका कारण पत्रकारहरू सडकमा उत्रिनुपरेको तीतो पोखे । उनले प्रधानमन्त्री ओलीलाई विधि मानेर अगाडि बढ्न पनि सुझाव दिए ।

प्रदर्शनका क्रममा प्रेस सङ्गठनका प्रदेश–१ अध्यक्ष राजन केडी, नेपाल प्रेस युनियन केन्द्रीय सदस्य गोविन्दचन्द्र क्षेत्री, पूर्व केन्द्रीय सदस्य लोकराज ढकाल, नेपाल पत्रकार महासङ्घ प्रदेश समिति सदस्य तीर्थ सिग्देल, फोनिजका प्रदेश १ इन्चार्ज दिपीन राई, प्रेस सङ्गठन प्रदेश सदस्य सुब्रत न्यौपाने, नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी, सञ्चारकर्मी लीला अनमोल, आदिवासी पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष इन्द्रसिंह राजवंशीलगायतले ओलीको प्रतिगामी कदमको निन्दा र भत्सर्ना गरेका थिए ।

jackson ribon