birat ribon

सरकारले चालू आवको बजेट घटायो

Neuro
सरकारले चालू आवको बजेट घटायो

काठमाडौँ / सरकारले चालू आर्थिक वर्षको बजेटमा संशोधन गरेर आकार घटाएको छ । चालू आर्थिक वर्षको गत ६ महिनाको खर्चको अनुमानका आधारमा सरकारले १४ खर्ब ७४ अर्बलाई घटाएर १३ खर्ब ४४ अर्ब ६८ करोड खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको हो ।

Padelux insider
cura insider

अर्थ मन्त्रालयमा मङ्गलबार चालू आर्थिक वर्षको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पहिलो ६ महिनाको पृष्ठभूमिको आधारमा आम्दानी र खर्चको संशोधित अनुमान प्रस्तुत गरेका हुन् ।

संशोधित अनुमानमा चालू आर्थिक वर्षमा १४ खर्ब ७४ अर्ब खर्च हुने अनुमान गरिएकोमा १३ खर्ब ४४ अर्ब ६८ करोड मा झारिएको छ । यो कुल विनियोजनको करिब ९१ दशमलब १९ प्रतिशत हो ।
त्यसैगरी, चालूतर्फ नौ खर्ब १४ अर्ब ७८ करोड , पुँजीगततर्फ दुई खर्ब ८३ अर्ब चार करोड र वित्तीय व्यवस्थापनतर्फ एक खर्ब ४६ अर्ब ८६ करोड हुने अनुमान छ । राजस्व र आन्तरिक ऋणमा चालू वर्षको अन्त्यसम्ममा नेपाल सरकारको स्रोतबाट १० खर्ब ७४ अर्ब ६८ करोड, वैदेशिक अनुदानतर्फ ३५ अर्ब र वैदेशिक ऋण तर्फ दुई खर्ब ३५ अर्ब खर्च हुने संशोधित अनुमान रहेको छ ।

मन्त्री पौडेलले कोभिड १९ को प्रभाव कम हुँदै गएको, खोप प्रारम्भ गरिएको र आन्तरिक आर्थिक गतिविधि, क्रमशः पुरानै लयमा फर्कदै गएकाले चालू आर्थिक वर्षको बाँकी अवधिमा बजेट कार्यान्वयनको संशोधित कार्ययोजना बनाई कार्यान्वयन गरिने बताए ।

सरकारले यो ६ महिनामा मुद्रास्फिति नियन्त्रणमा रहेको र आर्थिक क्रियाकलापमा सुधार हँुदै आएकाले आर्थिक वृद्धिदर औसत रहने अनुमान गरेको छ ।

राजस्वको संशोधित अनुमानमा रही राजस्व लक्ष्य पुरा गर्ने, पुँजीगत खर्च बढाउने र साधारण खर्चमा मितव्ययीता अपनाउँदै निर्वाचनका लागि आवश्यक पर्ने स्रोतको प्रबन्ध गरिने मन्त्री पौडेलले जानकारी दिए । निर्वाचनका लागि आवश्यक स्रोतको प्रबन्ध गर्ने निर्णयमा हस्ताक्षर गरिसकेको जानकारी दिँदै उनले निर्वाचन आयोगले माग गरेअनुसार झण्डै सात अर्ब रुपैयाँ सरकारले निर्वाचनका लागि प्रबन्ध गर्ने बताए ।

अर्थसचिव शिशिर ढुङ्गानाले अनुत्पादक क्षेत्रको खर्च कटौती तथा चालू र पुँजीगत खर्चअन्तर्गत खर्च हुन नसकेको रकमबाट कोरोना भ्याक्सिन र निर्वाचनका लागि आवश्यक रकम जुटाइने बताए । कोरोनाका कारण केही समय रोकिएकाले राष्ट्रिय गौरवका आयोजनामा हुने खर्च कम देखिए पनि विस्तारै अवस्थामा सुधार आएकाले वृद्धि हुँदै जाने उनको भनाइ छ ।

चालु आर्थिक बर्षको पहिलो ६ महिनामा कुल विनियोजिन रकमको जम्मा २८ दशमलब १९ प्रतिशत खर्च भएको छ । १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख मध्ये चार खर्ब १५ अर्ब ७४ करोड ५४ लाख खर्च भएको हो । समीक्षा अवधिको कुल खर्चमध्ये चालूतर्फ ३८ दशमलब शून्य ८, पुँजीगततर्फ १४ दशमलब ४ र वित्तीय व्यवस्थापनतर्फ १३ दशमलब ०६ प्रतिशत खर्च भएको छ ।

चालू आर्थिक वर्षमा दुई खर्ब २५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य रहेकोमा पहिलो ६ महिनामा जम्मा ५७ अर्ब ऋण परिचालन गरिएको छ । राष्ट्रिय गौरवका आयोजनाहरूमा विनियोजनको १५ दशमलब १९ प्रतिशत मात्र खर्च भएको छ ।

jackson ribon