birat ribon

विराट राजवंशी समुदायको बृहत भेला हुँदै

Neuro
विराट राजवंशी समुदायको बृहत भेला हुँदै

विराटनगर / विराट राजवंशी समुदायको प्रदेश १ स्तरीय १४ औँ बृहत भेला विराटनगरमा हुने भएको छ । मङ्गलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै राजवंशी समाज उत्थान समितिले उक्त जानकारी दिएको छ ।

‘आदिवासी जनजातिमा सूचिकृतका लागि दवाव सिर्जना गरौँ, विराट राजवंशीको एकता, ऐक्यबद्धता र प्रतिबद्धताका लागि विराटनगरमा भेला हौँ’ भन्ने मूल नाराका साथ विराट राजवंशी समाज उत्थान केन्द्रीय समितिको फागुन ६ गते विराटनगरमा बृहत भेला हुने बताइएको छ ।

cura insider

भेलामा विराट राजवंशीले आफ्नो भेषभुषा, भाषा, सांस्कृतिक पहिचान झल्काउने झाँकीसहित विराटनगरको मुख्य बजार परिक्रमा गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । नगर परिक्रमापछि वीरेन्द्र सभागृहमा बृहत सभाको आयोजना गरिने राजवंशी समाज उत्थान समितिका अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले बताए ।

राज्यले विराट राजवंशीलाई अहिलेसम्म आदिवासी जनजाति प्रतिष्ठानको छुट्टै सूचिमा सूचिकृत नगरेको भन्दै अध्यक्ष राजवंशीले भने, ‘सूचिकृत नभएको खण्डमा जस्तोसुकै आन्दोलन गर्न पनि तयार हुने छौँ ।’

समितिले माघ ३० गते मोटरसाइकल र्‍यालीमार्फत् राजवंशी चोकदेखि विराट स्वायत्त परिषद्को परिक्रमा गर्ने जनाएको छ ।

राजवंशी समाज उत्थान समितिद्वारा जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यस क्षेत्रका राजनीतिक दल र राज्यका सम्बन्धित निकायले विराट राजवंशीको मागप्रति चासो देखाएका छैनन् । स्थानीय, प्रदेश र सङ्घीय सरकारसम्म विराट राजवंशीको प्रतिनिधित्व नहुनुले यसको पुष्टि गर्छ ।त्यसैले विराट राजवंशी समुदायले राज्यको प्रत्येक अङ्ग तथा तहमा आफ्नो हक, अधिकार र पहिचानका लागि सशक्त आवाज बुलन्द गर्दै अगाडि बढ्नुको कुनै विकल्प देखेको छैन ।’


राजवंशी समाज उत्थान समितिले सरकारसमक्ष विभिन्न माग राखेको छ । समितिले विराट राजवंशीलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचिकृत गर्नुपर्ने, राष्ट्रिय जनगणना आयोग २०७८ अन्तर्गतको तथ्याङ्क विभागले विराट राजवंशी जातिको अलग्गै महल राखी अभिलेखको व्यवस्था गर्नुपर्ने माग राखेको छ ।

यस्तै प्रदेशको नाम विराट प्रदेश घोषण गर्नुपर्ने, राज्यको हरेक अङ्गमा विराट राजवंशीको स्थान सुनिश्चित गर्नुपर्ने, प्रदेश १ को प्रदेशसभा सदस्यमा समानुपातिक रुपमा प्रतिनिधित्व गराउनु पर्ने, विराटनगरको प्रथम जातिको रुपमा विराट राजवंशीलाई घोषण गर्नुपर्ने उल्लेख गरिएको छ ।

यस्तै विराट राजवंशी जातिको उत्थानका लागि प्रत्येक तहमा आरक्षणको व्यवस्था गर्नुपर्ने, विराट राजवंशीको प्रमुख बसोबास रहेको विराटनगर महानगरपालिका, कटहरी, जहदा, बूढीगङ्गा र ग्रामथान गाउँपालिकालाई विराट राजवंशी स्वायत्त परिषद्को व्यवस्था गर्नुपर्ने र विराट दरवार क्षेत्रको संरक्षण एवम् सम्बद्र्धनका लागि विराट राजवंशी समुदायको नेतृत्वमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने माग अघि सारेको छ ।

jackson ribon