विराटनगर / फ्लोरिडाको एक शहरको पानीको आपूर्ति प्रणालीलाई ह्याक गरेर पानीमा विषालु रसायन मिसाउने कोसिस गरेको पाइएको छ ।
अधिकारीका अनुसार अमेरिकामा एक ह्याकरले ओल्डस्मार शहरको वाटर ट्रिटमेन्ट सिस्टमलाई ह्याक गरेर पानीमा सोडियम हाइड्रोक्साइडको मात्रा बढाउने कोसिस गरेका हुन् । पानीमा एसिडिटी रोक्नका लागि सोडियम हाइड्रोक्साइडलाई कम मात्रामा प्रयोग गरिन्छ र यसको मात्रा बढाउँदा गम्भीर परिणाम पनि निम्तन सक्छन् । सोडियम हाइड्रोअक्साइडले छाला र आँखामा जलन पैदा गर्नुका साथै कपाल झार्न सक्छ ।
यसको सेवन गरेमा मुख, गला, पेटमा हानी पुर्याई वाकवाकी लाग्ने, बान्ता हुने र रिँगटा लाग्नुका साथै झाडापखाला पनि लाग्न सक्छ । तर, त्यहाँ काम गर्ने एक कर्मचारीको यसमाथि नजर पर्नासाथ उनले यसलाई रोकिदिएका हुन् । प्लान्टका एक अपरेटरले बिहानको समयमा सिस्टममा सामान्य परिवर्तन भएको देखेका थिए तर उनले आफ्नो सुपरभाइजरले उक्त काम गरिरहेको सोचेका थिए ।
तर, त्यसै दिन दिउँसो पुनः ह्याकरले ट्रिटमेन्ट प्लान्टको सफ्टवेयर ह्याक गरेर सोडियम हाइड्रोक्साइडको मात्रा सय प्रति दस लाखबाट बढाएर ११ हजार एक सय प्रति दस लाख गरिदिएका थिए । १५ हजार मानिसलाई पानीको आपूर्ति गर्ने प्लान्टको अपरेटरले देख्नासाथ यसलाई तुरुन्त सामान्य स्तरमा परिवर्तन गरिदिएका थिए ।
जसकारण सर्वसाधारणहरू खतरामा नपरेको बताइएको छ । हालसम्म यो विषयमा कसैलाई पक्राउ गरिएको छैन र ह्याकको कोसिस अमेरिकाभित्र भएको वा अन्य देशबाट भएको भन्ने पनि पत्ता लाग्न सकेको छैन ।