birat ribon

ओली निर्वाचन आयोगमा जाने

Neuro
ओली निर्वाचन आयोगमा जाने

विराटनगर / प्रतिनिधिसभा (संसद) विघटनपछि सबैतिरबाट आलोचनाको पात्र बनेका प्रधानमन्त्री केपी शर्मा ओली आज (मंगलबार) निर्वाचन आयोगमा जाने भएका छन् ।

संसद विघटनपछि उत्पन्न परिस्थितिसँगै सत्तारुढ नेकपामा देखिएको विवाद र वैशाखमा हुने भनेर घोषणा गरिएको निर्वाचनका विषयमा छलफल गर्न ओली आयोग जाने भएका हुन् । आयोगले यही माघ १६ गते नेकपाका दुवै समूहलाई बोलाएको थियो ।

cura insider

नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले यसअघि नै आयोगमा पुगेर आधिकारिक नेकपा आफ्नो समूह भएको दाबी गरेको थियो । तर यसअघि आयोगमा नगएका प्रधानमन्त्री आज जाने भएपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओली बिहान ११ बजे आयोगको कार्यालय जाने उनको सचिवालयले जनाएको छ ।

नेकपाका दुवै खेमाका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएका छन् । तर, आयोगले दुवै पक्षको दाबी नपुगेको जनाउँदै आएको छ । प्रधानमन्त्री ओलीले आयोग कार्यालयमा पुगेर आफूहरु नै आधिकारिक नेकपा भएको दाबी गर्ने स्रोतले बतायो । साथै उनले आयोगसँग आगामी मध्यावधि निर्वाचनको तयारीबारे जानकारीसमेत लिने बताइएको छ ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरेकी थिइन् । प्रधानमन्त्रीले संसद विघटनको आलोच्य कदम चालेसँगै आगामी दिनमा जोडिनै नसक्ने गरी नेकपा विभाजित बन्यो । एउटा खेमाको नेतृत्व ओलीले गरेका छन् भने अर्कोको नेतृत्व दाहाल र नेपालले गरिरहेका छन् ।

दाहाल र नेपाल समूह ओलीको विरोधमा सडकमा छ । विभिन्न ठाउँमा शक्ति प्रदर्शन पनि गरिरहेको छ । दाहाल र नेपाल समूहले आयोजना गरेको शक्ति प्रदर्शनलाई काउन्टर दिने हिसाबमा ओली समूहले पनि आफ्नै हिसाबले ठाउँठाउँमा सभा र प्रदर्शन गरिरहेको छ ।

बहुमत केन्द्रीय सदस्यहरु आफूतिर रहेको दाबी गर्दै आएको दाहाल र नेपाल समूहले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको छ । ओली समूहले पनि अर्को पक्षका नेताहरुलाई हटाउँदै संगठन पुनर्गठन गरिरहेको छ ।

jackson ribon