birat ribon

बिहारमा सामूहिक बलात्कारपछि हत्या गरिएकी नेपाली किशोरीको शव जबर्जस्ती जलाइयो

Neuro
बिहारमा सामूहिक बलात्कारपछि हत्या गरिएकी नेपाली किशोरीको शव जबर्जस्ती जलाइयो

विराटनगर / नेपाल–भारत सीमानजिक भारतको बिहारमा नेपाली किशोरीको समूहिक बलात्कारपछि हत्या गरिएको घटना ढिलो गरेर सार्वजनिक भएको छ ।

Padelux insider
cura insider

घटना लुकाउन र प्रमाण नष्ट गर्ने योजना अनुसार किशोरीको शव जलाइसकेपछि घटना बाहिरिएको हो । भारतका प्रहरी अधिकारी र घटनामा संलग्नबीचको अडियो वार्ता सार्वजनिक भएपछि घटना बाहिर आएको हो । १९ दिनअघि भएको यस घटनामा संलग्न रहेको आशंकामा ११ जनाविरुद्ध गत फ्रेबु्रअरी २ मा उजुरी परेको छ । यो समाचार तयार पर्दासम्म दुई जनालाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको छ । घटना बिहार राज्यस्थित पश्चिम चम्पारण जिल्लामा भएको हो ।

बर्दियाको बारबर्दिया नगरपालिका–३ की १२ वर्षीया सुमित्रा विकको ११ जनाले सामूहिक बलात्कारपछि हत्या गरेर शव जलाएको जानकारी नेपाल प्रहरीले पाएको छ । बर्दियाका डीएसपी हेम शाहीका अनुसार किशोरी चैनपुर बजारमा परिवारसँग बस्दै आएकी थिइन् । त्यहाँ उनका बाबु चौकीदारी गर्दै आएका थिए । किशोरीका भिनाजु नवलसिंह विकका अनुसार उक्त घटना २१ जनवरीमा भएको हो ।

सुमित्राको घाँटीमा रातो डाम देखेपछि बाबुछोराले उपचार गराउन लैजाँदा स्थानीय चिकित्सकले उपचार गर्न नमानेको परिवारजनले बताए । ‘त्यसलगत्तै केही व्यक्ति भेला भएर शव जलाउन दबाब दिए र नजलाए सबैको ज्यान लिने भन्दै धम्क्याए,’ नवलसिंहले भने, ‘सादा कागजमा ससुराको औंठाछाप पनि लिए ।’ त्यसै रात जबर्जस्ती पोखरा रोडको किनारामा नुन र चिनी हालेर स्थानीयले शव जलाएको उनले बताए ।

स्थानीय प्रहरी चौकीका इन्चार्ज (एसएचओ) सञ्जीवकुमार रञ्जन र अभियुक्तबीचको अडियोवार्ता भारतीय सञ्चारमाध्यममार्फत बाहिरिएको थियो । अडियोमा रञ्जनले किशोरीको शवलाई सञ्चारमाध्यमले थाहा पाउनुअघि नै गुपचुप ठेगान लगाउन सल्लाह दिएको सुन्न सकिन्छ । जबकि बालिका बलात्कारको आरोपमा भारतमा पोस्को कानुनअनुसार मुद्दा चलाउनुपर्छ । बालबालिकामाथि हुने यौनजन्य हिंसामा मृत्युदण्डसम्मको सजायको व्यवस्था छ ।

रञ्जनमाथि भारतमा कानुनी कारबाहीको तयारी थालिएको छ । बलात्कार र हत्या जस्तो जघन्य अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने ठाउँमा उल्टै घटना लुकाउन सहयोग गरेको आरोप उनीमाथि लागेको हो । पश्चिम चम्पारणका प्रहरी अधिक्षक (एसपी) नवीनचन्द्र झाका अनुसार प्रारम्भिक अनुसन्धानमा एसएचओ रञ्जनले घटनाका बारेमा माथिल्लो निकायमा पनि जानकारी नगराएको पाइएको छ । अडियो सार्वजनिक भएपछि रञ्जन निलम्बनमा परिसकेका छन् ।

फरेन्सिक जाँचका लागि मुजफ्फरपुरबाट एउटा टोली आइतबार घटनास्थल पुगेको थियो । त्यसको रिपोर्ट आउन केही दिन लाग्ने बताइएको छ । पोस्टमार्टम नगरिएको र शव जलाइएकाले छानबिन गर्न कठिन भएको भारतीय प्रहरीले जनाएको छ । छिमेकी र साक्षीसँग बयान लिएर आवश्यक प्रमाण जुटाउने काम भइरहेको बताउँदै झाले बालिकाको शव जलाउनुअघिका केही तस्बिरसमेत फेला परेका कारण घटनामा संलग्न सबैलाई जतिसक्दो कानुनी कारबाहीको दायरामा ल्याउने तयारी गरिएको जानकारी दिए ।

बालिकाका बाबुले घटनाकै दिन अभियुक्तविरुद्ध उजुरी दिन खोजे पनि एसएचओ रञ्जनले नमानेको पनि पाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अभियुक्तहरूले बालिकाका बाबुलाई बन्धक बनाएर प्रहरीमा रिपोर्ट नगर्न धम्कीसमेत दिएका थिए । त्यहाँबाट जसोतसो फुत्किएर उनी छोरालाई लिएर नेपाल फर्किए । त्यसको दुई दिनपछि अरू आफन्तलाई साथ लाएर उनी फेरि फर्किएर घटनामा संलग्नलाई कारबाहीका लागि प्रक्रिया अघि बढाएका हुन् ।

छोरीको हत्यामा संलग्नविरुद्ध उजुरी दिएर उनी नेपाल फर्किएका छन् । भारतीय नागरिकहरु विनय साह, दीपककुमार साह, रमेश साह र देवेन्द्रकुमार साह लगायतविरुद्ध सामूहिक बलात्कार र हत्याको उजुरी परेको छ । अन्य सात जनाविरुद्ध जबर्जस्ती शव जलाएर प्रमाण नष्ट गरेकामा मुद्दा दर्ता भएको छ । घटनामा संलग्न सीताराम साह र उनका छोरा दीपकलाई प्रहरीले पक्राउ गरे पनि अरु फरार रहेको जनाइएको छ ।

बलात्कार र हत्यामा संलग्नलाई भारतीय कानुनअनुसार फाँसीको सजाय दिन माग गरिएको छ । पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन परराष्ट्र मन्त्रालयबाट पहल गरिनुपर्ने माग पनि उठ्न थालेको छ ।

jackson ribon