birat ribon

फैलँदै ब्राउन सुगरको जालो, भयावह बन्दै अवस्था

Neuro
फैलँदै ब्राउन सुगरको जालो, भयावह बन्दै अवस्था

विराटनगर ।

Padelux insider
cura insider

घटना १,
मोरङ र उदयपुरबाट पुस ६ गते लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित आठ जना पक्राउ परे ।

उदयपुरको त्रियुगा नगरपालिका–११ बाट २५ वर्षीय जोनसेना भनिने सुमन बस्नेत र त्रियुगा–१२ मा बस्दै आएकी २५ वर्षीया पार्वती मगरलाई प्रहरीले पक्राउ गर्यो । २० मिलिग्राम ब्राउन सुगर र नौ हजार छ सय २० रुपैयाँ नगदसहित बस्नेत र २० ग्राम ३४ मिलिग्राम ब्राउन सुगर तथा ५७ हजार आठ सय रुपैयाँ नगदसहित मगर पक्राउ परेका हुन् । अनुसन्धानबाट ब्राउन सुगरको कारोबारमा बस्नेत र मगरको ‘कनेक्सन’ पत्ता लाग्यो । त्यही दिन बरुवा खोलाबाट त्रियुगा–११ का नसिव राई १६ ग्राम ३७ मिलिग्राम ब्राउन सुगर र ११ हजार दुई सय रुपैयाँ नगदसहित पक्राउ परे ।

पुस ६ गते नै मोरङको कानेपोखरी गाउँपालिका–५ भौंसाबारीबाट ४० ग्राम ब्राउन सुगरसहित प्रहरीले पाँच जनालाई पक्राउ गर्यो। कानेपोखरी–५ का १९ वर्षीय मुस्कान धिमाल, १९ वर्षीय विक्रम मगर, २२ वर्षीय पचन साह, कानेपोखरी–२ का २४ वर्षीय राजेश धिमाल र लेटाङ नगरपालिका–३ का २३ वर्षीय शान्तिराम काफ्ले पक्राउ परेका हुन् । प्रहरीले उनीहरु सामूहिक रुपमा ब्राउन सुगरको कारोबार गर्ने धन्दामा संलग्न रहेको पत्ता लगायो ।

घटना २,
बीआर ३७ यू ५८२३ नम्बरको भारतीय मोटरसाइकलमा सवार रहेको अवस्थामा भारत अररीयाका २२ वर्षीय मोहम्मद नवाब आलम र उनका भिनाजु मोरङको रतुवामाई–२ झुर्कियाका ४४ वर्षीय मोहम्मद रफिक मियाँ ठूलो परिणामको ब्राउन सुगरसहित माघ ५ गते पक्राउ परे । मोरङको रतुवामाई नगरपालिका–५ आमबारीबाट पक्राउ परेका दुवै जनाबाट प्रहरीले एक सय २६ ग्राम १४ मिलिग्राम ब्राउन सुगर फेला पार्यो । नवाब र रफिक पारिवारिक नाताभित्रका सालो–भेना हुन् ।

भारतमा डिलर नै सञ्चालन गरेर बसेका नवाबले नेपालमा सम्पर्क व्यक्ति राखेर सञ्जाल विस्तार गर्दै यसको कारोबार गरिरहेको प्रहरीले पत्ता लगाएको छ । उनले ब्राउन सुगरको कोरोबारलाई नेपालमा विस्तार गर्ने क्रममा परिवारिक नाताभित्रका व्यक्ति र केही आफन्तलाई पनि प्रयोग गरिरहेको फेला प¥यो । त्यसको एउटा उदाहरण हुन् उनका भिनाजु रफिक । नवाबले नेपालमा ब्राउन सुगर ‘सप्लाई’ र यसको धन्दा विस्तार गर्ने आधार आफन्तसँगको सम्पर्कलाई बनाएको पुष्टि भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

घटना ३,
झापाको दमक र कुमरखोदबाट प्रहरीले ब्राउन सुगरसहित माघ २० गते तीन जनालाई पक्राउ गर्यो। दमकबाट दमक नगरपालिका–९ का २० वर्षीय अजय राजवंशी दुई ग्राम दुई सय मिलिग्राम ब्राउन सुगर र सात हजार रुपैयाँ नगदसहित पक्राउ परेका हुन् । त्यस्तै कुमरखोदबाट भारत किसनगञ्जका ३० वर्षीय मोहम्मद आलम र २८ वर्षीय मदिउर रहमान १० ग्राम ब्राउन सुगर तथा नौ हजार एक सय ७० रुपैयाँ नगदसहित पक्राउ परे । पक्राउ परेकाहरुको साथबाट प्रहरीले ब्राउन सुगरको तौल लिने उपकरण पनि बरामद गरेको छ ।

घटना ४,
झापाको दमक–३ स्थित भुटानी शरणार्थी शिविरबाट माघ १७ गते ब्राउन सुगरसहित इलामको चुलाचुली–३ का ३८ वर्षीय यमबहादुर थाम्सुहाङ पक्राउ परे । शिविरभित्र प्रवेश गरेर बिक्री गरिरहेको अवस्थामा एक ग्राम आठ सय ५० मिलिग्राम ब्राउन सुगर र १९ हजार २५ रुपैयाँ नगदसहित उनी पक्राउ परेको प्रहरीले जनाएको छ । त्यही दिन प्रहरीले दमक–५ बाट तीन ग्राम ब्राउन सुगरसहित दमक–१ का २६ वर्षीय गगन लिम्बूलाई पक्राउ गर्यो । अनुसन्धानबाट उनी यसको कारोबारमा संलग्न रहेको पत्ता लाग्यो ।

घटना ५,
झापाको बिर्तामोड नगरपालिका–४ भद्रपुर रोड र बिर्तामोड –६ बुट्टाबारीबाट ब्राउन सुगरसहित तीन जना माघ ११ गते पक्राउ परे । भद्रपुर रोडबाट झापा गाउँपालिका–५ का ३० वर्षीय मिलन राजवंशी १२ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् । बुट्टाबारीबाट बिर्तामोड–६ का २० वर्षीय सुनिल राई र बिर्तामोड–७ का २३ वर्षीय रुपेश गुरुङ सात ग्राम ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परे । पक्राउ परेका तीनै जना यसका कारोबारी भएको प्रहरीले पत्ता लगायो ।

घटना ६,
मोरङको पथरीशनिश्चरे नगरपालिका–४ बाट प्रहरीले छ सय ३० मिलिग्राम ब्राउन सुगरसहित चार जनालाई पक्राउ गर्यो। पथरीशनिश्चरे–४ का १९ वर्षीय साजन, २२ वर्षीय छिरिङ , २४ वर्षीय नवराज राई र भोजपुरको साल्पासिलिछो–२ का १९ वर्षीय निरज राई माघ ११ गते पक्राउ परेका हुन् ।

माथि उल्लेख गरिएका प्रशंग प्रदेश १ मा ब्राउन सुगरको अवैध धन्दासँग जोडिएका उदाहरण हुन् । अन्तर्राष्ट्रिय बजारमै महँगो र उच्च गुणस्तरमध्येको मानिने यो लागुऔषधको धन्दा प्रदेशमा पछिल्लो समय मौलाएर जाँदा अवस्था भयावह बनेर गएको विभिन्न अध्ययन एवं अनुसन्धानबाट पुष्टि हुन्छ । दैनिकजसो कारोबार, ओसारपसार लगायतमा संलग्न पक्राउ परिरँदा ब्राउन सुगरको जालो फैलँदै गएको यकिन भएको प्रहरीले जनाएको छ । लकडाउनका समयमा पनि यसको कारोबार र अवैध ओसारपसार नरोकिएका कारण नियन्त्रण निक्कै चुनौतीपूर्ण बनेर गएको विश्लेषण गर्न थालिएको छ ।

ब्राउन सुगर विशेष गरेर भारतीय बजारबाट नेपाल भित्रने गरेको छ । पछिल्लो समय भारतसँग सीमा जोडिएका जिल्लामा अत्याधिक मात्रामा फेला पर्नु र कारोबार एवं अवैध ओसारपसारमा संलग्नहरु पक्राउ पर्नुले यसको पुष्टि गरेको प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले बताए ।

माघ महिनाको तेस्रो सातासम्म मात्रै प्रदेशका विभिन्न जिल्लाबाट २९ जना ब्राउन सुगरसहित पक्राउ परिसकेका छन् । चालु आर्थिक वर्षको हालसम्म विभिन्न स्थानबाट प्रहरीले दुई किलोभन्दा बढी ब्राउन सुगर फेला पारिसकेको छ । ब्राउन सुगर र अन्य प्रकारका लागुऔषधको कारोबार, ओसारपसार लगायतमा संलग्न २५ महिलासहित पाँच सय ९५ जना पक्राउ परिसकेका छन् । चालु आवको हालसम्म विभिन्न जिल्लामा तीन सय ६६ वटा लागुऔषध सम्बन्धी मुद्दा दर्ता भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । जसमा लगभग ६० प्रतिशत ब्राउन सुगरसँग सम्बन्धित छन् । हालसम्म दुई सय २० वटा ब्राउन सुगरसँग सम्बन्धित मुद्दा दर्ता भएका छन् ।

प्रहरीको तथ्यांक अनुसार चालु आवको हालसम्म सबैभन्दा बढी झापामा एक सय ३५ वटा ब्राउन सुगरसँग सम्बन्धित मुद्दा छन् । यसले झापा ब्राउन सुगरको ‘हब’ बन्दै गएको पुष्टि भएको सरोकारवालाहरुले बताए । इलाममा १५, उदयपुरमा १३, ताप्लेजुङ र धनकुटामा दुई÷दुई, पाँचथरमा तीन, मोरङमा ३६ र सुनसरीमा १४ वटा ब्राउन सुगरसँग सम्बन्धित मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

डीआईजी कार्कीका अनुसार यसअघिसम्म कम मूल्य पर्ने नाइट्रोसन, फेनारगन, लुपिजेसिक, स्पास्मोप्रोक्सिभन लगायतका ट्याब्लेट एवं झोलजन्य लागुऔषधको कारोबार धेरै हुने गरेको थियो । तर पछिल्लो समय कडा र महँगो मानिने लागुऔषध ब्राउन सुगरको कारोबार बढी मात्रा हुने गरेको पाइएको उनले बताए । अवैध धन्दासँगै यसले उच्च घरनामासमेत प्रवेश पाएको र ब्राउन सुगरका दुव्र्यसनीसमेत बढेको हुनसक्ने अनुमान प्रहरीको छ ।

‘केही अघिसम्म निम्न आय भएका र दुव्र्यसनमा फसेकाले कम मूल्य पर्ने लागुऔषध प्रयोग गर्थे,’ प्रहरी स्रोतले भन्यो, ‘तर पछिल्लो समय महँगो मानिने ब्राउन सुगरको धन्दा धेरै हुन थालेपछि यसले उच्च घरनामासमेत प्रवेश पाउन थालेको र दुव्र्यसनीसमेत बढाएको आशंका छ ।’ विराटनगरबाट पुस २५ गते ब्राउन सुगरसहित झापाको गौरादहका व्यापारी किसन अग्रवाल पक्राउ परेका थिए ।

कारोबारीले भारतबाट प्रति ग्राम १० हजारभन्दा बढी मूल्य लगाएर भित्राउने ब्राउन सुगर नेपालमा ल्याएर खरिद एवं प्रयोगकर्ता ग्राहाकसम्म पुर्याउँदा प्रतिग्राम २५ हजार रुपैयाँ बढीमा बिक्री गर्ने गरेको प्रहरीको भनाइ छ ।

डीआईजी कार्कीले कारोबारमा संलग्नले प्रहरीले सहजै चाल नपाओस् भनेर नेपालमा सञ्जाल विस्तार गर्न पारिवारिक नाता सम्बन्धका व्यक्तिहरुलाई बढी प्रयोग गर्ने गरेको बताए । ‘आफन्तबाट चाँडै कुरा बाहिर नजाने भएकाले लागुऔषधको अवैध कारोबार गर्ने व्यक्तिले नाता सम्बन्धभित्र बढी जोड दिएको देखिन्छ,’ उनले भने, ‘बाहिरका व्यक्ति प्रयोग गर्दा छिट्टै कुरा चुहिने डर कारोबारीमा हुन्छ ।’ खरिदकर्तासम्म सहज रुपमा पुर्याउन सकिने भएकाले पनि पारिवारिक नाता सम्बन्ध र चिनजानलाई नेपालमा ब्राउन सुगरको अवैध धन्दा सञ्चालन गर्ने ठूलो माध्यम बनाउने गरेको खुलेको हो ।

नेपालमा रहेका आफन्त सम्पर्क व्यक्ति एवं बिक्रेताका रुपमा खडा भइदिँदा नियन्त्रण चुनौतीपूर्ण बनेर गइरहेको प्रहरीको भनाइ छ । नेपालमा ब्राउन सुगरको खरिदकर्ता खोज्ने र उनीहरुसम्म पुर्याएर महँगोमा बेच्ने काम भने सम्पर्कमा रहेकाहरुले गर्ने गरेका छन् । ब्राउन सुगर र अन्य लागुऔषधसहित पक्राउ परेकालाई प्रहरीले लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउने गरेको छ ।

‘विशेष सूचनाका आधारमा नेपालभित्रै ब्राउन सुगरसँग जोडिएका अरु ठूला कारोबारी एवं गिरोह खोज्दै छौं,’ डीआईजी कार्कीले भने, ‘कारबाही तीव्र पारिएपछि ति गिरोहकोनजिक पुग्ने क्रममा प्रहरी छ ।’ उनकाअनुसार यसको कारोबारमा एउटै परिवारका पति–पत्नी, दाजु–भाइ, बुवा–छोरा, सालो–भेना, दिदी–बहिनीसमेतको संलग्नता रहने गरेको पाइएको छ ।

‘पारिवारिक नाताभित्रबाट हुने यस्ता अवैध कारोबार पत्ता लगाउन र यसको अनुसन्धान गर्न निक्कै मुस्किल हुन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यही पनि लागुऔषधको सञ्जाल भत्काउन प्रहरीले विभिन्न ढंगले मिहिनेत गरिरहेको छ ।’ लागुऔषधको कुलत एवं दुव्र्यसनका कारण धनसम्पत्ति, परिवार र समाज नै ध्वस्त हुने अवस्थामा पुगेको तथा सबैलाई नकारात्मक असर पुग्नुका साथै व्यक्तिगत स्वास्थ्य पनि बिग्रने गरेको कार्कीले बताए । उनले भने, ‘लागुऔषधले नातासम्बन्ध, पारिवारिक एवं सामाजिक संरचना र धनसम्पत्ति सबै ध्वस्त बनाइरहेको छ । नियन्त्रणमा केही हदसम्म प्रहरीले सफलता हात पारिरहेको छ ।’

अत्याधिक मात्रामा ब्राउन सुगर बरामद हुनु र कारोबारमा संलग्न पक्राउ पर्नुले प्रहरी सक्रियता बढेको रुपमा लिनुपर्ने उनको भनाइ छ । ‘प्रहरी सक्रियता नबढेको भए सफलता हात पर्ने थिएन,’ उनले भने, ‘लागुऔषध सेवनका कारण अपराधिक घटनामा पनि वृद्धि हुने भएकाले प्रदेशभित्र यसको ‘हब’ भत्काउने अभियान प्रहरीले चलाएको छ ।’

लागुऔषधविरुद्धका अभियानकर्ता एवं विराटनगरस्थित रिचमण्ड फेलोसिपका टिम लिडर सञ्जीव चापागाईंले अन्तर्राष्ट्रिय बजारमासमेत अत्याधिक महँगो मानिने लागुऔषधको कारोबार बढ्नुलाई सामान्य मान्न नसकिने बताए । ‘हिजोका दिनमा स–साना रुपमा थोरै मूल्यका लागुऔषध भेटिन्थे,’ उनले भने, ‘पछिल्लो समय बढी मूल्य पर्ने लागुऔषधमध्येको ब्राउन सुगर भेटिनुलाई असामान्य रुपमा लिएर नियन्त्रणका लागि गम्भीर हुनुपर्छ ।’

पछिल्लो समय समाजले महँगो लागुऔषध स्वीकार गर्न थालेको रुपमा लिनुपर्ने बताउँदै चापागाईंले यो अवस्था निक्कै खतरनाक भएको उल्लेख गरे । विभिन्न घटनाबाट लागुऔषधले उच्च र सम्भ्रान्त परिवारमासमेत प्रवेश पाउन थालेको हो कि भन्ने आशंका जन्माएको उनको भनाइ छ । निद्रा लगाउने, एकोहोरो बनाउने, केही समयका लागि शारीरिक सम्पर्कमा बढी रुची लगाउने लगायत यसको असर भए पनि लागुऔषधले दीर्घकालीन रुपमा कसैलाई फाइदा पुर्याउने चापागाईंको तर्क छ ।

पछिल्ला विभिन्न घटनाक्रमले प्रदेश १ ब्राउन सुगरको ‘ट्रान्जिट पोइन्ट’ बन्दै गएको पुष्टि हुने उनले बताए । उनका अनुसार भारतबाट आउने ब्राउन सुगर विराटनगर, धरान, इटहरी, इनरुवा, बिर्तामोड, काँकडभिट्टा, दमक, धनकुटा, गाईघाट, काठमाडौं, पोखरा लगायतका ठूला शहरसम्म पुग्ने गरेको पाइएको छ ।

jackson ribon