काठमाडौँ / अर्थमन्त्री विष्णु पौडेलले भक्तपुरको दुवाकोटमा बन्न लागेको वीर अस्पतालको विस्तारित अस्पताल बनाउन आर्थिक अभाव नहुने बताएका छन् ।
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नम्वर १ दुवाकोटमा बिस्तार गर्न लागिएकोे निर्माण क्षेत्रको अवलोकन गर्दै मन्त्री पौडेलले वीर अस्पताल विस्तारका लागि कुनै पनि निकायवाट बाधा नहुने बताएका हुन् ।
उनले वीरसम्म पुग्ने बाटो निर्माणमा केन्द्रले नै काम गर्ने बताए । आगामी छ महिनाभित्रमा बिजुली पानी तथा अत्यावश्यक सेवासमेत उपलब्ध हुने उनले बताए । उनले सडक डिभिजन, विद्युत प्राधिकरण, खानेपानी तथा अन्य निकायका सचिव तथा सम्बन्धित न्याम्स तथा वीरका पदाधिकारीहरुलाई साथै स्थानीय निकायका प्रमुखलाई पनि छ महिनाभित्र प्रगति प्रतिवेदन पेश गर्न आग्रह गरेका थिए ।
अर्थमन्त्रीसँगै स्थलगत अवलोकनमा पुगेकास्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेस त्रिपाठीले वीर अस्पतालजस्तो ठूलो प्रोजेक्टमा यथासक्य छिटो काम थालनी गर्न आफूहरु तनमनले लागेको बताए । उनले दुवाकोटवासीले यस कामलाई आफ्नै ठानेर सहयोग गर्न आग्रह गरे । विस्तारित वीर अस्पतालको कामले छिटोभन्दा छिटो थालनी पाउने उनले बताए ।
चाँगुनारायण नगरपालिका वडा नम्वर १ मा विस्तार हुन लागेको वीर अस्पतालका लागि सरकारले न्याम्सको नाममा पाँच सय ७० रोपनी जग्गा दिएको छ । मनोहरा खोला किनारमा अवस्थित उक्त स्थानमा वीर अस्पतालका विभिन्न भवन तथा शैक्षिक संस्थाहरु तथा ल्याबहरु बन्ने छन् ।
जसका लागि सरकारले चिनिया कम्पनीसँग सम्झौता गरिसकेको भए पनि चिनिया कम्पनीले भने ढल, पानी, विद्युत, बाटोलगायत कुनै पनि भौतिक पूर्वाधारविना आफूहरु काम गर्न नसक्ने भनी पन्छेपछि एक वर्षदेखि काम यत्तिकै थाँती रहेको थियो ।
स्थलगत अवलोकनमा अर्थमन्त्री, स्वास्थ्यमन्त्री, स्वास्थ्य राज्यमन्त्री, खानेपानी, अर्थ, स्वास्थ्य सचिव, न्याम्सका उपकुलपति, चाँगुनारायण नगरपालिकाका प्रमुख तथा स्थानीय निकाय पदाधिकारीहरु पुगेका थिए ।