birat ribon

उधारोमा चल्दै रङ्गशाला निर्माणको काम

Neuro
उधारोमा चल्दै रङ्गशाला निर्माणको काम

चितवन / रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम बजेट अभावमा उधारोमा चलिरहेको छ । हालसम्म नौ करोड २५ लाख उधारोको बिल पेस भए पनि निर्माण भने रोकिएको छैन । रङ्गशाला निर्माणका लागि गत वर्ष गरिएको महायज्ञको बोलकबोलको रकमसमेत उठ्न नसक्दा उधारोमा काम गर्नुपरेको हो ।

Padelux insider
cura insider

रङ्गशाला निर्माण गरिरहेको धुर्मस–सुन्तली फाउन्डेसनका लेखा प्रमुख मुक्ति तिमिल्सिनाका अनुसार हालसम्म ४१ करोड ८८ लाख चार हजार नै सय ३६ खर्च भइसकेको छ । सोमध्ये सोमबारसम्म प्राप्त बिलअनुसार नौ करोड २५ लाख भुक्तान गर्न बाँकी छ । हरेक महिनाको अन्त्यमा निर्माण सामग्री र रेडिमिक्सको बिल आउने भएकाले माघ मसान्तसम्म उधारो थपिने उनको भनाइ छ । उनका अनुसार माघ मसान्तसम्म १० करोड रुपैयाँभन्दा बढी उधारो हुनेछ ।

हालसम्म रङ्गशाला निर्माणका लागि ३१ करोड ८३ लाख ८३ हजार आम्दानी भएको छ । सबैभन्दा बढी भरतपुर महानगरपालिकाले आठ करोड, वाग्मती प्रदेश सरकारले तीन करोड सहयोग गरेका छन् । महायज्ञमा बोलकबोल ६९ करोड ४५ लाख ५६ हजार भएकामा जम्मा नौ करोड ११ लाख ६५ हजारमात्र प्राप्त भएको तिमिल्सिनाले जानकारी दिए ।

महायज्ञमा एक करोडभन्दा बढी आठवटा संस्थाले कबोल गरेका थिए । वाग्मती प्रदेश सरकारले ३० करोड, भरतपुर महानगरपालिकाले १६ करोड ७५ लाख, जिल्ला समन्वय समिति चितवनले दुई करोड २२ लाख, वामदेव गौलीले एक करोड १२ लाख रुपैयाँबराबरको जग्गा, नेपाल एलपी ग्यास उद्योगले एक करोड, गैँडाकोट नगरपालिकाले एक करोड रुपैयाँबराबरको काठ, नेपाल पोल्ट्री महासङ्घले एक करोड र ग्लोबल आइएमई बैंकले एक करोड रुपैयाँ बोलकबोल गरेका थिए । ग्लोबल आईएमई बैंकले पूरै र पोल्ट्री महासङ्घले ३० लाखबाहेक अन्यले कबोलको रकम भुक्तान नगरेको तिमिल्सिनाले जानकारी दिए ।

महायज्ञ आयोजक समितिका महासचिव दिनेशकुमार चुके कोभिड–१९ का कारण रकम उठ्न ढिलाइ भएको भए पनि दाताहरूको नदिने नियत नभएकाले रकम क्रमशः उठ्दै जाने बताउँछन् । रकम उठाउनका लागि समितिका तर्फबाट टीकाराम लामिछानेलाई जिम्मेवारी दिइएको र सम्पूर्ण हिसाबकिताब फाउन्डेसनलाई बुझाइएको उनले जानकारी दिए ।

वाग्मती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले आव २०७७र७८ को विनियोजित रकमबाट सहयोग गरे पनि महायज्ञमा कबोल गरेको रकम भुक्तानी गरी नसकेको तिमिल्सिनाले जानकारी दिए । जिल्लाका अन्य केही पालिकाले कबोलको रकम पठाएको भए पनि केहीको बाँकी छ । महायज्ञमा सहयोग रकम बोल्ने सांसददेखि व्यापारीसम्मले रकम भुक्तानी गरेका छैनन् ।

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ ले बजेट अभाव हुँदा सोचेजसरी काम अघि बढाउन नसकेको बताए । उनले भने, ‘रकमको जोहो हुने निश्चित स्रोत छैन, बजारबाट ल्याएको सामानको पैसा तिर्न फिटिफिटी परेका छौँ ।’ उधारो नतिर्दासम्म आपूर्तिकर्ताले थप सामान नदिने अवस्था रहेको उनको भनाइ छ । कोभिडका कारण दाताहरूबाट अपेक्षाकृत सहयोग प्राप्त हुन नसकेको उनको गुनासो छ ।

रकम अभावकै कारण रङ्गशाला निर्माणमा खटिने कामदारको सङ्ख्या समेत घटाइएको छ । पहिले तीन सय १३ जनासम्म कामदारले काम गर्दै आएकामा पछिल्लो समय घटाएर एक सय ३५ जना मात्रैले काम गरिरहेका छन् । रकम अभाव भए पनि चाडपर्वदेखि कोभिडको समयमा समेत कामलाई भने निरन्तरता दिइएको छ ।

रङ्गशाला निर्माण सम्पन्न गर्न करिब तीन अर्ब लाग्ने अनुमान गरिएको छ । हाल रङ्गशालाको मैदान र प्यारापिटको काम भइरहेको छ । गत साउन १ गतेदेखि संरचनाको काम सुरु गरिएको रङ्गशाला एक वर्ष ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जग्गा रङ्गशाला निर्माणका लागि उपलब्ध गराइएको हो । भरतपुर महानगरपालिका–१५ मा रङ्गशाला निर्माण भइरहेको छ । जग्गा दिलाउन र यहाँ रङ्गशाला निर्माणका लागि

महानगरपालिकाले अगुवाइ गरेको थियो । महानगरपालिकाकै आग्रहमा फाउन्डेसनले रङ्गशाला निर्माण थालेको हो । रासस

jackson ribon